सञ्चार अभावमा छटपटाएको पर्यटकीय क्षेत्र छिम्केश्वरी

रविन्द्र कंडेल
तनहुँकै सवैभन्दा अग्लो पहाड एवं गण्डकी प्रदेशको उत्कृष्ट गन्तव्य मध्येको एक स्थान छिम्केश्वरी सञ्चार अभावमा छटपटाएको छ । गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका पर्यटकीय गन्तव्य मध्येको एक स्थानको रुपमा यसलाई पनि छुट्याएको छ ।
२१३४ मिटर उचाइमा रहेको छिम्केश्वरीको डाँडामा छिम्केश्वरी माइको मन्दिर रहेको छ । सो स्थानमा पुग्नको लागी विभिन्न बाटोहरु रहेका छन् । ट्रेकिङ रुटको रुपमा समेत विकास गर्न सकिने सो स्थानमा पुग्नको लागी बन्दिपुर — हिलेखर्क हुँदै जाने र आँबुखैरेनी — लाब्दी हुँदै जाने बाटो प्रमुख रुपमा रहेका छन् ।
बन्दीपुर हुँदै जाँदाको विश्रामस्थल हिलेखर्क छ भने आँबुखैरेनीबाट जाँदाको विश्रामस्थल लाब्दी हो । यी दुवै स्थानदेखि पैदल यात्रा गर्नुपर्दछ छिम्केश्वरीमाइको मन्दिर पुग्नको लागी । यी दुवै स्थानहरुमा सञ्चार सुविधा नहुँदा निकै कठिनाई भएको बताउनुहुन्छ हिलेखर्क सामुदायिक होमस्टे सञ्चालक मध्येका एक चन्द्र गुरुङ । उहाँका अनुसार सिडिएमए फोन मात्र टिप्ने त्यसमा पनि समस्या आइरहने हुँदा समस्या भएको छ । समस्या समाधानका लागी सम्बन्धित निकायमा बारम्बार कुरा गरिरहेको तर सार्थक बन्न नसकेकोमा उहाँले दुखेसो व्यक्त गर्नुभयो । हिलेखर्क र लाब्दीमा होमस्टे सञ्चालन भएतापनि सञ्चार सुविधा नहुँदा त्यस स्थानमा जाने पर्यटक तथा स्थानीयहरु लाई निकै सास्ती भइरहेको छ । सञ्चार तथा अन्य सुविधाहरु समेत नहुँदा युवा पुस्ताले समेत गाउँ छाडदै शहर लाग्न थालेका छन् । अधिकाँशले छोराछोरी आँबुखैरेनी लैजान्छन, जसका कारण गाउँमा युवापुस्ता देख्न सकिँदैन । छोराछोरीहरु गाउँमा टिकाउनका लागी पनि सञ्चार सुविधा आवश्यक भएको स्थानीय हरुको गुनासो छ ।
धार्मिक तथा साँस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पूज्य र आराध्यस्थलको रुपमा रही आएको छ । बिभिन्न साँस्कृतिक ग्रामहरुको अनुभव, धवलागिरी — लाङटाङसम्मको हिमाली श्रृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय र सूर्यास्त, महाभारत पहाडहरुमध्येको एक उच्च पहाड र तनहुँको सवैभन्दा अग्लो चुुचुरा छिम्केश्वरी (२१३४ मि.) लेकमा अवस्थित छिम्केश्वरीमाई, बुढीदेवीमाई को दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरी लेक वास्तवमै उच्चकोटीको पर्यटकीय स्थल हो । सात देवीहरु मध्ये जेठी बुढीदेवीमाइ र माहिली छिम्केश्वरी माई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साहिली गोरखकाली माई, काहिँली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्ण माइ र कान्छी अकला माई सोही स्थानबाट दृश्यावलोकन सहित दर्शन गर्न सकिन्छ । भनिन्छ, सात मध्ये ६ वटै देवीहरुको दर्शन गरेतापनि छिम्केश्वरीमाइको दर्शन नगरेसम्म मनोकाँक्षा पूरा हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker