
गाेरखा, भाद्र २७
निजी आवाास पुनर्निर्माणलाई गति दिने एवम् वैकल्पिक प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले गोरखाका गाँउपालिका तथा नगरपालिकास्तरम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरसंग विभिन्न चरणमा अन्तरक्रिया सम्पन्न भएको छ । गोरखा तथा पालुंगटार नगरपालिका र गण्डकी, सिरानचोक गाउँपालिकाको समन्वय तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहजिकरणमा निजी आवास पुनर्निर्माणलाई चुस्त दुरुस्त बनाउन प्राधिकरणका इन्जिनियरसंग एक दिवसीय अन्तरक्रिया आयोजना भएको हो । गोरखा नगरपालिकामा आयोजित कार्यक्रममा डीएलपीआइयुका सिनियर डिभिजनल इन्जिनियर सुनिता श्रेष्ठले निर्माण सम्पन्न भएका घरको अन्तिम निरिक्षण गरेर अभिलेखिकरण गर्नमा जोड दिनपर्ने बताउनुभ यो । निजी आवास पुनर्निर्माणमा प्रगति भएपनि प्रवलीकरण अगाडी नबढेकोले विशेष कार्ययोजना बनाएर अगाडी बढ्न आवश्यक रहेको इन्जिनियर सुनिता श्रेष्ठले बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार का प्रमुख रामशरण आचार्यले समयसीमा अनुसार पुनर्निर्माणको कार्यमा जोड दिन आग्रह गर्नुभयो । यस्तै, पालुङटार नगरपालिकामा आयोजित अन्तरक्रियामा नगर प्रमुख इन्जिनियर दिपक बाबू कँडेलले निजी आवास पुनर्निर्माणले गति लिएकाले प्रवलीकरण गर्ने घरधुरिलाइ अघि बढाउन प्राबिधिकहरुलाइ निर्देशन दिनुभयो । पालुङटार नगरपालिकाले पहिलो किस्ता लिएर घर निर्माण सुरुवात नगर्ने लाभग्राहीलाई पत्राचार गरि कारण सोध्ने तयारी गरेको समेत नगर प्रमुख कंडेलले बताउनुभयो । यस्तै, सिरानचोक गाँउपालिकामा आयोजित अन्तरक्रियामा गाँउपालिकाका अध्यक्ष राजु गुरुङले सम्पन्न भइसकेका भूकम्प प्रभावित घरधनीलाई सम्पन्ताको प्रमाणपत्र आगामी कात्तिक ३ गते देखि वितरण गर्ने बताउनुभयो । उहाँले गाँउपालिकाको योजना अभिलेखिकरण गर्ने रहेकाले भूकम्प प्रभावित घरधनीलाई अभिलेखिकरण गर्न आवहन समेत गर्नुभयो । उहाँले निजी आवास पुनर्निर्माणलाई सम्पन्न गराउन प्राविधिकले हरेक दिनको कार्ययोजना र मासिक समिक्षा पेश गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै, निजी आवास पुनर्निर्माणमा कार्यरत संघसंस्था जाइका र नेपाल आवास पुनर्निर्माण परियोजनाला र्ई समेत प्राधिकरणका इन्जिनियर सहित मासिक बैठक बस्न आवहन गर्नुभयो । उहाँले भन्नुभयो, वडास्तरीय समस्या वडामा नभएर गाँउपालिकाका श्रोत इन्जिनियरसंगको सहकार्यमा समाधान हुनुपर्ने बताउनुभयो । अध्यक्ष गुरुङले प्रवलीकरणलाई प्रोत्साहन गर्न प्राधिकरणका इन्जिनियरलाई घरदैलो कार्यक्रम गर्न आग्रह गर्नुभयो । यस्तै, गण्डकी गाँउपालिकाका अध्यक्ष होम बहादुर गुरुङले प्राधिकरणका इन्जिनियरलाई निजी आवास पुनर्निर्माणलाई यथाशीघ्र सक्न कार्यक्षेत्रमा खटिएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले ३ वटा वडामा मात्र काम गरिरहेकाले अन्य वडामा समेत पुनर्निर्माणको काम विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले प्रवलीकरणका बारेमा समेत भूकम्प प्रभावित घरधनीलाई प्रोत्साहन गर्न प्राविधिकलाई आग्रह गर्नुभयो । नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले पुर्निर्माणमा आएका समस्यालाई सबै सरोकारवाला निकायसंग छलफल गरेर समाधान गर्ने तर्फ अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रवलीकरणको सुचीमा परेका घरधनीले आफ्ना मौलिक घरलाई जोगाउन समेत प्रवलीकरण गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै नगर तथा गाँउपालिकास्तरमा भएका अन्तरक्रियामा डीएलपीआइयूका इन्जिनियर युवक श्रेष्ठ र विकेन्द्र खाइटुले वैकल्पिक प्रविधि र प्रवलीकरण तथा सुधार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै, इन्जिनियर श्रेष्ठ र खाइटुले निजी आवास पुनर्निर्माणका बारेमा प्राधिकरणका इन्जिनियरका नीतिगत विषयमा े चर्चा गर्नुभएको थियो । कार्यक्रममा इन्जिनियरहरुलाई प्रवलीकरण तथा वैकल्पिक प्रविधिका घर जस्ता तारजाली प्रविधि, होलो कंक्रिट बल्कको प्रविधिको घर निर्माण सम्बन्धि तालिम दिइएको थियो । नगरपालिका र गाँउपालिकामा भएका अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख, गाँउपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्राधिकरणका इन्जिनियर सहित परियोजनाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।