मीना कोइराला

प्रधानाध्यापक

पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्ग,

काठमाडौं पद्मोदय विद्यालयका बारेमा बताइदिनुस् न ? यो एउटा ऐतिहासिक विद्यालय हो । यो विद्यालयमा पहिलेदेखि नै नेपालका पूर्वी भेगबाट पढ्न आउने चलन रहेछ । पहिले पब्लिक स्कूल दुईवटा रहेछन् । पश्चिमी भेगहरुबाट जुद्धोदय पब्लिक स्कूलमा र पूर्वी भेगबाट पद्मोदयमा पढ्न आउने चलन । पूर्वतिरका पढेलेखेका पाका व्यक्तित्वहरुलाई सोध्दा उहाँहरुले ‘म पनि पद्मोदयमा पढेको’ भन्नुहुन्छ । देशका जतिपनि प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ, प्रायः यही विद्यालयको उत्पादन हुनुहुन्छ । पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापा, पूर्वमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, कमल थापा, पूर्व प्रधानन्यायधीशहरु केदारनाथ उपाध्याय, अनुपराज शर्मा, कलाकारहरु हरिवंश आचार्य, सरोज खनाल, मनोज गजुरेल, गायक रामकृष्ण ढकाल उहाँहरु सबै यसै विद्यालयका उत्पादन हुनुहुन्छ । वास्तवमा, पद्मोदय भन्नेबित्तिकै ती ठूला व्यक्तित्व उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ । यो विद्यालय २००३ सालमा स्थापना भएको हो । राणाकालमा जनताका छोराछोरीले पढ्न पाउने अवस्था नरहेको बेला ईश्वरराज अर्यालको नेतृत्वका केही व्यक्तिहरु तत्कालीन पद्म्म शम्शेरकहाँ दैनिक भेट्न जानभएछ । पब्लिक स्कूल चाहियो भनेर आग्रह गर्नु भएछ । अन्ततः पद्म शमशेरबाटै जग्गा दिएर स्थापना भएको यो विद्यालय हो । शुरुमा पद्म शमशेरले अनुमति दिँदै– ‘ठीक छ, तिमी हेडमास्टर हुनु, तिमीले पढाएका विद्यार्थीले पछि आफ्ना खट्टामा उभिएर खाउन्,’ भनेका रहेछन् । विद्यालयको सिकाइ सुधार अवस्था कस्तो छ ? त्यसका लागि के कस्तो फरक अभ्यास गरिरहेको छ ? अभिभावककै चासो र आग्रहमा विद्यालयलाई अंग्रेजी माध्यममा लगेका छौं । हुन त, माध्यम मात्रै सबैथोक होइन, विषयवस्तुाई पनि हेर्नुपर्ने हुन्छ । सिकाइ सुधार माध्यमले मात्रै नहुने भएकाले हामीले हरेक शनिबार परीक्षा सञ्चालन गर्दै आएका छौं । कमजोर र जान्ने विद्यार्थी छुट्याएर अवस्था अनुसार उपचारात्मक कक्षाहरु सञ्चालन गर्दै आएका छौं । विद्यालयमा शिक्षकहरुमा राजनीति वर्जित छ । सिकाइ सुधारमै केन्द्रित शिक्षक समूह सामुहिक कार्य र प्रयासमा विश्वास गर्छ । विद्यार्थीको प्रतिभा पहिचान र प्रष्फुटनका लागि अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिने गरिएको छ । विद्यार्थीको शिक्षण सिकाइलाई एउटा कक्षाकोठामा मात्रै सिमित नराखी हामीहरुले पुस्तकालय, अध्ययन भ्रमण, खोज, अवलोकन आदिलाई पनि शिक्षण सिकाइको माध्यम बनाइएको छ । विद्यार्थीको अध्ययन भ्रमणलाई विशेष जोड दिँदै आइएको छ । शिक्षण सिकाइमा प्रविधिको प्रयोगका पनि कुरा आइरहेका छन् । यस विद्यालयको अवस्था के छ ? शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई हामीले विशेष जोड दिँदै आएका छौं । विद्यालयमा ८ कक्षासम्म कम्प्यूटर कक्षा अनिवार्य छ । कक्षा ९ र १० देखि ऐच्छिक छ । कम्प्यूटर कक्षाले विद्यार्थीमा इन्टरनेटबाट खोजेर सिक्ने र शिक्षकहरुमा खोजेर सिकाउने बानीको विकास भएको छ । हामीले प्रोजेक्टरको माध्यमबाट अडियो÷भिजुवेल कक्षा सञ्चालन गर्दै आएका छौं । विद्यार्थीले नियमित परियोजना कार्य र शिक्षकले नियमित शैक्षिक सामग्री, सन्दर्भ–सामग्री इन्टरनेटबाटै तयार पार्ने गर्नुहुन्छ । हामी पाठ्यपुस्तकमा मात्रै सिमित छैनौं । पाठ्यक्रममा आधारित भएर खुला समाजलाई नै पाठ्यपुस्तकका रुपमा पढाउँदै आएका छौं । जीवनोपयोगी र सीपयुक्त शिक्षा हाम्रा प्राथमिकतामा छन् । शिक्षकलाई कक्षाकोठामा नै केन्द्रित गर्न कस्तो प्रयास भएका छन् ? शिक्षण सिकाइका मेरुदण्ड शिक्षकहरु नै हुन् । मुख्य कुरा, शिक्षण सिकाइ र सिकाइ उपलब्धि नै हो । शिक्षकहरुलाई चाहिने आवश्यक शैक्षिक सामग्रीहरुको सम्पूर्ण व्यवस्था हामीले गर्दै आएका छौं । उहाँहरुले कुनै तालिम आवश्यक परेमा पनि विद्यालयले नै व्यवस्था गर्दै आएको छ । शिक्षकहरुको नियमिततालाई पनि विशेष ध्यान दिँदै आएका छौं । कक्षाकोठा खाली नहोस् भनेर शिक्षकहरुलाई थप कक्षाको अतिरिक्त हौसलास्वरुप सुविधा पनि दिने व्यवस्था गरिएको छ । कुनैपनि कक्षा कहिल्यै खाली रहँदैन । शिक्षकहरुलाई आन्तरिक रुपमै पुरस्कार र दण्डको व्यवस्था गरिएको छ । शिक्षक–विद्यार्थी दुबैको अनुशासन कायम गरिएको छ । शिक्षकहरुलाई विभिन्न विभागमा बाँडिएको छ । हरेक कामहरु विभागमार्फत् हुने गर्छन् । शिक्षकहरुलाई विद्यालयमा सम्मानको वातावरण छ । पद्मोदयको शिक्षक हुन पाएकोमा गर्व महशूस गर्नुहुन्छ । सामुदायिक विद्यालयका शिक्षकहरु प्रायः तालिमप्राप्त छन् । तर, त्यो तालिम कक्षाकोठामा प्रवेश नगरेको आरोप पनि लाग्दै आएको छ । यस विद्यालयको अवस्था के छ ? हामीले शिक्षकले सिकेका तालिम र शिक्षण विधिहरु कक्षाकोठामा पुगे/नपुगेका बारेमा नियमित अनुगमन गर्छौं । शिक्षकहरुले नियमित पाठयोजना बनाउने, शैक्षिक सामग्रीको नियमित प्रयोग गर्ने र नियमित भिन्न–भिन्न शिक्षण विधिहरु प्रयोग गर्दै आउनुभएको पाइएको छ । त्यसैले पनि हाम्रा हरेक कक्षाको सिकाइ उपलब्धि, एसइइ र एसएलसीका नतिजा उत्कृष्ट रहँदै आएको छ । एसइइमा ए प्लस ग्रेड ल्याउने विद्यार्थी संख्या बढी रहेको छ । विद्यार्थी एकदिन विद्यालय नआएपनि अभिभावकहरुसँग जानकारी लिने, परीक्षाको नतिजाका बारेमा अभिभावकहरुसँग छलफल गर्दै आएका छौं । विद्यार्थीलाई डायरी दिइएको छ । दैनिक डायरी जाँच हुन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति लागू गरिएको छ । मुलुकमा सामुदायिक विद्यालयको अवस्था कस्तो पाउनुभएको छ ? सरकारको नीतिले पनि यसो भएको होला, सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीमा ‘हामी कमजोर छौं’ भन्ने मानसिकता छ । हामी बोर्डिङ पढ्न नसकेर मात्रै यो सरकारी विद्यालयमा पढ्न आएका हौं भन्ने भावना पाइन्छ । विद्यार्थीलाई पढ्न पठाइदिएपनि अभिभावकले मतलब नगर्ने, सरकारले शुल्क नलिइ भन्ने, शुल्क नलिएपछि अभिभावकहरुको चासो सामुदायिक विद्यालयप्रति चासो नहुने, सबै स्रोत पनि सरकारले नदिने र शुल्क पनि नउठा भन्दा सामुदायिक विद्यालयहरुको अवस्था नाजुक छ ।

educationpati.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker