सञ्चालनको पर्खाइमा धारापानीको तामा खानी

 

अमरराज नहर्की

धारापानी , गोरखा

 

गोरखाको पालुङटार नगरपालिका–८ धारापानी स्थित तामा खानी ८० वर्ष अघि देखि बन्द हुन पुगेको छ । लामो समय देखि बन्द अवस्थामा रहेपनि त्यसलाई सञ्चालन गर्न सरकारको ध्यान पुगेको छैन । बन्द हुन पुगेको सो तामा खानी सञ्चालन गर्नु पर्ने माग स्थानीय वासिन्दाहरुको रहेको छ ।

तामा खानीको पुन सञ्चालन गर्नको लागि सो वडाले पहल गरिरहेको छ । ८० वर्ष भन्दा अघि देखि बन्द भएको र त्यसको अनुसन्धान गरी सञ्चालनको लागि धेरै वजेट आवश्यक भएकोले वडाले तामा खानी सञ्चालन गर्न नसकेको वडाध्यक्ष शङ्करराज कँडेलले जानकारी दिनु भयो । तामा खानी सञ्चालनको लागि प्रदेश तथा सङ्घीय सरकारलाई ध्यान आर्कषण गर्न प्रसार÷प्रसार गर्न यो वर्ष ५० हजार रुपैयाँ वजेट विनियोजन गरेको र आगामी वर्ष पनि वजेट व्यवस्था गर्न लागिएको वडाध्यक्ष कँडेले जानकारी दिनु भयो ।

स्थानीय वासिन्दा ६५ वर्षिय धनबहादुर नहर्की क्षेत्री आफ्नो बुवाले त्यहाँबाट तामा निकालेर प्रशोधन गरी तामाको भाडाहरु बनाएको जानकारी दिनु भयो । तामा खानी साविक धुँवाकोट गाविसमा पर्ने र त्यहाँ धारापानीको जङ्गलबाट निकालेको तामालाई आगोले गालेर तामा बनाउने क्रममा धेरै धुँवा निस्किएकोले गाविसको नाम नै धुवाकोट रहेको वडाध्यक्ष कँडेल बताउनु हुन्छ । तामा खानी सञ्चालन गर्न सके पालुङटार क्षेत्रको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा समेत ठुलो योगदान दिन सक्ने हुँदा , प्रदेश तथा सङ्घिय सरकारले आवश्यक अनुसन्धान गरी सञ्चालन गर्न ध्यान दिनु पर्ने वडाध्यक्ष कँडेलको माग छ । स्थानीय वासिन्दा ७० वर्षिय पदमनाराएण श्रेष्ठ यहीको तामा खानीबाट गाग्री , ताउलो , स्थानीय मन्दिरहरुमा छाना बनाउन प्रयोग गर्ने गरिएको जानकारी दिनु भयो ।  श्रेष्ठ तामा खानी भए पनि सञ्चालन गर्न सरकारले चासो नदिँदा दुःख लागेको बताउनु हुन्छ । ‘यहाँका युवाहरु रोजगारीको लागि विदेश जानु परेको तामा खानी  सञ्चालन गर्ने हो भने विदेशको भन्दा धेरै कमाई यही हुन्छ  ’श्रेष्ठले भन्नु भयो । तामा खानी रहेको स्थलमा बस्ती समेत पातलो रहेको छ । मोटरबाटोको व्यवस्था नहुँदा वेसी झर्ने क्रममा तिब्रता भएको छ । पालुङटारको च्याङ्लीबाट १ घण्टा उकालो पैदलबाटो हिंडेपछि तामा खानी भएको जङ्गलमा पुग्न सकिन्छ । तामा खानीको बारेमा जानकारी दिन सो वडाले तामा खानी भएकै स्थलमा शनिबार पत्रकार सम्मेलन  गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker