नदी प्रदुषण नर्गन क्रसर उद्योगलाई नगरपालिकाको निर्देशन


अमरराज नहर्की
दुलेगौंडा(तनहुँ), माघ २५ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सो क्षेत्रमा सञ्चालित क्रसर उद्योगलाई सेती नदी प्रदुषण नगर्न निर्देशन दिएको छ । क्रसर उद्योगले ढुङ्गा गिट्टी , बालुवा सफा गर्दा र नदीबाट ढुङ्गा, गिट्टी , बालुवा उत्खनन् गर्दा सेती नदी सधैं धमिलो हुने समस्या भएकाले प्रदुषण नगर्न निर्देशन दिईएको नगरपालिकाले जनाएको छ । माघ महिना भरीमा समस्या समाधान गर्न निर्देशन दिएको र अटेर गरे फागुन १ गतेबाट कारवाही गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले गोरखापत्रलाई जानकारी दिनु भयो । शुक्लागण्डकी नगरपालिकाले गत पुष १४ गते सुचना जारी गर्दै पानी शुद्धिकरण गर्न आग्रह गरेको थियो । ‘निस्कने फोहोर पानी शुद्धिकरण गरेर मात्रै नदीमा पठाउन आग्रह गरे पनि क्रसर व्यवसायीले आलटाल गरेकाले प्रदुषण नगर्न निर्देशन गरिएको हो ।’ प्रवक्ता कुमालले भन्नु भयो । निर्देशन कार्यान्वयन नगरेमा उद्योग बन्द गर्ने चेतावनी नगरपालिकाले दिएको छ । पवक्ता कुमालका अनुसार तीन तहको पोखरी बनाएर पानी शुद्धीकरण गर्न निर्देशन दिईएको छ ।
शुक्लागण्डकी क्षेत्रमा रहेका एक दर्जन क्रसर व्यवसायीले मापदण्ड पुरा नगर्दा सेती नदि प्रदुषण हुने गरेको छ । कास्की र तनहुँको सिमानामा अवस्थित यस क्षेत्रमा सञ्चालित उद्योगले सफा गरेको ढुंगा, गिटी लगायत निर्माण सामग्रीको लेदोले सेती नदीमा सधैं धमिलो हुने समस्या रहेको छ । कोत्रे भन्दा माथिल्लो क्षेत्रमा पानी सङ्लो भएपनि उद्योगबाट निस्किएका धमिलो पानीले नदी प्रदुषित भएको छ ।
नगरपालिकालाले यसै विषयलाई लिएर एक साता अघि गत शनिवार क्रसर व्यवसायीसँग छलफल गरेको थियो । व्यवसायीहरुले भने उचित मापदण्ड नहुदा व्यवसाय सञ्चालन गर्ननै चुनौती बन्दै गएको बताएका थिए । क्रसर व्यवसायी देवबहादुर ज्वारचनले आफूहरु प्रदेशले बनाउन लागेको मापदण्ड कुरेर बसेको बताउनु भयो । अहिले पानी शुद्धिकरणको लागि काम ग¥यौं भने, भोली प्रदेशले उद्योगका लागि कस्तो मापदण्ड बनाउने हो थाहा छैन उनले भने, लगानी यत्तिकै खेर जाने हो कि भन्ने डर भएको ज्वारचनले बताउनु भयो । छलफलमा नगरपालिकाका मेयर किसान गुरुङले माघ महिना भित्र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह गर्नु भयो । ‘प्रदेशको मापदण्ड बन्दैछ, त्यस समय सम्म अल्पकालिन रुपमा भएपनि फोहोर पानी शुद्धिकरण गर्नु पर्ने अटेर गरे कार्वाहीको प्रक्रिया अघि बढाईने मेयर गुरुङ बताउनुहुन्छ । नगरपालिकाले एक हप्ता भित्र नगरमा सञ्चालित क्रसर व्यवसायलाई अनिवार्य रुपमा सुचिकृत हुन अपिल समेत गरिएको प्रवक्ता कुमाल बताउनुहुन्छ । शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर –२ का विभिन्न क्षेत्रमा क्रसर व्यवसाय र ब्लक उद्योगले करिव २ सय ८९ रोपनी सार्वजनिक जग्गा प्रयोग गरिरहेको नगरपालिकाको आकँडा छ । चालु आर्थिक वर्षबाट प्रति रोपनी मासिक १ हजार ५ सय रुपैया नगरपालिकालाई भाडा बुझाउनुपर्ने निर्णय भएपनि प्रदेशको परिपत्रका कारण रोकिएको नगरपालिकाले जनाएको छ । यता नगरपालिकाले एक साता अघि माघ १९ गते शनिबार मापदण्ड विपरित नदीजन्य प्रद्धार्थ उत्खनन् गर्ने दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । वडा नम्बर ८ स्थित क्याङ्दी घाटमा मापदण्ड विपरित उत्खनन् गरिरहेका ग ३ त ६९५ र ग १ त ५७२६ नम्बरको ट्याक्टरलाई नियन्त्रणा लिईएको हो ।
अवैध उत्खनन् गर्ने तीन वटा क्रसर उद्योगलाई जरिवान गरिने
शुक्लागण्डकी नगरपालिकाले अनुमति विना सार्वजनिक तथा निजी जग्गामा अवैध उत्खनन गर्ने ३ क्रसर उद्योगलाई जरिवाना गर्ने भएको छ ।
नगरपालिकाको विहिवार बसेको कार्यपालिका बैठकले वडा नम्बर ५ मा रहेको प्रोफर क्रसर उद्योग , वडा नम्बर ७ मा रहेको शिवशक्ति र मिलीजुली क्रसर उद्योगलाई जरिवना गर्ने निर्णय गरेको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनु भयो । अवैध उत्खनन गर्ने क्रसरलाई प्रदेश सरकारको दररेट अनुसार प्रति घनमिटर १ सय ४१ रुपैयाँका दरले राजश्व असुली नगरपालिकाले जनाएको छ । ‘कति घनमिटर उत्खनन भएको छ, प्राविधिकले जाँच गर्छन, उनले भने, त्यसपछि हामी जरिवना गर्छौ । ’ प्रवक्ता कुमालले भन्नु भयो ।
यसैबीच नगर कार्यपालिकाको बैठकले डोकोमा पानी बोकेर ल्याउनुपर्ने स्थान, पाइप मर्मत र कुवा, धारा संरक्षणको लागि १ करोड ४४ लाख ५० हजार रुपैया विनियोजन गर्ने निर्णय गरेको छ । शिक्षा शाखाबाट पेश भएको नमुना विद्यालय छनौट मापदण्ड र विद्यालय सुधार कार्यक्रम पास गर्ने निणर्य गरिएको प्रवक्ता कुमालले जानकारी दिनु भयो । साथै नगर भित्र रहेका सार्वजनिक जग्गाको लगत राखि अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचना रोक्ने निर्णय समेत भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker