चितवनमा धुर्मुस–सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्ने

चितवनमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाका लागि जग्गाको टुंगो यही भदौं अन्तिम सम्ममा लाग्ने भएको छ ।
क्रिकेट स्टेडियमका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय सकरात्मक भएपछि जग्गाको टुंगो लाग्न लागेको हो । विश्वविद्यालयको यसै महिना भित्रमा बस्ने सिनेट बैठकले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्न लागेको हो ।

विश्वविद्यालयका प्रशासक पुष्प विमल भण्डारीले नारायणी अनलाईनसंग भने–“भरतपुर महानगरबाट जग्गा माग गर्दै पठाएको पत्र प्राप्त भएको छ, यस सम्बन्ध प्रक्रिया अघि बढि सकेको छ, यसै महिनामा बस्ने सिनेट बैठकले सबै टुंगो लगाउने छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सिनेट बैठकका लागि उपकुलपति प्रा.डा.आईपी ढकालले प्रधानमन्त्रीसंग समय मागी सकेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको सो जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गर्न यसअघि नै मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै निर्देशन दिई सकेको छ । रामपुरमा रहेको कुल ३३५ विघा जग्गा मध्ये ४० विघा जग्गा त्रिविले राखेर अरु सबै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिनुपर्ने छ । त्यसमध्ये रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले सट्टापट्टा गर्ने गरी २० विघा जग्गा माग गरेको छ । रंगशाला निर्माणका लागि अन्य ठाउँ उपयुक्त नभएकाले सो क्षेत्रमा नै रंगशाला निर्माणको तयारीमा महानगर जुटेको छ ।

भरतपुर महानगरपालिकाले निकै प्राथमिकताका साथ रंगशाला निर्माणका लागि जुटेको छ । महानगरपालिकाकी मेयर रेनु दाहालले रंगशाला निर्माणका लागि कृषि र त्रिवि विश्वविद्यालयसंग एक किसिमको मौखिक सहमति भइसकेको भन्दै सिनेट बैठकले गर्ने निर्णयको पर्खाईमा रहेको बताइन् । उनले अन्तराष्ट्रिय रगंशाला चितवनको सबैभन्दा ठूलो आयोजना भएकोले महानगरका तर्फबाट सबै स्रोत र साधन परिचालन गरिने बताईन् । उनले बन्दिपुर टाईम्ससंग भनिन्–“रंगशाला निर्माणको प्रक्रिया अघि बढाउन हामी लागि परेका छौं, यो चितवनमै बन्छ, अरुले सहकार्य नगरे हामी एक्लै भएपनि रंगशाला निर्माण गर्छौ ।”

मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनसंग सहकार्य गरी रगंशाला निर्माणको तयारी भईरहेको जानकारी दिँदै दुवै पक्षका आ–आफ्नै सर्तहरु रहेको बताइन् । उनले सर्त पुरा नभए महानगर एक्लै रंगशाला बनाउन पनि तयार रहेको प्रष्ट पारिन् ।

नेपालले एक दिवसीय मान्यता प्राप्त गरेपछि क्रिकेट रंगशालाको विषयमा निकै चासो बढेको थियो । सो बेला विभिन्न परियोजनाहरु सफल बनाएर चर्चित भएको धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो । सो घोषणाले खेल प्रेमी र खेलाडीहरुमा हौसला मिलेको थियो । तर आवश्यक जग्गा नपाएपछि रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन् ।

यसअघि फाउण्डेशनले ललितपुरको गोदावरीमा रंगशाला निर्माण गर्ने घोषणा गर्दै खेलकुद मन्त्रालयमा फाईल पठाएको थियो । तर प्रक्रिया अघि नबढेपछि निराश बनेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माण गर्ने अर्को निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि धुर्मुस–सुन्तली फाउण्डेशन चितवन तर्फ मोडिएको हो । यसअघि फाउण्डेशनले चितवनको चित्रवन रंगशाला निर्माण परिसरमा रंगशाला निर्माणका लागि जग्गा हेरेको थियो । तर सो क्षेत्र भन्दा रामपुरमा रहेको विश्वविद्यालयको जग्गा उपयुक्त भएपछि फाउण्उण्डेशन यसतर्फ मोडिएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनका प्रमुख सिताराम कट्टेल (धुर्मुस)ले भरतपुरमा अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि आफू आतुर रहेको बताए । बन्दिपुर टाईम्स सँग  कुरा गर्दै धुर्मुसले सबै किसिमको अध्ययनपछि चितवनको रामपुरमै रगंशाला निर्माणका लागि भरतपुर महानगरपालिकामा प्रस्तावना पेश गरेको बताए । “भरतपुरमै अन्तराष्ट्रिय रगंशाला निर्माण गर्ने अन्तिम निचोडमा पुगेका छौं” धुर्मुसले भने “देशको केन्द्र भागमा भएकोले पनि चितवनलाई रोजिएको हो ।” धुर्मुसले रगंशाला निर्माणका लागि महानगरसंग सहकार्यमा हुने भन्दै सर्त सामान्य भएको बताए । उनले कुनै सर्तकै कारणले रंगशाला निर्माण नरोकिने समेत स्पष्ट पारे ।

रंगशाला निर्माणका लागि जति छिट्टो महानगरले जग्गा उपलब्ध गराए काम गर्नका लागि सहज हुने धुर्मुसको भनाई छ । उनले प्राविधिक र अन्य तयारीका हिसाबले धुर्मुस–सुन्तली फाउण्डेशन तयारी अवस्थामा रहेको बताए ।

अन्तराष्ट्रि स्तरको क्रिकेट रगंशाला निर्माणका लागि करिव २ अर्ब रुपैयाँ लगानी लाग्ने छ । नेपालको मौलिक तथा नमुना स्टेडियका रुपमा यसलाई निर्माण गरिने धुर्मुसले बताए । रगंशाला शिलन्यास भएको १८ देखी २४ महिना भित्रमा रगंशाला निर्माण सकिने उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker