युवा प्रतिभा पहिचान अन्तर्गत समृद्ध नेपाल खुशी नेपाली अभियानमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता तथा जिल्ला स्तरीय युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम सम्पन्न

जिल्ला युवा समिति तनहुँको आयोजनामा युवा प्रतिभा पहिचान अन्तर्गत समृद्ध नेपाल खुशी नेपाली अभियानमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता तथा जिल्ला स्तरीय युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम बुधबार दमौलीमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सत्यवती माविकी अतिथि भण्डारी प्रथम, निर्मल माविकी सुस्मिता चौधरी द्वितीय, आदिकवि भानुभक्त क्याम्पसकी सुनिता विक र निर्मल माविका विकास रानाभाट सान्त्वना भएका छन् । क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने सहभागीलाई ६ हजार, ४ हजार, ३ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ७ जनाको सहभागिता रहेको थियो । यस अघि उक्त कार्यक्रमको प्रदेश नं.४ का सांसद आशा कोइरालाले उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद कोइरालाले राष्ट्रले युवाहरुलाई उपयुक्त वातावरण सिर्जना गर्न नसक्दा विदेशमा पसिना चुहाउन बाध्य भएको बताइन् । युवालाई स्वदेश फर्काउने वातावरण तयार गर्नुपर्नेमा उनको जोड छ । “जनताको हक अधिकारका लागि बनेका कानुन, राष्ट्रको विकासका लागि बनेका नीति तथा कार्यक्रम गर भनेर दवाव दिने कार्य युवाको भएको हो,” उनले भनिन् । संघीय सरकार र प्रदेश सरकार युवाको पक्षमा रहेकोले युवाले संविधानले तय गरेको अधिकार कार्यान्वयन गर्न दवाव दिनुपर्ने उनले बताइन् । युवा देशको शक्ति भएकाले युवाले दिएको दवावले छिटो विकास निर्माणका कार्यहरु अगाडि बढ्नुका साथै समृद्ध नेपाल बनाउन सहज हुने उनको भनाई छ । उनले रहरले विदेश जानेलाई युवा मान्न नसकिने तर बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेश फर्काउन नेतृत्व तहका राष्ट्रका अग्रजहरुले सोच्नुपर्ने बतइन् । उक्त कार्यक्रममा वेमौसमी खेतीमा उत्कृष्ट चुदी कृषक समूह, खेलकुदमा उत्कृष्ट कर्ण गुरुङ्ग, उद्यमतर्फ निखिल ढाका उद्योगका प्रोप्राइटर विष्णुकुमार चौधरी लगायतलाई नगद ७÷७ हजार नगदका साथै प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । जिल्ला युवा समिति तनहुँका अध्यक्ष युवराज आले मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक तालिम केन्द्र तनहुँका प्रमुख विष्णु नारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका मदन आले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले युवाको प्रतिभा प्रस्फुटनका लागि सरोकारवालाहरुले चासो दिनुपर्नेमा जोड दिएका थिए । उक्त प्रतियोगिताको निर्णायकमा धु्रवराज सिग्देल, हुतमणि अधिकारी रहेका थिए । जिल्ला युवा समिति तनहुँको कार्यालय प्रमुख नेपालहरी रानाभाटले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यालयका श्रीराम वाग्लेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker