नगरप्रमुखको भत्ताबाट वडा नं. ७ का ३३ जनालाई स्वास्थ्य विमा

रविन्द्र कंडेल
श्रावण —११, गोरखा ।
पालुङ्टार नगरपालिकाका नगरप्रमुख इ. दिपक बाबु कंडेलको भत्ताबाट नगरपालिकाभित्रका करीब ३० परिवारकाे स्वास्थ्य विमा गरिएको छ । आ.व. २०७५÷७६ मा आफूले प्राप्त गरेको भ्रमण भत्ताबापतको रकमबाट उक्त स्वास्थ्य विमा गरिएको उहाँले बताउनुभयो ।
आफूले भ्रमण भत्ता बापत पाएको रकम बाट नगरपालिकाभित्रका विपन्न व्यक्तिहरुको स्वास्थ्य विमामा खर्च गर्ने घोषणासंगै सम्पूर्ण रकम सोही प्रयोजनमा खर्च गरेको उहाँले बताउनुभयो ।
यसैबीच श्रावण ११ गते का दिन वडा नं. ७ का ६ परिवारका ३३ जनाको स्वास्थ्य विमा कार्ड च्याङ्ली स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको छ । च्याङ्ली स्वास्थ्य चौकीको आयोजनामा गरिएको विमा कार्ड वितरण कार्यक्रम गरिएको हो । कार्ड वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले नगरपालिकाभित्रका गरीब विपन्न परिवारका व्यक्तिहरुले रकम अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यका साथ आफूले अभियान शुरु गरेको बताउनुभयो । सोही क्रममा उहाँले अहिले स्वास्थ्य विमा बापतको रकम आफूले उपलब्ध गराएपनि आगामी वर्षहरुमा नवीकरणको लागी रकम जम्मा गर्न ध्यान दिनुपर्ने बताउनुभयो । नविकरणको लागी आवश्यक पर्ने रकम जुटाउनको लागी आजैदेखि थोरै रकम जम्मा गरेमा पनि सहज हुने बताउनुभयो । नगरपालिकाका १० वटै वडाका करीव ५० जनाको लागी आफूले स्वास्थ्य विमाबापतको रकम आफ्नो भत्ताबाट उपलब्ध गराउने बताउनुभयो । वडाभित्रका विपन्न मध्येबाट छानिएका हरु फुलमती सुनार, भरत वि.क., सुवानी तामाङ, दिप बहादुर थापा, डुंगे कुमाल र ढाँटी कुमालको परिवार ले उक्त स्वास्थ्य विमा कार्ड पाएका हुन । यसअघि नगरपालिकाका अन्य विभिन्न वडाहरुमा समेत यसरी नै स्वास्थ्य बिमाको लागी रकम वितरण गरिसक्नुभएको छ ।
च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले स्वास्थ्य विमाको बारेमा जानकारी गराउँदै योगदान रकमबापत यस वडाका ६ परिवारका लागी २३ हजार ८ सय रुपैयाँ रकम उपलब्ध गराउनुभएकोमा नगरप्रमुख कंडेलप्रति आभार व्यक्त गर्नुभएको थियो । हालसम्म यस वडाभित्र २०० परिवारको स्वास्थ्य विमा गराइसकिएको महिला स्वास्थ्य स्वयंसेविका सरस्वती ढकालले बताउनुभयो ।
स्वास्थ्य विमा गर्नको लागी ४ जनाको एक परिवारले रु.३५०० तिर्नुपर्नेछ, जसबापत रु. १ लाखसम्मको उपचार निशुल्क पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker