अन्तिम विदाइ, प्रिय उपेन्द्र!
आज अन्तिम पटक तिम्रो भौतिक शरीरसंग विदा लिंदा मेरा मनमष्तिष्कमा हामी दुवै जना १० देखि १८ वर्षको किशोरावस्थामा सहपाठी हुँदाका अत्यन्त भावमय अनुभूतिहरूको स्मरण गरिरहेछु! तिमी जस्तो मेधावी र बहुप्रतिभासम्पन्न सहपाठीसंगको प्रतिस्पर्धापूर्ण सहकार्य र सहयात्राले आफ्नो जीवनमा ठुलो योगदान पुर्याएकोमा गर्वको अनुभूति गर्दैछु! तिमीप्रति अन्तरहृदयैदेखि कृतज्ञता व्यक्त गर्दछु!
हाम्रो सम्बन्धवारे थुप्रै सार्वजनिक जिज्ञासा र चासो ( केही भ्रम पनि!) रहे पनि त्यसले हामी दुवैको विकासमा र अन्तत: देश र समाजको उन्नतिमा सकारात्मक योगदान पुर्याएको मान्दछु। हाम्रो स्वस्थ प्रतिस्पर्धा एक अर्कालाई तल तान्ने भन्दा पनि एक अर्का भन्दा अघि बढ्ने वा माथि उठ्ने प्रकृतिको थियो र त्यसैले सबैलाई लाभ पुर्याएको थियो भन्ने ठान्दछु! यसवारे कसैले थप अनुमानको खेती नगरून् भन्ने पनि आग्रह गर्दछु!
तिम्रो जीवन अत्यन्त सफल छ! तिमी अमर भएका छौ! एउटा मान्छेको छोटो जीवन कालखण्डमा समाज, देश र मानवजातिलाई गर्नुपर्ने र गर्नसक्ने काम तिमीले गरेकाछौ! तिम्रो सहपाठी र समकालीन सहयात्रीहरू सबै तिमी प्रति गौरवान्वित छौं,आभारी छौं, ऋणी छौं! तिम्रो जय होस्!!
Dr. Baburam Bhattarai