प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासमा खास व्यक्तिबाहेक सर्वसाधारणलाई भेटघाट निषेध, नेकपा नेताले गरे तारिफ

काठमाडौं, ८ माघ । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएपछि चोलेन्द्रशमशेर राणाको प्रतिक्रिया थियो, ‘म नेकपाका सांसदहरूलाई गुनासो गर्ने मौका दिन्नँ ।’ किनभने जबराअघि न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए । सोही कारण जबराले नेकपा सांसदको ध्यान आफूतिर खिच्ने प्रयास गरे ।

अन्ततः संसदीय सुनुवाइ समितिमा सत्तारुढ नेकपाका सांसदहरू सामान्य ढंगले प्रस्तुत भए । यसअघि न्यायाधीश जोशीको सुनुवाइमा कडिकडाउ प्रस्तुत भएका नेकपा नेता योगेश भट्टराई शान्त बसे । त्यसपछि अनुमान गर्न लागिएको थियो जबरा प्रधानन्यायाधीशमा नियुक्त हुने निश्चित ।

प्रधानन्यायाधीश भएलगत्तै जबराले ओली सरकारलाई सहयोग पुग्ने गरी ड्यामका ड्याम आदेश र फैसला सुनाउँदै आएका छन् । जसको अहिले सत्तारुढ नेकपाका नेता कार्यकर्ताहरूले तारिफ गर्दै आएका छन् ।

न्यायाधीश जोशीको जिम्मेवारी खोस्दै पेसी नतोकिनु, ३३ किलो सुनकाण्डमा अभियुक्तलाई धरौटीमा छाड्ने उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशलाई कारबाही सुरु गर्नु, अजेयराज सुमार्गीले इन्भेष्टमेन्ट बैंकबाट निकालेको ८४ करोड निकाल्ने आदेश खारेज गर्नु तथा विनोद चौधरीको सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिएको अन्तरिम आदेश खारेज गरेर प्रधानन्यायाधीश सत्तारुढ नेकपामा हाईहाई भएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले त न्यायालयमा सुधार देखिएको भन्दै प्रधानन्यायाधीशको प्रशंसा नै गरिसकेका छन् । यो क्रम बढ्दै गएको छ । सोही कारण अहिले प्रधानन्यायाधीश राणासँग बालुवाटारस्थित उनको निवासमा पनि खास व्यक्तिबाहेक अन्यलाई भेटघाट निषेध गरिएको छ ।

भेटघाट तथा शुभकामना दिन आउनेलाई गेटमा राखिएको पुस्तिकामा नाम लेखाई त्यहीँबाट फिर्ता पठाउने परम्परा बसाइएको छ । यस्तो व्यवस्था पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले अपनाएका थिए । राणाको कार्यकाल पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायपछि सबैभन्दा बढी अवधिको रहेको छ । उनी चार वर्ष जति पदमा रहनेछन् । प्रधानन्यायाधीश राणाले आफूले हेर्नैपर्ने मुद्दाबाहेक अन्य मुद्दा हाल सुनुवाइ नगर्ने राणाले बताएका छन् । उनले हाल एकल इजलासको सुनुवाइ गरिरहेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीले गरेका विवादास्पद दुई निर्णयलाई राणाले उल्ट्याइदिएका छन् । उद्यमी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको भनिएको रकम बैंकबाट झिकेको भए पनि त्यसलाई पूर्वअवस्थामा राख्न नेपाल राष्ट्र बैंकलगायतका निकायलाई आदेश दिएका छन् ।

यो आदेश पालना हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी छ । किनभने भइसकेको कार्यलाई पूर्वअवस्थामा ल्याउन दिइएको आदेश सम्भवतः यो पहिलो हो । यो आदेश पाएपछि राष्ट्र बैंक नेपाल इन्भेष्टमेन्ट बैंकबाट झिकिएको रकम के कसरी फिर्ता गराउने भन्ने बारेमा अन्योलमा परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker