बन्दको कारण देशभरको जनजीवन अस्तव्यस्त

चितवन, साउन २९
नेत्रविक्रम चन्दनिकटको माओवादीले गरेको नेपाल बन्दको कारण मंगलबार दिनभर चितवनसहित देशभरको जनजीवन अस्तव्यस्त îबनेको छ ।ठाउँठाउँमा भएको सवारीसाधनमाथि आगजनी र बम विस्फोटले कलकारखाना, शिक्षण संस्थाहरु बन्द नै रहे । बन्दले ठूला उद्योगीमात्र नभएर सामान्य मजदूरी गरेर जीवन गुजार्ने मजदुरको जीवनमा पनि नकारात्मक असर पर्न गयो । 

बजार क्षेत्रमा दिनभर ठेला गुडाएर जीविकोपार्जन गर्दै आएका मजदुरहरुले दिनभर केही काम पाएनन् । नारायणगढमा ठेला चलाएर जीविकोपार्जन गर्दै आएका भरतपुर महानगरपालिका–११, बसेनीका कृष्णबहादुर बलले अन्य दिनमा दिनको दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा आज बिहानदेखि केही आम्दानी नभएको बताए । उनले भने, ‘भन्न त जनताको लागि बन्द गरेको भनिए पनि जनतालाई नै दुःख दिएर गरिने बन्दको कुनै औचित्य छैन ।’ बजारी क्षेत्रका अधिकांश पसलहरु बन्द हुँदा सबैभन्दा धेरै असर भरिया र ठेला मजदुरहरुलाई पर्ने उनले बताए ।

त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजन गौतमले देशमा नेपाल बन्दको कुनै कार्यक्रम नभइदिए हुन्थ्यो भन्ने आम नागरिकको चाहना रहेको बताए । उनले भने, ‘एक दिनको बन्दले व्यावसायिक क्षेत्रमा एक दिन मात्र असर नगरेर वर्षाेसम्म असर गर्छ ।’ उनले सबैभन्दा धेरै बन्दको मारमा ज्याला, मजदूरी गरेर खाने मानिसलाई पर्ने बताए । उनको अनुभवमा एक दिनको बन्दले देशमा मात्र नभएर विदेशमा सम्म केही गर्न चाहने युवाहरुलाई नेपालमा सधै बन्द मात्र भइरहन्छ भन्ने मनोवैज्ञानिक असर पर्ने बताए ।

नेपालमा धेरै बन्द, हडताल भएकै कारणले कयौ व्यवसायीहरु व्यवसायबाट पलायन भएको उनले टिप्पणी गरे ।नेपालमा बन्दको आर्थिक लागत (दि इकोनोमिक कस्ट अफ जनरल स्ट्राइक्स अफ नेपाल) शीर्षकमा केही वर्ष अगाडि गरिएको अध्ययनमा सम्बन्धित वर्षको प्रचलित मूल्यमा बन्द तथा हड्तालका कारण प्रतिदिन एक अर्ब ८० करोड क्षति हुने गरेको थियो । केही वर्ष अगाडि भएको यस बन्दमा त्यति देखाइए पनि अहिलेको बजार मूल्यलाई तुलना गर्दा एक दिनको बन्दको नोक्सानी दुई अर्ब बढी पुग्न जान्छ ।

बन्दलाई राष्ट्रिय बन्द (नेपाल बन्द), क्षेत्रीय बन्द, सदरमुकाम बन्द, पेट्रोलियम पदार्थसँग सम्बन्धित बन्द र विद्यार्थीको बन्द गरी सो अध्ययनमा वर्गीकरण गरिएको थियो जनआन्दोलनपछिको ५ वर्षमा नेपालमा चार हजार ४५१ बन्द तथा हड्तालका कार्यक्रम भएका थिए । तराईमा ५५ प्रतिशत र पूर्वी क्षेत्रमा ३२ प्रतिशत बन्द–हड्तालका कार्यक्रम भएका थिए ।

उद्योग वाणिज्य संघको प्रदेशस्तरीय नेतृत्व समालेका उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष गौतमले बन्दको असर र मनौवैज्ञानिक त्रासलाई निश्चित पैसामा तुलना गरेर भन्न कठिन भए पनि एक दिनको बन्दले व्यावसायिक क्षेत्रमा अरबौंको नोक्सानी हुने बताए । उनले दलका राजनीतिक असन्तुष्टिहरु भए पनि सम्बन्धित निकायमा घेराउ र तालाबन्दी गरेर बन्दको विकल्प खोज्न सकिने विचार राखे । कुनै पनि माग पूरा गर्न बन्द नै गर्नुपर्छ भन्ने सोच नै गलत भएको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गौतमले बताए ।

पछिल्लो समयमा बन्द हडतालको कार्यक्रममा केही कमी आएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराईले बताए । उनले सर्वसाधारणको जनजीवनमा असर नपर्ने गरी राजनीतिक दलहरुले बन्दको विकल्प खोज्नुपर्छ । उनले एक दिनको बन्दले बिक्रीका लागि तयार गरिएका सामग्रीहरु जस्तै तरकारी, दूध, तयारी चल्लालगायतका क्षेत्रहरुमा ठूलो असर पर्ने बताए । एक दिनको बन्दले यत्ति नै नोक्सान हुन्छ भनेर भन्न नसकिए पनि बन्द गर्ने परम्पराले व्यापार व्यवसाय तथा आर्थिक विकासमा राम्रो नगर्ने डा. भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker