आँबुखैरेनीको वजेट २८ करोड ११ लाख

 

तनहुँ समाचारदाता

तनहुँ , असार २७ गते । आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को कुल २८ करोड ११ लाख ४९ हजार बजेट सार्वजनिक गरेको छ । वित्तीय समानीकरण अनुदान ७ करोड ७९ लाख, राजश्व बाँडफाँड ५ करोड ६० लाख २० हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड १३ लाख ७८ हजार, आन्तरिक स्रोत परिचालन १ करोड २० लाख, संघीय सरकारको सशर्त अनुदान ११ करोड ४६ लाख गरी कुल २७ करोड १८ लाख ९८ हजार र ९२ लाख ५१ हजार घाटा हुने गरी बजेट सार्वजनिक गरेको  छ । घाटा पूर्ति गर्न आन्तरिक स्रोत परिचालन गर्ने गाउँपालिकाले जनाएको छ ।

सशर्त खर्चतर्फ नवीकरणीय उर्जामा १३ लाख ९१ हजार, कृषि, पशु र सहकारी क्षेत्रमा २१ लाख २९ हजार, वातावरण तथा सरसफाईका लागि ३ लाख ५० हजार, महिला तथा बालबालिका समाज कल्याणका लागि ७ लाख ३४ हजार, शिक्षा क्षेत्रको विकासका लागि ९ करोड ९० लाख १६ हजार र स्वास्थ्य क्षेत्रका लागि १ करोड ८ लाख ० हजार गरी कुल ११ करोड ४६ लाख बजेट विनीयोजन गरिएको आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिनु भयो । उपाध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिकाले पूर्वाधार विकास क्षेत्र अन्तर्गत स्थानीय सडक तथा पुल निर्माणमा १ करोड ९७ लाख, सिंचाईमा १० लाख ५० हजार, भवन तथा शहरी विकासतर्फ ४६ लाख गरी कुल ३ करोड ६ लाख बजेट विनीयोजन गरेको छ । आर्थिक विकास अन्तर्गत कृषि तथा पशु विकास कार्यक्रमतर्फ ८५ लाख ९१ हजार ७ सय, सहकारीतर्फ २१ लाख ७५ हजार, पर्यटन क्षेत्रमा ६६ लाख गरी कुल १ करोड ७३ लाख ६६ हजार ७ सय विनीयोजन गरिएको छ । सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण गरी ३ करोड २० लाख ११ हजार ३ सय विनीयोजन गरिएको छ ।

त्यस्तै वातावरण तथा विपद व्यवस्थापनका लागि १ करोड ६० लाख ३५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन विकास तर्फ कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन, आवधिक योजना निर्माण, सूचना प्रविधि, भैपरी कोष र अन्य विभिन्न कार्यक्रम गरी कुल ५ करोड ८९ लाख बजेट विनीयोजन गरिएको उपाध्यक्ष श्रेष्ठले बताइन् । पदाधिकारीहरुको पारिश्रमिक र सुविधा तर्फ ५४ लाख ३६ हजार विनीयोजन गरिएको उनले बताइन् ।

बजेट सार्वजनिकीकरण कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले हालै उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै श्रेष्ठले विकासमा राजनीति गर्न नहुने बताउनु भयो । विकासमा यो पार्टी त्यो पार्टी नभनौँ, विकास र समृद्धिका लागि एक भएर अघि बढौँ, श्रेष्ठले भन्नु भयो ।

समृद्ध आँबुखैरेनी बनाउने आँबुखैरेनीबासीको अभियानमा आफ्नो साथ र सहयोग रहने सांसद श्रेष्ठले प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अधिकांश बजेटहरु केन्द्र सरकारले आफैँसँग राखेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । सङ्घिय मन्त्रीलाई रिझाउनेले मात्रै केन्द्रको बजेट पाउने हो ? न्यौपानेले प्रश्न गर्नु भयो । स्थानीय तहमा जनशक्तिको अभाव हुँदा काम गर्न कठिनाई भएको नगर प्रमुख न्यौपानेको गुनासो थियो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले विकास निर्माणका क्रममा कसैले अवरोध गरे कार्वाही गर्ने चेतावनी दिए । स्थानीय तहहरुलाई लक्षित वर्गको बजेट समेत बाटो खन्नमा खर्च गरेको आरोप लागेको बताउदै शर्माले महिला, कृषि लगायतका क्षेत्रलाई छुट्याएको बजेट बाटो खन्नमा खर्च नगर्न सुझाव दिनु भयो । जनतालाई छिटो र सहज ढङ्गबाट सेवा दिन समेत आग्रह गर्नु भयो । जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रादेवी पौडेलले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।

सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले समृद्ध आँबुखैरेनी बनाउने अभियानमा अर्जुन दृष्टिका साथ अघि बढ्ने बताउनु भयो । राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा रही गाउँपालिकाबासीको हितलाई ध्यानमा राखी काम गर्ने उनको भनाई थियो । आँबुखैरेनी गापा घाटाको बजेट प्रस्तुत गर्न बाध्य भएको भन्दै केन्द्र सरकारबाट बजेट ल्याइदिन प्रतिनिधि सभा सदस्य श्रेष्ठसँग आग्रह गर्नु भयो । अत्यन्त पारदर्शी ढङ्गले खुला हृदयका साथ सबैलाई समेटेर अघि बढ्ने अध्यक्ष थापाले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापा, शाखा अधिकृत कृपाहरि लौडारीले वरिष्ठ पत्रकार गोविन्दराज अधिकारी, आँबुखैरेनी ४ का नेत्र गुरुङ्ग, लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष रत्नकुमार श्रेष्ठ, सम्झना विक, प्रेम गुरुङ्ग, ऋषि केसी लगायतले बजेटको पूर्ण कार्यान्वयनमा जोड दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker