अम्बिका अर्यालको अविश्रान्त उपन्यास विमोचन

अम्बिका अर्यालको पहिलो उपन्यास अविश्रान्त  काठमाडौँको सर्वनाम नाटकघरमा सार्वजनिक भएको छ । गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक र लेखक स्वयम्ले उक्त उपन्यास सार्वजनिक गर्नुभएको थियो । अन्तरक्रियात्मक शैलीमा भएको उक्त कार्यक्रममा साहित्यकार धराबासी र कुमारी लामाले यसका विषय र शैलीका पक्षका आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । मोहन बास्तोलाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा धराबासीले समाजका यथार्थ पात्रहरुको जीवन्त घटना प्रस्तुत गरिएको विचार व्यक्त गर्दै यसमा प्रयोग गरिएको इप्रविधि, सर्जरीजस्ता नयाँ प्रविधिले उपन्यासलाई नयाँ विषयतिर उन्मुख बनाएको विचार व्यक्त गर्नुभयो । त्यसैगरी उनले लेखक र पाठक तथा चवित्रलाई समेत संवाद गराएर उपन्यासभित्रै प्रस्तुत गरिएको यस उपन्यासमा उत्तरआधुनिक शैलीको प्रयोग गरिएको विचार प्रस्तुत गर्नुभयो । मानवजीवनका विखण्डित र अपूर्णताहरुजस्तै उपन्यासमा पात्रका जीवनका रिक्ततालाई छाडिनु नवीन प्रवृत्ति भएको उहाँको टिप्पणी थियो । कुमारी लामाले यो उपन्यास नारीवादको वैचारिक दृष्टिले सबल भए पनि पुरुषप्रतिको परम्परागत समपर्णलाई परित्याग गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले नारीस्रष्टाका कलमबाट नारीका विचार तथा भावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको विचारसमेत व्यक्त गर्नुभयो । उपन्यासमा यस प्रकारको परम्परा आउनुमा लेखकीय कमजोरीभन्दा सामाजिक धरातलको दोष रहेको विचार धराबासीले अगाडि सार्नुभयो । आर्थिक स्तर नउस्केसम्म अर्थात् आर्थिक रुपमा सक्षम नभएसम्म नारीहरु आत्मनिर्भर बन्न नसक्ने धारणा पनि उहाँले प्रस्तुत गर्नुभयो । उपन्यासकार अर्यालले उपन्यासमा पात्रहरु स्वतन्त्र रहेकाले तिनीहरुको भूमिकाअनुसार आफ्नो चरित्र निर्माण गरेको विचार व्यक्त गर्नुभएको थियो । वर्तमान समयमा शून्यता, अपूर्णता र अस्थिरता रहेकाले एउटा उपन्यासमा व्यक्तिको समग्र पक्षलाई अटाउन नसकिने तथा रिक्तता पनि उत्तरआधुनिक शैली भएकाले उपन्यासमा उत्तरआधुनिक प्रवृत्तिलाई समाहित गरिएको भावसमेत उहाँले प्रस्तुत गर्नुभयो । यस्तै नारीका उपन्यासहरुमा नै विद्यावारिधि अनुसन्धान गर्दै गरेकी अर्यालले नारीस्रष्टाका धेरैजसो उपन्यासहरु परम्परागत शैलीको भएकाले आपूmले यसमा नयाँ प्रयोग गरेको विचार पनि प्रस्तुत गर्नुभयो । गुञ्जनका अध्यक्ष पाठकले नारी साहित्यकारहरुको यस संस्थामार्फत् कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै पहिलो प्रयासमा नै यस प्रकारको सशक्त उपन्यास प्रकाशन गर्न सकेकोमा बधाइज्ञापन गर्नुभयो । उक्त उपन्यास साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker