पालुङटारमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु, दैनिक पारिश्रमिक रु.७०० पाउने

रविन्द्र कंडेल
असार ३, गोरखा ।
पालुङ्टार नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको आजबाट शुरु गरिएको छ । सरकारको बेरोजगार युवाहरुलाई बर्षमा कम्तीमा १०० दिन रोजगारी दिने कार्यक्रम अन्तर्गत वडा नं. ७ र ८ बाट शुरु गरिएको छ । वडा नं. ७ मा कार्यक्रमको उदघाटन समारोह कार्यक्रममा बोल्दै नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले कार्यक्रमलाई कामकाजी र झारा टार्ने मात्र नभई वास्तविक विकासमा लगाउनुपर्नेमा जोड दिनुभएको थियो । सोही अवसरमा वडा नं. ७ को वडा कार्यालय भवनको कम्पाउण्ड वाल निर्माण तथा बिरुवाटार क्षेत्रमा नाली निर्माण गरिने बताउनुभयो । यस आ.व.मा बेरोजगारहरुका लागी १० दिन रोजगारी दिइने नगरपालिकाका रोजगाार संयोजक विवेक पण्डित ले बताउनुभयो । नगरपालिकाभित्रका सवै वडाहरुमा कूल ३९७ जना बेरोजगार रहेको संयोजक पण्डितले जनाउनुभयो ।
बेरोजगार छनौट भएका व्यक्तिहरुका लागी प्रतिदिन ७०० रुपैयाँका दरले पारिश्रमिक पाउने र नगरपालिकाभित्रका कुनै पनि योजनाहरुमा उनीहरुलाई काममा लगाउने नगरपालिकाको योजना मुताबिक वडा नं. ८ मा कार्यक्रमको उदघाटन गर्दै नगर उप प्रमुख पम्फा बसेलले योजनाहरुलाई प्रभावकारी बनाउन र कार्यक्रमलाई सफल पार्न सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । वडा नं. ८ बाट बेरोजगार सूचीमा छनौट भएकाहरुका लागी यस वडाको रचनात्मक विकास निर्माणका कार्यमा लगाउने वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयो ।
कार्यक्रमका लागी वडा नं. १ बाट ३४ जना, वडा नं. २ बाट ८२ जना, वडा नं. ३ बाट २७ जना, वडा नं. ४ बाट ८० जना, वडा नं. ५ बाट २१ जना, वडा नं. ६ बाट २७ जना, वडा नं. ७ बाट ५२ जना, वडा नं.८ बाट २२ जना, वडा नं. ९ बाट २५ जना र वडा नं. १० बाट २७ जना छनौट भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker