धुवाँकोटमा एम्बुलेन्स हस्तान्तरण, अागामी बर्ष बिरूवाटार सम्मकाे बाटाे पिच हुने

रविन्द्र कंडेल, माघ २३, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं.८ धुवाँकोटमा स्थानीयहरुले आफ्नै पहलमा ल्याएको एम्बुलेन्स धुवाँकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । पालुङ्टार नगरपालिका वडा नं.८ का वडाध्यक्ष शंकरराज कंडेलको अध्यक्षतामा धुवाँकोटको प्रसुती गृह भवनमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख कंडेलले एम्बुलेन्सको सुसञ्चालनको शुमकामना व्यक्त गर्नुभएको थियो । सोही अवरमा बोल्दै प्रमुख कंडेलले आगामी वर्षसम्ममा ठाँटीपोखरी देखि बिरुवाटार सम्मको बाटो पिच गरिने बताउनुभयो । सोही क्रममा बोल्दै उहाँले पानी जम्मा गर्नको लागी पोखरी निर्माण गरी कृषिमा समेत जोड दिनुपर्ने बताउनुभयो ।
स्थानीयहरुले एम्बुलेन्सको आवश्यकता महसूस गरेपछि कुनै पनि सरकारी निकायहरुको मुख नताकीकनै गाउँमा एम्बुलेन्स ल्याउने अठोटका साथ सामाजिक सञ्जालमार्फत सम्पर्क गरी रकम संकलन गर्दै एम्बुलेन्स ल्याउन सफल भएको वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयो ।
रकम संकलनका क्रममा बैदेशिक रोजगारमा रहेका धुवाँकोटबासीसहितका स्थानीयहरुले रकम सहयोग गरेपछि एम्बुलेन्स ल्याउन सफल भएको बताउनुहुन्छ, एम्बुलेन्स खरीद तथा व्यवस्थापन समितिका कोषाध्यक्ष सन्तोष भण्डारी । गाउँमा एम्बुलेन्स ल्याउने खबर सामाजिक सञ्जालमार्फत आएपछि स्वदेश तथा विदेशमा रहेका करीब ४ सय जना धुवाँकोटबासीहरुमार्फत १९ लाख २३ हजार १ सय रुपैयाँ रकम संकलन भएकोमा हालसम्म एम्बुलेन्स खरीदका क्रममा ११लाख ४८ हजार ९ सय ९८ रुपैयाँ खर्च भएको र बाँकी रकम एम्बुलेन्स सञ्चालनको लागी खर्च गरिने समेत बताइएको छ ।
सो कार्यक्रममा समितिका कोषाध्यक्ष सन्तोष भण्डारीले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा एम्बुलेन्स खरीदका लागी रकम सहयोग गर्ने सवैजनालाई सम्मान गरिएको थियो । नगद रु ५ हजार भन्दा माथिको रकम सहयोग गर्नेहरुको नाम शिलालेखमा राखिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker