तपाइलाइ पनि राजा बन्ने रहर छ? यही  असोज १६ गते नयाँ राजा चयन हुँदैछ, आउनु होस

गोरखा –

दौड जितेर प्रथम हुनेलाई राजा छान्ने पुरानो परम्पराको स्मरणमा गोरखाको ऐतिहासिक स्थल लिगलिगकोटमा यसपटक पनि “लिगलिगे दौड  प्रतियोगिता” २०७६  हुने भएको छ ।

पालुङटार नगरपालिका, नेपाली सेना ( रणसिंह दल गण) र लिग लिग कोट बिकाश अभियानको संयुक्त आयोजनामा १० औ “लिगलिगे दौड  प्रतियोगिता” २०७६ को आयोजना गरिएको हो ।

समुद्री सतहदेखि १४३७ मिटर (४,७९० फिट) उचाईमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पूरातात्विक, राजनीतिक तथा पर्यटकिय स्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुड्टार नगरपालिका वडा नं २ साविकको आँपपिपल गा.वि.स वडा नं. ४ लिगलिग खोल्सीमा पर्दछ ।

लिगलिगको नामकरण कसरी भयोे भनेर खोजी गर्दा स्थानीय भाषाबाट नै आएको भेटिन्छ । यस दौडलाई तत्कालीन समयका मगरहरूले ‘लिङलिङ्ग्या’ भन्ने गर्दथे । यो शब्द मगर भाषाबाट आएको शब्द हो भनेर धेरै मगरभाषीहरूले दाबी गरेका छन् । मगर भाषामा यसको अर्थ सफा, प्रष्ट, छर्लङ्ग देखिनु भन्ने हुन्छ । पछि गएर खसभाषीहरूको प्रभाव बढ्दै जाँदा यो शब्दमा अपभ्रंश भई लिगलिग भएको भन्ने भनाइ प्रसस्त छन् । अनि लिगलिग शब्दले अर्को अर्थ कछार भन्ने पनि जनाउँछ । कछार भनेको चुरेभन्दा माथि र काँठभन्दा तलको घमाइलो र रमाइलो बस्तीलाई हो । यस्तो स्थानमा बसोबास गर्ने समुदाय घले हो र अहिलेसम्म पनि लिगलिगको वरिपरि घलेहरूको घना बस्तीले पनि त्यसलाई चित्रण गर्दछ । लिगलिग दौड लिगलिग दरबारबाट छर्लङ्ग देखिने ठाउँबाट गरिन्थ्यो भन्ने स्थानीयको भनाइ छ ।

आधुनिक नेपालको इतिहासका महत्वपूर्ण कार्यक्रमहरू लिगलिगकोटबाट सुरु भएको भन्ने कुरामा लिगलिगबासी गर्व गर्छन् । उनीहरूका अनुसार नेपालमा व्यवस्थित रूपमा सैनिक स्थापना, हिन्दुराज्यको स्थापना, एकीकरणको सुरुवात लिगलिगबाटै भएको दाबी गर्छन् । हालको नेपाली सेनाको सुरुवात द्रव्य शाहले लिगलिग कोटबाट गरेका हुन् । उनले छ घर छ थरबाट राज्य व्यवस्था सञ्चालनको थालनी गरेका थिए । द्रव्य शाहले लिगलिगको विजयपछि अहिलेका सन्दर्भमा भन्दा न्याय मन्त्री (प्रधान न्यायधीश) गङ्गाराम राना मगर, मूल काजी (प्रधान मन्त्री) गणेश पाण्डे, राजगुरु नारायणदाश अर्याल, रक्ष मन्त्री (प्रधान सेनापति) भागीरथ पन्त, राज पुरोहित सर्वेस्वर खनाल, भूमिसुधार मन्त्री केशव बोहोराले राज्य सञ्चालनका प्रमुख अङ्ग जिम्मा दिएका थिए । यिनै थरका पुस्ताले पछिसम्म शासन सञ्चालनमा अवसर पाएकाले ‘छ घर छ थर’ भन्ने प्रचलन थियो । यी थरका रानामगर, पाण्डे, अर्याल, पन्त, खनाल, बोहोरालाई द्रव्य शाहाले लिगलिगको राज्य सञ्चालनका लागि उपल्लो तहमा सोझै नियुक्त गर्ने प्रचलन बढ्यो । अरू थर भएका व्यक्तिले पनि राज्यलाई सहयोग गर्छु भनी राजासमक्ष निवेदन दिने प्रचलन बढ्दै गयोे । यस्ता निवेदनको सङ्ख्या छ पुगेपछि छ घर १२ थर हुँदै थर थपिँदै जाने गर्दथ्यो । यो प्रक्रिया पछि पृथ्वीनारायण शाहको पालासम्म आइपुग्दा छ घर ३६ थर भएको थियो । पृथ्वीनारायणले नेपाल एकीकरण अभियानमा सहयोग गर्ने सबैलाई राज्य सञ्चालनमा सहभागी गराउने उद्देश्यले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भनी घोषणा गरे । चार जात भन्नले ब्राह्मण, क्षत्री, वैश्य, शूद्र हुन् र ३६ वर्ण भन्नाले नेपाली वर्णमालामा रहेका ३६ वटा वर्णबाट उच्चारण हुने सबै थरहरूले नेपालको राज्य सञ्चालनमा सहभागी हुन पाऊन् भन्ने हो ।

लिगलिग दौडको सुरुवात कसरी भयो भनी खोजी गर्दा पाल्पाका राजा मुकुन्द सेनसम्म पुग्नु पर्ने हुन्छ । उनले तत्कालीन गोरखा राज्य पनि विजय गरी शासन सञ्चालन गरेका थिए । तर, उनले विं.सं. १६०३ को अन्त्यतिर राजगद्दी त्यागगरी आफूले आर्जेको विशाल राज्य आफ्ना छोरा, नाति, भतिजाहरूलाई विभाजन गरी शासन अधिकार सुम्पिए र आफू धर्मकर्मतिर लागे । छेरा नातिहरूले आफूले पाएको राज्यलाई कुसलतापूर्वक शासन सञ्चालन गर्न नसकेपछि प्रत्येक किल्लाका प्रशासकहरू नै राजा हुन थालेका थिए । गोरखामा त्यतिबेला ३९ कोटहरू थिए र तीमध्येको एउटा हो लिगलिगकोट ।

अन्य कोटहरूमा माझकोट, अजिरकोट, बारपाक, सिरानचोक आदि पनि यस्तै राज्यहरू हुन् । यस लिगलिगकोटमा राजा छान्नका लागि घलेहरूले एउटा नियम बनाए । त्यसमा दौड प्रतियोगिता गराउने र त्यसमा पहिलो हुने व्यक्तिलाई राजा बनाउने नियम नै सबैले स्वीकार गरे । यसमा इच्छुक सबै व्यक्ति दौड प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरे । यसमा जुनसुकै जातजाति, भाषाभाषी, धर्म, वर्ग, लिङ्ग, क्षेत्र भए पनि राज्य सञ्चालन प्रक्रियामा सहभागी हुन पाउने हक अधिकार उनीहरूले स्थापना गरे । अनि करिब दुई कोसजतिको उक्त दौडमा सात सय लिगलिग राज्यअन्तर्गतको पहाडको फेदीदेखि लिगलिगकोटको माथिल्लो दरबारसम्म दौडने दुरी निर्धारण गरेका थिए । यो प्रतियोगिता प्रत्येक वर्ष विजयादशमीका दिन गर्ने निर्णय पनि सबै घलेहरूले गरे । यो प्रतियोगिता वि.सं १६०४ मा प्रथम पटक भएको थियो । त्यस प्रतियोगितामा दलसुर घलेले जितेका थिए । उनले पछिसम्मका लगातार जितेर १६१५ सम्म लिगलिगका राजा भई शासन गरेका थिए भन्ने प्रमाण पाइन्छ ।

यहाँ आजभन्दा ४६१ वर्ष (वि.सं. १६१५, सन् १५५८) अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा हुने परम्परा थियो । यहाँ राजा हुने प्रक्रिया विश्वकै नौलो र ऐतिहासिक थियो । यसलाई विश्वको पहिलो नमुना लोकतान्त्रिक (First Model Democracy)  शासन व्यवस्थाका रुपमा लिन सकिन्छ । यस्तो ऐतिहासिक शासन व्यवस्था द्रव्य शाहको उदयसँगै बन्द भयो र शाहवंशको बिदाई पश्चात् ४५२ वर्ष पछि वि.सं. २०६७ साल देखि पुन शुरु भएको छ । वि.सं. २०७६ सालमा गरिने लिगलिगे दौड प्रतियोगिता दशौं संस्करण हो ।

उक्त प्रतियोगिता चेपे र मस्र्याङ्दी नदीको दोभान चेपेघाटबाट सुरु भई लिगलिगकोट दरबारसम्म (१३.८ कि.मि) दौडने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता असोज १६ गते बिहान ७ बजे लिगलिगे दौडको उद्घाटन हुनेछ ।  दौड सुरु बिहान ७ बजेर ३० मिनेटमा चेपेघाटबाट सुरु हुने कार्यक्रम रहेको  छ ।

उक्त प्रतियोगितामा भाग लिन चाहने महानुभावले यहि असोज ५ गतेदेखि यहि असोज १३ गते भित्रमा आयोजकले उपलब्ध गराएको फाराम भर्नुपर्ने छ । फाराम दस्तुर लिगलिगबासी,महिला र नेपाली सेनाका लागि रु. ५०० र नेपालीका लागि रु. १००० तथा विदेशी नागरिकका लागि रु.५००० लाग्ने आयोजकको जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई ६०  हजार १ सय रुपियाँ, पगरी, श्रीपेंच, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ । त्यसैगरी, दोस्रो हुनेलाई ३५ हजार १  सय रुपियाँ र मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, तृतीय हुनेलाई २५ हजार १ सय रुपियाँ र मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, चौथो  हुनेलाई  रु १५ हजार रुपियाँ र मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, पाँचौ  हुनेलाई  नगद  रु १०  हजार रुपियाँ र मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, छैटौं  हुनेलाई  नगद   रु ७   हजार रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, सातौं  हुनेलाई  नगद  रु ५  हजार रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।  त्यसैगरी,  आठौं  हुनेलाई  नगद   रु ४   हजार रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी  नवौं  हुनेलाई  नगद   रु ३   हजार रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।  त्यसैगरी दशौं   हुनेलाई  नगद   रु २  हजार रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी, महिला खुल्ला (बड्डाडाबाट ५ कि.मि.) दौड तर्फ प्रथम हुनेलाई नगद २०   हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी दोस्रो हुनेलाई  नगद   रु १२  हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी तेस्रो  हुनेलाई  नगद  रु ७  हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी, लिगलिगवासी (चेपेघाटबाट १३.८ कि।मि।)  दौड तर्फ प्रथम हुनेलाई नगद २०  हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।  त्यसैगरी, दोस्रो   हुनेलाई  नगद   रु १२  हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी,तेस्रो  हुनेलाई  नगद   रु ७   हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।   त्यसैगरी, चौथो हुनेलाई  नगद  रु ३  हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी, छात्र÷छात्रा (बोहरा गाउ“) (१५–१८ वर्षसम्मका) दौड तर्फ प्रथम हुनेलाई नगद ५  हजार १ सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, दोस्रो   हुनेलाई  नगद   रु ३   हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, तृतीय हुनेलाई  नगद   रु २ हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी, भेट्रान  (बड्डा“डाबाट ५ कि.मि.)(४० वर्षमाथि) दौड तर्फ प्रथम हुनेलाई नगद ५    हजार १ सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, दोस्रो   हुनेलाई  नगद   रु ३   हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, तृतीय हुनेलाई  नगद   रु २  हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

लिगलिग दौडमा सहभागी हुने प्रतियोगीमा कुनै बन्देज थिएन । सोही कमजोरीका कारण वि।सं। १६१५ मा लमजुङका युवराज द्रव्य शाहले दलसुर घलेलाई दौडमा हराए । यही समयबाट उनले राजा छान्ने प्रक्रियालाई सदाका निम्ति बन्द गरे र एकीकरण अभियानमा लागे ।

४६७ वर्षपछि लिगलिगबासीहरूले ‘लिगलिग विकास अभियान’ नामक संस्था स्थापना गरी पुर्खाले छोडेको चिनोको सम्झेर २०६७ बाट यो दौडलाई पुनः सुरु गरेका छन् । अहिले उनीहरूले राज्य सुम्पन सक्ने अवस्था त छैन तर राजकीय सम्मान गर्ने परम्परा भने सुरु गरेका छन् । विजय हुनेलाई लागि विभिन्न पुरस्कारहरू नगद, पगरी, प्रमाणपत्र तथा मेडलको व्यवस्था उनीहरूले गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न, आन्तरिक पर्यटनमा वृद्धि गर्न, स्थानीय जनताको आर्थिक स्तर मजुबुत बनाउन र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सुरु गरिएको यो प्रतियोगिता प्रत्येक दशैंको घटस्थापनाको अघिल्लो दिन हुँदै आएको छ ।

२०६७ देखि २०७५ सम्म बनेका लिगलिगकोटका राजाहरू

२०६७ भूमिराज राई  (नेपाल प्रहरी) (इलाम)

२०६८ हरिप्रसाद रिमाल  (नेपाली सेना) (धादिङ)

२०६९ समीर तामाङ  (नेपाली सेना) (रामेछाप)

२०७० कृष्णबहादुर बस्नेत   (नेपाली सेना) (रामेछाप)

२०७१ अनिष थापा मगर (भारतीय सेना) (पर्वत)

२०७२ हरिप्रसाद रिमाल  (नेपाली सेना)  (धादिङ)

२०७३ अनिष थापा मगर  (भारतीय सेना) (पर्वत)

२०७४ खगेन्द्र बहादुर भाट  (नेपाली सेना)

२०७५ अनिष थापा मगर  (भारतीय सेना) (पर्वत)

२०७६ सालमा लिगलिग जाने होइन राजा बन्न ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker