छिम्केश्वरीको यात्रा सम्झँदा । फाेटाेसहित

रविन्द्र कंडेल
असार २३, गोरखा ।
पत्रकारिताको रहरसँगै करीब डेढ दशक अगाडी देखि कलम चलाउन शुरु गरेको मलाई पत्रकारिता मुख्य पेशा नहुँदा धेरै अवसरहरु गुमेका पनि छन् भने कैयन अवसरहरु जसमा मैले सन्तुष्टि पनि पाएको छु । तिनैमध्येको एक सन्तुष्टिमूलक अवसर हो छिम्केश्वरी यात्रा ।
म तनहुुँको छिमेकी रहेर पनि छिम्केश्वरीका बारेमा धेरै किँबदन्ती तथा भनाइहरु सुन्दै रहँदा त्यस स्थानमा पुग्ने चाहना पनि म भित्रै रहिरहेको थियो । परिवेश नमिल्दा जाने अवसर मिलिराखेको थिएन । भित्र मनमा जाउँ जाउँ भन्ने चाहिँ लागि नै रहेको थियो । केही हप्ता अघि आफ्नै गाउँबाट केही साथीहरु गएछन खबर गरेनन, अलि अलि ती साथीहरुसंग रिस पनि थियो ।
असार को १९ गते अमर सरको फोन आयो अनि उहाँले भन्नुभयो सर छिम्केश्वरी जाने प्लान छ भोली तपाई पनि जाने हो ? अलि सञ्चो लागिरहेको थिएन तर पनि मैले केहि नसोचिकन हो सर भनिहालें । रुघाले च्यापिरहेको थियो जान गाह्रो हुन्छ कि भन्ने लागिरहेको थियो । बिहान सायद छिम्केश्वरी माइको कृपाले नै होला अलि ठिक भए जस्तो लाग्यो । अरु सवै काम छोडेर बिहानै डुम्रे हिँडे अनि साथीहरुसंग भेट भएर बन्दिपुर हुँदै हिलेखर्कतर्फ लागियो । बल्ल मलाई कार्यक्रमको बारेमा थाहा भयो कि सञ्चारिका समूह तनहुँले आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको रहेछ । सञ्चारिकाकी अध्यक्ष सन्तोषी श्रेष्ठ लगायत टीमलाई धन्यबाद दिँदै अघि बढियो । सिमसिम पानीसँगै गाडीको यात्रा निकै रमाइलो भइरहेको थियो । अन्त्यमा हामी ११ बजेतिर हिलेखर्क पुग्यौं । सिमसिम पानीसंगै त्यहाँको होमस्टेका बा, आमा, दाजुभाई, दिदिबहिनीहरुको न्यानो स्वागत पछि केही समय आराम गरेपछि खाना खाएर आराम गर्यौं । हेर्दा चारैतिर डाँडाले घेरेको बीचमा उपत्यका जस्तो ठाउँमा रहेका १०, १५ घरमध्ये ५ घरमा मात्र होमस्टेको व्यवस्था गरिएको रहेछ । स्थानीय चन्द्र गुरुङले सवै कुराको जानकारी दिनुभयो ।
केही समयपछि गाउँँपालिका अध्यक्ष गिरबहादुर थापा सहित उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका व्यक्तित्वहरुको आगमन पछि औपचारिक कार्यक्रमको शुरुवात गरियो । सञ्चारिकाले आयोजना गरेको कार्यक्रमको डिटेल बल्ल थाहा भयो । धेरैलाई थाहा रहेनछ कार्यक्रमको बारेमा मलाई जस्तै । सञ्चारिकाकी अध्यक्ष सन्तोषी श्रेष्ठको अध्यक्षतामा औपचारिक कार्यक्रम गरियो जसमा तनहुँमा कार्यरत २० भन्दा बढी सञ्चारमाध्यमका सिनियर देखि जुनियरसम्मका पत्रकारहरुको उपस्थिति रहेको थियो । जसले गर्दा एकआपसमा एक्सपेरिन्स शेयरिङ गर्ने र सिक्ने काम निकै हुने पक्का थियो सवैका लागी । पर्यटन प्रवद्र्धन संगै सो स्थानका जनताहरुको अवस्थिति अध्ययन गर्ने प्रमुख लक्ष्य राखिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष पुष्पाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लगायतकाले यस क्षेत्रको पर्यटन विकासको योजनाहरुको पोको पनि फुकाउनुभयो । औपचारिक कार्यक्रमको अन्त्यसँगै विभिन्न स्थानहरुबाट आएका महिला समूहका प्रतिनिधीहरुले जनप्रतिनिधीहरुलाई आफ्नो समस्या सुनाए ।
बास्तवमै पर्यटकीय गन्तव्यको रुपमा गाउँपालिकाको गहनाको रुपमा रहेको सो स्थान अत्यन्तै रमणीय र मनमोहक हामीले पनि पायौं । तर पनि केही आमाहरुको कुरा सुन्दा र त्यहाँको बस्तुस्थिति हेर्दा लाग्छ पक्कै पनि धेरै काम गर्न बाँकी छ त्यहाँ । २५ भन्दा बढी पत्रकारहरु रहेको सो टिमबाट सवैले महसूस गरे कि पूरै सम्पर्क विच्छेद । मोबाइल नेटवर्क कत्ति पनि छैन । एक्काइसौं सताब्दीमा सरकारले डिजिटल वल्र्डका कुरा गरिरहँदा तिनिहरु कहिले जोडिएलान डिजिटल वल्र्डमा भन्ने आसँका सबैलाई लागेकै थियो । तर चाहना भए गर्न नसकिने के नैै होला र ?
महिलाहरुले आफूहरुलाई पानी भर्न पूरै विहान बिताउनुपर्ने , क ख रा सिकाउने व्यवस्था गरिदिनुपर्ने लगायतका कुराहरु जोडदार रुपमा सुनाए । केही मागहरु तत्काल पूरा गरिदिने र केही लाई प्राथमिकतामा राख्ने बताउँदै गाउँपालिकाको टिम फर्कियो । हाम्रो टिम त्यहीँ बस्यो । साँझ धेरै कुरा गरियो स्थानीयहरुसँग । लोप हुँदै गएको घुमाउने घर र त्यहाँको गुरुङ कल्चरले सबैको मन छोयो । खाना खाएर कल्चर सकित नाचगानमा सवै जना रमायौं । अनि भोलिपल्ट बिहान ६ बजे छिम्केश्वरी को यात्रा शुरु गर्ने बाचासहित ५ घरमा बाँडिएर सुत्यौं । बिहान उठदा सिमसिम पानी परिरहेको थियो । सवै घरबाट आमाहरुले हाम्रो लागी मकै, भटमास, गुन्द्रुकको अचार लगायतका खाजा पोका पारेर झोलामा राखिदिए ।


बिहान ७ ः३० बजे सबैजना तयारी भएर उहाँहरुको बिदाइसँगै यात्रा शुरु गर्यौं । यात्रा मोटरबाटो बाटो पैदल गदैं थियौं । ठाउँ ठाउँमा पहिरो थियो । हामी पैदल यात्रा गएका कारण खासै असर त भएन विस्तारै अघि बढयौं । पर्यटन बिद हरिसिँ गुरुङ र जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङको साथले यात्रा अझ बढी रोमाञ्चकारी बन्दै थियो । केही समयको मोटरबाटोको पैदलयात्रापछि मकै भटमास लगायत खाजा खाएर जंगल जंगलैको बाटोबाट उकालो बाटो अघि बढियो । किसानको छोरो सानोमा उकाली ओराली धेरै गरेपनि जागिरे भएदेखि लामो उकाली ओराली नगरेको धैरै नै भइसकेको रहेछ, यात्रा सजिलो थिएन तरपनि निकै रमाइलो भने थियो । जुकासंग खेल्दै उकालो लागियो । धेरै महिला पत्रकारहरु पनि अघि बढे । जंगलमा भेटिने गुराँसका बोटहरु, बुकीका फूलका बास्नाहरु अनि ठूल ठूला चट्टानहरु पार गर्दै उकालो चढदैै गर्दा जुकाले आफ्नो कर्तव्य पूरा गरिसकेको धेरैलाई पत्तो नै थिएन । जब थकाइ मार्न बसियो तेति नै बेला गन्ती शुरु हुन्थ्यो कसलाई कतिवटाले भ्याएछ भनेर । कति पय जुका देख्दैमा तर्सन्थे अनि आफ्नो जुत्ताका जुका साथीहरुलाई टिप्न लगाउँथे । विस्तारै उकालो पार गरी अन्तमा ११ः १५ बजे तनहुँको सगरमाथामा सवैजना पुगेर छुट्टै सास फेरियो । एक्काइसौं शताब्दीका कुरा गर्दै बिकास र समृद्धिका बारेमा कलम चलाउने हामीजस्ता पत्रकारलाई सञ्चारिकाले त्यो चुचुरोमा पुर्याउँदै सवैलाई सगरमाथाकै चुचुरो चुमेभन्दा कम भएको थिएन । तनहुँकै सवैभन्दा अग्लो चुचुरो छिम्केश्वरीको चुचुरो । २१२१ मिटर अग्लो चुचुरोमा हामीले लगभग २ घण्टा वितायौँ । अन्तमा फेरी चुचुरोबाटै सवैले महिला पत्रकार समूक सञ्चारिकालाई बधाइ दिए अनि अवसर जुटाइदिएकोमा आभारी सवै थिए । गोरखामा रहेको मनकामनाको जेठी दिदी छिम्केश्वरी माइको दर्शन गरेर छिम्केश्वरी माइले मनकामनासँग रिसाएर कन्नो फर्केको लगायतका किँबदन्तीहरु स्थानीय पुजारीसँग भलाकुसारीका क्रममा थाहा पायौं । ती सवै किँबदन्तीहरु संग्रहित गर्ने कोसिस पनि गरिरहेको छु ।
त्यसपछि करीब २ घण्टाको ओरालो हिँडेर लाब्दी झर्ने क्रममा स्थानीयको पहलमा प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोगमा निर्माणधिन सिँडी बाटो अवलोकन गर्दै झर्यौं । ओरालोमा केही गोरु तथा गाइवस्तु पनि भेटिन्थ्ये । एक स्थानीयसंग बुझ्दा ति गाइवस्तुहरु जंगलमा छाडिने र कामको बेला मात्र गोठमा राख्ने परम्परागत चलन रहेको सुन्दा अचम्म लाग्यो कि हामी कुन युगमा छौं भनेर । लाब्दीमा आएर खाना खायौं । हिँडने बेला फेरी पानीले स्वागत गरिरहेको थियो । सोही रुटमा चल्ने २ वटा जीप रिजर्व गरेर प्रकृतिका सुन्दरताहरुको अध्ययन गर्दै आँबुखैरेनी आइपुगियो । अाँबुखैरेनीमा अध्यक्ष गिर बहादुर थापासंग भेटने बचन हाम्रो टिमले दिएको थियो । शनिबारको दिन परेकोले उहाँसंग भेट हुन नसक्ने भएपछि हामी आ आफ्नो स्थानतर्फ लाग्यौं ।
साँझ घर आइपुग्दा यात्राले थकित बनाएको थियो । नुहाएर मात्र सुतें । छिम्केश्वरीको यात्राको क्रममा गरिएका अनुभूति साँच्चै अहिले पनि मानसपटलमा घुमिरहेको छ । सायद यसबाट मैले जिन्दगीमा अहिलेसम्म नकमाएको सन्तुष्टि एवं सम्पदा कमाएको छु ।

छिम्केश्वरीको अवस्थिति
गण्डकी प्रदेशको पर्यटकीय स्थलहरुमध्येको महत्वपूर्ण स्थल हो छिम्केश्वरी । गण्डकी प्रदेशको दक्षिण पूर्व तथा मुलुककै केन्द्रविन्दुमा अवस्थित छिम्केश्वरी तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा पर्दछ । महाभारत श्रृङ्खला अन्तर्गत पर्ने उच्च पहाडमध्येको एक एवं तनहुँ जिल्लाको सर्वोच्च शिखरको रुपमा परिचित छिम्केश्वरी समुन्द्र सतहबाट २१३४ मि. उचाइमा पर्दछ । धार्मिक तथा साँस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पूज्य र आराध्य स्थलको रुपमा रही आएकको छ । सयौं बर्ष अघिदेखि बिदेशी पर्यटकहरुको आकर्षण थलोको रुपमा रही आएको छिम्केश्वरी नेपालको एकै ठाउँबाट धेरै हिमश्रृङ्खला देख्न सकिने चुचुरा मध्येको एक हो ।
छिम्केश्वरी कसरी पुग्ने ?
काठमाण्डौ र पोखराबाट विभिन्न समय तालिकामा दैनिक सार्वजनिक एवं पर्यटकीय वस, माइक्रोवस, जीप तथा कारहरु उपलब्ध छन् । काठमाण्डौबाट आँबुखैरेनी करीब ४ घण्टा मा आइसकेपछि करीब १९ किलोमिटर कच्ची सडक बाट लाब्दी पुगेर त्यहाँबाट करीब २ घण्टा पदयात्रापश्चात छिम्केश्वरी पुग्न सकिन्छ । त्यस्तै गरी पोखराबाट डुम्रे करीब डेढ घण्टामा पुगेपछि ७ कि.मि. कालोपत्रे सडकमार्फत बन्दिपुर पुगेर १५ कि.मि.को पदयात्रापश्चात हिलेखर्क पुग्न सकिन्छ, जहाँ होमस्टे सुविधा छ । त्यहाँबाट ३ घण्टा पैदलयात्रापश्चात छिम्केश्वरी पुग्न सकिन्छ ।

फाेटाेहरूः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker