कसले चासाे दिने फूलमायाकाे घर बनाउन, कहिले पाउने दाेश्राे किस्ता ?

आफ्नो उमेर कति भयो भनेर स्पष्टसंग बताउन सक्दिनन फूलमाया । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ आहालेवर्रामा बस्छिन फूलमाया परियार । २०७२ साल बैशाखको भूकम्पले घर भत्किएपछि बाँसको चिमले बारेर बनाएको सानो टहरामा बसिरहेकी छिन । पहिलो किस्ता बापतको रकम ५०,००० पाएर सानो २ कोठे घरको डि.पि.सि. मात्र गरेर छोडेको पनि महिनौं भइसक्यो । इन्जिनियर आएर हेरेर गएको पनि थुप्रै भयो । आफूसंगै का अरुको दोश्रो किस्ता पनि आयो रे, ठूलाबडाहरुको त घर नै नबनाएकाहरुको पनि पहिलो दोश्रो किस्ता पनि पाए रे । खै मेरो त सम्पतिको नाउँमा एउटी छोरी थिइ, मनकामनामा एउटा पसलमा काम गरेर कहिलेकाही अलिअलि नुनतेल खाने पैसा पठाउने गर्थी, त्यो पनि सहन नसकेर होला दैवको खेलमा परी साउन ८ गते, श्रीमानको सिलाईबाट खासै कमाइ हुँदैन, छोरो २ कक्षामा पढछ । भक्कानिदै आफ्नो व्यथा पोख्छिन उनी । राम्रोसंग बोल्न पनि डराउँदै बोल्ने उनी स्थानीय स्तरमा भारी बोकेर बिहान बेलुका हातमुख जोर्छिन । धेरैजसो घरदेखि २० मिनेट पर रहेको बिरुवाटार बजारमा आएर एउटा हार्डवयर पसलमा सिमेन्ट बोकेर अलिअलि पैसा जम्मा गरेर त्यही पैसाबाट विहान बेलुकाको छाक टर्छ उनको । कहिले काहीं त घरमै आगो बल्दैन भन्छन उनका छिमेकी प्रबासबावु परियार ।

भूकम्पको बाँकी किस्ता पाए घर बनाउने काम सकाएर आफ्नै घरमा बस्ने रहर भएको बताउँछिन उनी । वर्षामा पानी चुहिन्छ, छडके पानी आउँदा बाँसको कप्टेराहरुबाट भित्र छिरेर सुत्न नसकिने हुन्छ । छिटै घर बनाउन भूकम्पको दोश्रो किस्ता पाइन, ऋण कसैले पत्याउँदैनन । किस्ता आयो भने पनि घर बनाएर भ्याउन पुग्दैन के गर्ने ? उनको चिन्ता छ । कसैले ऋण पत्याए चांडै नै घर सकेर बस्न मन थियो भन्छिन उनी । ३ वटा वर्षा यसरी नै आसै आसमा वित्यो यो वर्षा चाहिँ सकस काटन पर्दैन कि भनेको झन अहिले दैवले अर्को चोट थपिदिए । अव यो जिन्दगीमा मेरो केही काम छैन कि जस्तो लाग्न थालिसक्यो भन्दै कुरा गर्दागर्दै रुन्छिन फूलमाया । धेरै यस्ता फूलमायाहरु छन भूकम्प पछि, ती फूलमायाहरुको पीडा बुझ्ने कसले । न त जनतालाई भर्याङ बनाएर जनप्रतिनिधीले बुझ्छन फूलमायाको कुरा न त बुझ्छन तीनै फूलमायाले तिरेको करबाट बाँचेका ती लाचार कर्मचारीहरुले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker