५३ वर्षीय शाही काे सोमबार घाँटी रेटेर हत्या

गत आइतबार साँझ ८ बजेपश्चात हराएका तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाही सोमबार घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएका छन् ।

शाहीको शव बन्दीपुर गाउँपालिका-४ स्थित ठुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । शाहीले डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए ।

आइतबार रातिदेखि बेपत्ता भएका शाहीको खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेका थिए । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

‘घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौँ’, प्रहरी उपरीक्षक सिलवालले भने, ‘शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छाँै ।’ हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । ‘चार/पाँच तोला सुन र ४०/५० हजार रुपैयाँ उहाँसँग सधैँ हुन्थ्यो’, एक स्थानीयवासीले भने, ‘त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker