अनशन बस्न जुम्ला पुगेका डा. केसी पक्राउ

असार १६, २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्नका लागि जुम्ला पुगेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । आज अनशन बस्न जुम्ला पुगेका डा. केसीलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रहरीले पक्राउ गरेको हो । अनशन बस्नु अघि प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि जाँदै गर्दा टुँडीखेलको माथिल्लो गेट नजिकैबाट डा.केसीलाई प्रहरीले रोकेको थियो । शनिबार देखि अनशन बस्नका लागि जुम्ला पुगेका वरिष्ठ चिकित्सक डा. केसीको अनशनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको थियो । अनशन सुरु नहुँदै अस्पताल अवलोकनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदै गर्दा बाटोमै प्रहरीले रोकेपछि डा. केसी जिल्ला प्रशासन कार्यालय तर्फ गएका थिए ।  प्रशासन कार्यालय अघि उहाँका समर्थकहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लाठी प्रहार गरेको थियो भने डा.केसीलाई पक्राउ गरेको छ । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशन बस्न थालेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौ पछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको पनि अनसनको विषय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker