लघुकथा : ब्यस्त कलाकार

– सुदर्शन कँडेल

 

” गुड मर्निङ्ग सर ”
” मर्निङ्ग”
हिरा सरले व्हाईट बोर्ड पुछ्दै बिध्यार्थिको अभिवादन फर्काए । हिजोको क्लास रिभिजन गरे अनि आजको लेक्चर सुरु गरे । हिरा सरले लगातार चार पिरियड पढाएपछि एक मिनेटपनी आराम नगरिकन कलेजको क्यान्टिनमा अलिकती खाना खाएर कुदे ।

” गुड मर्निङ सर”
” मर्निङ्ग हिरा जि , के छ सन्चै हुनुहुन्छ ” हाकिमले सोधे ।
“हजुर ठिकै छ सर ।”
” अनि ठिकै छ भने किन ढिला त ” हाकिमले हाकिम पारा देखाए ।
” जाम सर, यस्तै त हो नि ।” हिरा सर अकमकाउदै बोले ।
” जाम त सबैलाई हुन्छ नि, मलाई पनि थियो तर म त टाईममै आइपुगे त ।” हिरा सर आफ्नो क्याबिन छिर्नै लाग्दा हाकिमले भने ।

अफिसमा पनि त्यही हो, हिजोको पेन्डिङ काम सके। आजको काम हेरे। अर्को हप्ता हुने फोर्ट्नाईट मीटिङ्गको प्रेजेन्टेसन तयार गरे । खाजा खाने टाईमपनी बाँकी नरहिकन हिरा सरको आजको दिन पनि गयो। ४:३० तिर हतार हतार निस्किए हिरा सर ।

” गुड ईभिनिङ सर ”
” गुड ईभिनिङ, ल आज केके पढाइ भयो स्कुलमा कपि निकाल ।”
” म्याथको यो, साईन्सको यो, अनि सोसलको यो ” बच्चाहरुले कपि निकाले ।
हिराले सरले एकएक गर्दै पढाउन थाले ।
३ वटा घरमा ट्युसन पढाएपछी ८ बजे तिर लखतरान परेर घर पुगे । फ्रेश हुन नपाउदै छोरो आइपुग्छ काँधमा चढ्नलाई । एकछिन घोडा बनेर छोरो खेलाए ।

” अनि पसल गर्ने भनेको के छ त तेरो बिचार ।” खाना खाने बेलामा बुवाले सोधे ।
“हुन्छ, मैले त हुन्छ नै भनिराछु नि । अब हजुरहरुलाई यसो बसिबियालो हुन्छ। घरखर्च पनि चल्छ। मलाई पनि अलि सजिलो हुन्छ ।” हिरा सरले घर ब्यबहारको कुरा गरे ।

खाना सकेर कोठामा आएपछी श्रीमतिको अङ्गालोमा सुन्दर भविष्य कोर्ने आर्किटेक्ट बने । अनि एकैछिनमा कामदेव । सुन्दर भविष्यको खाका र श्रीमानको कामदेवपनाले श्रीमती एकैछिनमा निदाईन ।
हिरा सर उठेर कौसिको मेचमा बसे । एउटा चुरोट सल्काएर लामो पफ ताने अनि फिस्स हासेर धुवाँको मुस्लो फाल्दै सोचे ” साला जिन्दगी, कति ब्यस्त कलाकार बनाईस यार मलाई ।”

– ३० सेप्टेम्बर २०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker