देश र स्थानीय तहलाई अधिकार कम दिईयो

अमरराज नहर्की
तनहुँ , असोज २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार कम दिएको गुनासो गर्नु भएको छ । जिल्ला समन्वय समिति तनहुँले बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मूख्य मन्त्री गुरुङले समृद्धिको लागि प्रदेश र स्थानीय तह बलियो बनाउनु पर्ने हुँदा आवाज उठाइरहेको बताउनुभयो ।
‘बेलाबेलामा प्रधानमन्त्रीलाई यस विषयमा भन्ने गरेको छु, तर कतिपयलाई आफ्नै पार्टीका प्रधानमन्त्रीसँग किन झगडा गरेको भन्ने लागिरहेको छ, त्यो झगडा होइन अधिकार मागेको हुँ ’उहाँले भन्नु भयो । मुख्यमन्त्री गुरुङले राजश्व उठाउने अधिकार नहुँदा प्रदेश र स्थानीय सरकार कमजोर भएको बताउँदै यसबारेमा संघीय सरकारले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
‘शुसासन र पारदर्शिताको लागि सङ्घियता जरुरी भएको उहाँले बताउनु भयो । भ्रष्टाचार र अनियमितताले देश पछाडि परेकोेले अन्त्यको लागि सङ्घियता स्थापना गर्नु परेको हो’ मूख्य मन्त्री गुरुङले बताउनु भयो । एक मात्र सरकार हुँदा विकास र कर्मचारीको कामको अनुगमन , मूल्याङ्कन फितलो हुन पुगेको बताउँदै मूख्यमन्त्री गुरुङले प्रदेश र स्थानीय सरकारले सहज तरिकाले अनुगमन र मूल्याङ्कन गर्न सकिने बताउनु भयो । विकास निर्माणका लागि प्रयाप्त बजेट आए पनि त्यो बजेट स्टमेट अनुसार काम नहुने, गुणस्तरहिन , अनियमितताका कारण विकास निर्माणका काममा मुलुक पछाडी परेको उहाँले दाबी गर्नुभयो । प्रत्येक पालिकामा उद्योग ग्राम खोल्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिँदै मख्यमन्त्री गुरुङले त्यसको लाग ठाउँ पहिचान गर्न गाउँपालिका र नगरपालिकालाई आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
‘सङ्घियताले नै विकास गर्छ भनेर हामी गएका हौं लहडले कसैको कारणले सङ्घिय व्यवस्थामा गएका हैनौं ’ मूख्यमन्त्री गुरुङले भन्नु भयो । सङ्क्रमणकालको बाहनामा सरकार लामो समय सरकार निरिह जस्तै बनेको र अनुगमनको पाटो समेत प्रभावकारी नहुँदा मुलुकमा अनियमितता, भ्रष्टाचार जस्ता कुकार्य मौलाएको बताउँदै मुख्यमन्त्री गुरुङले अब जिल्ला समन्वय समितिले स्थानीय तहका काम कारवाहीको प्रभावकारी अनुगमन गर्न आग्रह गर्नु भयो । राजा,माहाराजा, फालियो , अस्थिर सरकारको पनि अन्त्य भयो अब कसैलाई दोष दिने ठाउँ छैन अब हाम्रो यात्रा समृद्धिको लागि मात्रै हुनु पर्छ’ मूख्य मन्त्री गुरुङले भन्नु भयो । अब विकासको लागि सहमती गर्नु पर्ने उल्लेख गर्दै मूख्यमन्त्री गुरुङले समृद्धि जनताबाट समृद्धि कसको लागि जनताको लागि जनताले नै समृद्धि ल्याउने हो जनताको नेतृत्वमा विकास गर्नु पर्छ भनेर सरकारले योजना ल्याउनु पर्ने बताउनु भयो ।
तनहुँका १० वटै स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुको सहभागिता रहेको उक्त समिक्षा गोष्ठीमा मुख्यमन्त्री गुरुङले आर्थिक पारदर्शीता सबैभन्दा ठूलो र महत्वपूर्ण विषय भएको उल्लेख गर्दै स्थानीय तहको आर्थिक पारदर्शीताका विषयमा प्रश्न उठाउनु भएको थियो । उहाँले आज धेरै नगरपालिका, गाउँपालिकाका मेयर, अध्यक्ष तथा वडा अध्यक्षहरुका आफ्नै डोजर भएको तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डोजरका मालिक बन्ने गरेको चर्चा गर्दै यस्तो कार्य आर्थिक, नैतिक, सामाजिक लगायत कुनै पनि हिसावले उचित नभएको बताउनु भएको छ । त्यस्तै, स्थानीय तहको नीति कार्यक्रम अनुसार जनताको भावना अनुसार उत्पादनमुखी बजेट, सेवामुखी, सन्तुलित बजेट स्थानीय तहले विनियोजन गर्न तर्फध्यान दिन मुख्यमन्त्री गुरुङले आग्रह गर्नु भयो । समाजमा पछि पारिएका जनतालाई माथि उठाउन बजेट आयोकि आएन त्यसतर्फअनुगमन गर्ने निकाय तथा अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउँदै उहाँले जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रममा बजेट विनियोजन तर्फध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य केदार सिग्देलले स्थानीय तहमा बजेट कम भएको गुनासो गर्नुभन्दा पनि बजेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँलाई समृद्ध बनाउन सबै राजनीतिक दलबीच सहकार्य र एकता आवश्यक रहेको र हामी विकासका लागि प्रतिवद्ध रहेको स्पष्ट पार्नु भएको थियो । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले जनप्रतिनिधिले निरासाजनक भन्दा पनि आशावादी भएर जनतामुखी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खान, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य आशा कोइराला, रामबहादुर गुरुङ, डोवाटे विक, सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ लगायतले मुलुकको विकास र समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औल्याउँनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker