बन्दीपुरका सबै वडामा वडा सचिव रिक्त, जनतालाई सास्ती

अमरराज नहर्की
बन्दीपुर(तनहुँ) ।

तनहुँको बन्दीपुर गाउँपालिका रहेका सबै वडामा वडा सचिव रिक्त हुन पुगेको छ । वडा सचिव रिक्त हुँदा जनतालाई मर्का परेको छ । जनता सेवा लिन यतिबेला गाउँपालिकामा धाईरहेका छन् । गाउँपालिकामा पनि थोरै जनाले काम गर्नु पर्दा कर्मचारीलाई सास्ती भएको छ ।
नेपाल सरकारले कर्मचारी समायोजन ऐन–२०७५ जारी गरि सके पछि ल्याएका विभिन्न नीतिगत, प्रकृयागत व्यवस्था अन्तर्गत गाउँपालिकामा रहेका ६ वटै वडामा वडा सचिव रिक्त हुन पुगेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकेदव लम्सालले जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत लम्सालका अनुसार गाउँपालिकामा रहेका १२ जना स्थायी कर्मचारी मध्ये समायोजना क्रममा आठ जनाको सरुवा भएर अन्यत्र छन् भने पाँच जना कर्मचारी सरुवा भएर आएका छन् । समायोजनका क्रममा आएका कर्मचारी कृषि र पशुका मात्रै भएको र प्रशासन हेर्ने नभएको गाउँपालिकाले जनाएको छ । ‘वडा सचिव भएर काम गर्ने चार जना रहेको चारै जनाको सरुवा भएर जानुभयो’–प्रमुख प्रशासकिय अधिकृत लम्सालले भन्नुभयो–‘अस्थायी दुई जना अस्थायी कर्मचारी थिए हाल सबै वडामा वडा सचिव रिक्त भएकोले धेरै काम प्रभावित भएको छ ।’ । नायव सुब्बा एक जना, लेखापाल एक जना, एक इन्जिनियर पनि हाल खाली हुन पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा ४० जनाको दरबन्दीमा हाल २८ जनाको रिक्त भएकोले काम गर्न अत्यन्त कठिन भएको प्रमुख प्रशासकिय अधिकृत लम्साल बताउनुहुन्छ । सङ्घमा समायोजन भएर गएका कर्मचारीहरुलाई स्थानीय तहमा कर्मचारी नआए सम्म पदस्थापन नगरी यही ठाउँमा बसेर काम गर्ने वातारण सृजना गरेको भए समस्या नहुने गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ बताउनुहुन्छ । हल्ला त चलेको थियो पोष्टिङका क्रममा । नयाँ कर्मचारी भर्ना पनि सङ्घीय सरकारले रोकेको छ , स्थायी कर्मचारीमा पनि आएका छैनन् काम गर्न सास्ती भईरहेको छ ।’ प्रमुख प्रशासकिय अधिकृत लम्सालले भन्नुभयो । केन्द्रीय तथा प्रदेश सरकारले स्थानीय तहबाट केन्द्रमा समायोजन भएर जाने जति पनि कर्मचारी हुनुहुन्छ उहाँलाई तत्काल नयाँ कर्मचारी आएर पदस्थापन भए पछि मात्रै जाने व्यवस्था गर्न सकेको भए समस्या नहुने गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा बताउनुहुन्छ । कर्मचारी नहुँदा मूख्य गरेर पञ्जिकरणको समस्या आएको छ पञ्जिकरणको लागि वडाबाट सेवाग्राही गाउँपालिकाका धाउनु परेको छ । ‘कर्मचारी पिएनबाट काम चलाउनु पर्ने अवस्था छ अत्यन्तै गा¥हो भएको छ , कार्यालय समय वाहेक काम गर्दा पनि काम भ्याउन कठिन भएको छ’ प्रमुख प्रशासकिय अधिकृत लम्सालले भन्नुभयो ।
गाउँपालिका महासङ्घका नेपालका अध्यक्ष होमनाराएण श्रेष्ठ समायोजनको प्रक्रियाले सङ्घीयता कार्यान्वयन र स्थानीय सरकारको संवैधानिक अधिकार प्रयोगमा राजनैतिक नेतृत्वसँगै कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको महशुस भएको बताउनुहुन्छ । कार्यबोध विश्लेषण गरेर दरबन्दी सृजना गर्नुपर्नेमा दरबन्दी हेरेर संरचना निमार्ण गरिएकोले देशभरीका गाउँपालिकामा समस्या परेको उहाँ बताउनुहुन्छ । ‘सङ्घीय ईकाईहरुमा आवश्यकता भन्दा अधिक दरबन्दी केन्द्रित गरिएको छ’ अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ–‘अत्यधिक चाप भएका स्थानीय तहहरुलाई खाली गरिनुले कतै स्थानीय तहको कार्यसम्पादन कमजोर भई जनताको बीचमा असक्षम सावित गर्न खोजिएको त हैन ? शङ्का उब्जिएको छ ।’
कर्मचारी समायोजन सकिनै लाग्दा अधिकांश गाउँपालिकाबाट निजामति सेवाको सहायक स्तरका कर्मचारीहरु ठुलो सङ्ख्यामा सङ्घ तर्पm समायोजन भई गएको पाईएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । ‘यस्तो कार्यले अधिकांश गाउँपालिकाहरुमा वडा कार्यालयहरु सचिव विहीन भएको र चालु आर्थिक वर्षको कार्यक्रम अनुगमन , नयाँ योजना छनोट तथा आधारभूत प्रशासनिक सिफारिसका सेवाहरु उपलब्ध गराउन अप्ठ्यारो भईरहेको छ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । एकातिर भएका कर्मचारीहरु समायोजन भई हिंडेका र अर्कोतिर नयाँ कर्मचारीहरु भर्ना गर्न कानुनी र प्रशासनिक अवरोध रहेको हुँदा समस्याको गाँठो थप कसिने सभ्भावना देखिएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख प्रवित्रा पौडेल कर्मचारी समायोजन स्थानीय तहको लागि भएको विरुवा उखेर नयाँ विरुवा लगाउन लागिएको जस्तो भएको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker