
तनहुँको नयाँपुलबट गोरखाको पालुङटार च्याङली जोडने पक्की पुलबाट आजदेखि ठूला सवारी साधनहरु गुडन पाउने भएका छन । २०७२ सालदेखी निर्माण शुरु भएको सो पुलको निर्माणसम्वन्धी सम्पूर्ण काम सकिएपछि आज विहान पुलनिर्माण कम्पनी सपना कन्स्ट्रक्सनका इन्जिनियर विसर्जन वर्तौला र कामधेनु गाइ फार्मका सञ्चालक राजीवराज पन्तले संयुक्त रुपमा पूजापाठ गरी सवारी साधनहरु आवतजावत गर्न खुल्ला गरिएको छ । नेपाल सरकारको कूल १४ करोड ९५ लाख लागतमा निर्मित सो पुलबाट ठूला सवारी साधनहरु आवतजावत गर्ने भएसंगै पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीसहित धुवाँकोट, गाइखुर, मिरकोट लगायतका क्षेत्रहरुमा विकासको बाटो खुल्ला भएको स्थानीयहरु बताउँछन् । पुल निर्माणको लागी सपना निर्माण सेवाले २०६९ साल असार २८ गते सम्झौता गरेको थियो भने स्थानीय रुपमा विवाद आएपछि काम रोकिएको थियो । पछि २०७२ जेठ ३० गतेबाट काम शुरु गरी निर्धारित समय अर्थात २०७५ असार मसान्त मै काम सकिएको निर्माण कम्पनीका इन्जिनियर बर्तौलाले बताउनुभयो । ६०मिटर स्टिल ट्रस र ४० मिटर आ.सि.सी. गरी बनाइएको यस कम्पोजिट व्रिजको क्षमता २ सय पचास टन रहेको समेत इन्जिनियर बर्तौलाले बताउनुभयो । सडक डिभिजन कार्यालय दमौलीको ठेक्कामा पुल निर्माण सम्पन्न भएको हो ।