गोरखा र लम्जुङ जोड्ने सडक छ वर्ष देखि अलपत्र

गोरखा र लम्जुङ जोड्ने रणनीतिक महत्वको पन्थडिही कटहरे हर्मी सडक स्तरोन्नतीको काम बिगत छ बर्षदेखि अलपत्र छ । २०६९ असार २१ मा ठेक्का लगाइएको सो सडकको स्तरोन्नतीको काम अहिलेसम्म अलपत्र रहेको स्थानीय कृष्ण मरहट्टाले जानकारी दिए । महालक्ष्मी प्यासाफिक नाना जेभी कम्पनीले डेढ बर्षमा सक्ने गरी दुई करोड ४० लाख रुपियाँमा ठेक्का सम्झौता गरेका थिए । ‘ग्राभेल र बिभिन्न संरचनाको काम गर्न ठेक्का लगाइएको हो’, गोरखास्थित सडक योजना कार्यालयका सब इञ्जिनियर रेयोन फुयाँलले भने, ‘कामको अवधि २०७० कात्तिकमा समय अवधि सकिएको हो ।

अहिलेसम्म म्याद थपिएको पनि छैन । काम भएको पनि छैन ।’
आठ किलोमिटर सो सडक खण्डको ६७ प्रतिशत काम सकिएपछि ठप्प अबस्थामा रहेको कार्यालयले जनाएको छ ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफ्नो गाउँ हुदै लम्जुङको दूधपोखरी जोड्ने उद्देश्यका साथ छ करोड रुपियाँ खर्च गरेर काम सुरु गरिएको स्थानीय मरहट्टा बताउँछन् । स्तरोन्नतीका लागि फेरि अढाइ करोड बजेट परेको थियो ।
‘तर अहिलेसम्म न काम भएको छ, न ठेकेदारलाई कारबाही भएको छ’, उनी भन्छन्, ‘यो काम भयो भने एडिबीको अर्को काम सुरु गर्ने तयारी थियो तर यसले अर्को प्रोजेक्टको काम सुरु गर्न पनि रोक्यो ।’ सो सडक स्तरोन्नती भएमा लम्जुङको गौडा, दूधपोखरी, प्याराजुङका बासिन्दालाई पनि पृथ्वीराजमार्गमा जोडिन सहज हुने उनले बताए ।
सडक स्तरोन्नती भएमा पालुङ्टार नगरपालिकाको वडा नं. १ र २ तथा सिरानचोक गाउँपालिकाको वडा नं. २ र ३ का बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker