जनप्रतिनिधिले पहिले आफूलाई चिन्नुपर्छ ः मन्त्री थापा

 राजेन्द्र न्यौपाने
गोरखा, ९ असोज ।
गोरखा जिल्लाका विभिन्न स्थानीय जनप्रतिनिधिहरुले सरकारको तिव्र विरोध गरी सरकार कहाँ छ भन्ने थालेपनि गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले सरकार के हो आफैलाई फर्केर हेर्न आग्रह गरेका छन् । निर्वाचन जितेर जनताको काम गर्न खटिएको जनप्रतिनिधि नै सरकार हो भन्दै आफूले राम्रो काम गर्न नसकेपछि अरुलाई दोष दिने प्रवृति बढेको उनले बताए । सरकारमा रहेर सरकारको बिरोध गर्ने संस्कार गलत रहेको उनको भनाई छ । गोरखा सदरमुकाममा बुधबार आयोजित दोस्रो दशै सस्तो बजार मेला २०७६ को उदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापा मगरले यो कुरा भनेका हुन । ‘अहिले सरकारमा बसेर सरकारको सकेसम्म विरोध गर्नेहरुले पहिले आफुलाई चिन्न सक्नुपर्छ, मन्त्री थापाले भने, आफुले आफैलाई चिन्न नसक्नेहरुले सरकारको विरोध गर्दै हिड्नुको तुक रहँदैन ।’ संविधान सहमतीको दस्तावेज भएकाले नयाँ सविधान नचाहानेहरु पनि संविधान निर्माणका दायरामा आएकाले उनीहरु अहिले नयाँँ सविधान कार्यान्वयन नहोस् भन्ने पक्षमा लागेको उनको भनाई छ । ‘जबरजस्ती नयाँ सविाधान निर्माणमा सहमतीमा आउनेहरु पनि छन, उनीहरु सविधान कार्यान्वयन नभईदिए हुन्थ्यो भन्नेमा बढि केन्द्रित छन, मन्त्री थापाले भने, त्यस प्रतिगामी शक्तिहरुलाई अब जनताले चिन्नुपर्छ ।’ गण्डकी प्रदेश सरकारले एक गाउँपालिका एक कृषि पकेट क्षेत्रको विकासलाई अगाडी बढाएको दावी गर्दै सबै गाउँपालिकाहरुमा आवश्यकताका आधारमा कृषि कार्यक्रमहरुको योजना बनाई रहेको बताए । जमिन बाझोँ नराख्न विभिन्न नमुना कार्यक्रमहरु ल्याइएको उनको भनाइ छ । मन्त्री थापाले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बुढिगण्डकी जलबिद्युत आयोजना निर्माणको काम तत्काल अघि बढ्ने र केही दिन भित्रै यसले नयाँ रुप लिने बताए । ‘बुढिगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट र खहरे क्षेत्रका जनता समयमा मुअब्जा निर्धारण छिट्टै समाधान गरी जनतालाई धेरै लामो समयसम्म अन्यौलमा नराख्ने बताए । उनले देशमा कृषि पर्यटनको विकासमा जोड दिदै नेपाल भ्रमण बर्षलाई सफल बनाउन गोरखा जिल्लामा२ लाख भन्दा धेरै पर्यटक ल्याउनुपर्नेमा जोड दिए । उपभोक्ताको सन्तुष्टी र उपभोग्य वस्तुको बजार, गोरखा चेम्बरको दशैँ सस्तो बजार मेलाको अधार भन्ने मुल नारा सहित सुरु भएको मेला असोज १७ गते सम्म चल्नेछ । मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । चेम्बर अफ कमर्शृ गोरखाको आयोजनामा खेलकुद मैदान हरमटारीमा मेला आयोजना गरिएको हो । मेलामा गण्डकी प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री रामशरण बस्नेत,सभासद हरीशरण आचार्य, चेम्बरका उपाध्यक्ष दिपक मलहोत्रा, चेम्बर अफ कमर्श पोखराका अध्यक्ष गीता तिवारी, जिल्ला समन्वय उपप्रमुख जानुका अधिकारी,नेकपा गोरखाका सचिव प्रेम गुरुङ गोरखा, संघीय समाजवादी फोरमका गोरखा अध्यक्ष नारायण खत्री, नगरपालिका उपप्रमुख विना श्रेष्ठ, आदिवासी जनजाति महासँघ गोरखाका अध्यक्ष विष्णु रानामगर, अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङ, गोरखा नगरपालिका वडा नं. २ का अध्यक्ष रहमतुल्ला मिया लगायतले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए । चेम्बरका अध्यक्ष भाईकाजी श्रेष्ठको अध्यक्षता र कार्यक्रमको सञ्चालन सचिव रामश्वरुप श्रेष्ठले गरेका थिए । मेला सुरु हुनु अघि बाजा सहित विभिन्न समुदायबाट आएका फरक फरक कला संस्कृति सहित झाँकीहरुको र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रममा चेम्बरद्धारा प्रकाशित स्मारिका समेत विमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker