छोरी ज्वाईद्धारा आमाको काजक्रिया

अमरराज नहर्की
तनहुँ,

समाजमा बाबु आमाको निधन भएपछि क्रिया बस्ने छोरा चाहिन्छ भन्ने अन्धविस्वास यथावत् रहेको छ । तनहुँकी एक बृद्धाको छोरी र ज्वाईले काजक्रियामा बसेर अन्धविश्वासलाई तोड्नु भएको छ । शुक्लागण्डकी नगरपालिका– ५ बेलचौताराका भावी थापाको ८७ बर्षको उमेरमा निधन भएपछि उहाँको छोरी लिलावती थापा र ज्वाई काजीराम थापा काजक्रियामा बस्नु भएको हो ।
छोराले किरिया गर्नु पर्छ भन्ने सामाजिक मान्यतालाई छिचोल्न तथा छोरा र छोरीबीचको भेदभाव अन्त्य गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्न आमाको किरियामा बसेको लिलावतीले बताउनु भयो । लिलावतीले आमाको मृत्यु भए पछि छोराले जस्तै सव बोक्ने तथा दागवत्ती दिएर काज क्रियामा बस्नु भएको छ । छोरी र ज्वाई आमाको काजक्रिया बसेपछि स्थानीय वासिन्दामा तरङ आएको सो ठाउँमा बस्नु हुने पत्रकार अशोक विकले जानकारी दिनु भयो । गाउँका बुद्धिजिवीले सामाजिक कुरीतिलाई छिचोल्दै काजक्रिया बस्ने आँट गर्नुले छोरा र छोरीबीचको भेदभाव अन्त्य गर्ने कार्यमा टेवा पुगेको धारणा राख्ने गरेको पत्रकार विक बताउनुहुन्छ । जन्मदिने आमा र सासु आमा दुवै बराबर भएको र छोरा र ज्वाईमा कुनै फरक हुँदैन भन्ने मान्यता स्थापित किरियामा बसेको ज्वाई काजीराम बताउनुहुन्छ । ‘छोरीले सासु आमालाई जति सम्मान गर्नु पर्छ त्यती नै सम्मान ज्वाईले सासुआमालाई गर्नु पर्छ भनेर काजक्रियामा बसेको हुँ ।’ मृतक आमाका ज्वाई थापा बताउनुहुन्छ ।
मृतक महिलाको छोरा नभएको र तीन छोरी मध्ये कान्छी छोरी र ज्वाई किरियामा बस्नु भएको हो । छोरा मात्रै सन्तान हुन भन्ने सामाजिक कुरीतिलाई चिर्दै छोरा बुहारीको भूमिका निर्वाह गर्न काजक्रियामा बसेको स्थानीय वासिन्दाले बताए । आमाको दाहसंस्कारको दिन आफन्तजनहरुलाई काजक्रियामा बस्ने गरी कोही आउनुभएको छ भन्दा कसैले चासो नदेखाएपछि काजक्रियामा बसेको छोरी लिलावतीले जानकारी दिनुभयो । समाजको संस्कार अनुरुप १३ दिन सम्म गर्नुपर्ने सबै कर्तव्य पुरा गर्ने लिलावतीको भनाई छ । जन्मे देखि बिहे भएर जाँदा सम्म सँगै बसेर दुःख र सुख साटेको लिलावतीले जानकारी दिनु भयो । बाबु आमाको मृत्युपर्यान्त काजक्रिया छोरीले गर्न पाउनु कर्तव्य मात्रै नभएर हक अधिकारको रुपमा लिएको ज्वाई काजीरामले भनाई छ । ‘हामीले गरेका कार्यले समाजका अन्य मानिसहरुलाई समेत सकारात्मक सन्देश दिन सक्ने विश्वास लिएको छु ।’ ज्याई काजीरामले भन्नुभयो । बुधबार मृतक परिवारलाई सान्तवना दिन पुग्नु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले छोरा छोरी बीचको विभेदपूर्ण व्यवहारलाई चिर्दै समाजमा छोरी ज्वाईले काजक्रियामा बसेर उदाहरणीय कार्य गरेको बताउनु भयो ।
थापाका छिमेकी समेत रहेका युवा सङ्घ नेपालका केन्द्रीय सदस्य कमल ढकालले यस कार्यले छोरा र ज्वाईलाई समान रुपमा हेर्नुपर्ने मान्यतालाई सुरु गरेको बताउनु भयो । ‘छोरी आमा बुवाको क्रिया बसेको थापा पाए पनि ज्वाई नै क्रियामा बसेको थाहा पाएको थिइँन, नौलो लागिरहेको छ ।’ ढकालले भन्नु भयो । थापाको मृत्यु पर्यान्त गरिने कर्मकाण्डको लागि सहयोग गरिरहेको पण्डित मेघनाथ उपाध्यायले यस क्षेत्रमा धेरै स्थानहरुमा पितृकार्य गर्न पुगेपनि छोरी ज्वाई क्रियामा बस्ने कतै नदेखेको बताउनु भयो । ‘ज्वाईलाई मृतक आमाले छोराकै रुपमा स्वीकार गरेकाले उहाँलेहरुले छोरा बुहारीले पितृकार्यमा पु¥याउने सवै प्रकृया पुरा गर्दै आउनु भएको छ ’ पण्डित उपाध्यायले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker