धुर्वे : ‘लादेन’, ‘रावण’ कि ‘रोमियो’ ?

काठमाडौं, ११ बैशाख ।

८ वर्षअघि धुर्वे हात्ती चितवन राष्ट्रिय निकुञ्जका सिमित पात्रले चिनेको आम हात्तीजस्तै एक भाले हात्ती थियो । विस्तारै उसलाई चितवन राष्ट्रिय निकुञ्ज नजिकको माडीका वासिन्दाले पनि चिन्न थाले । स्थानीयको नजरमा धुर्वे चर्चामा आउनुको खास खारण थियो, उसको उदण्ड स्वभाव । रिसाहा धुर्वेले आफ्नो वस्ती आसपासका मान्छेलाई तर्साउन थालिसकेको थियो । केहीको ज्यानै लिएपछि उप्रति मान्छेको हेराई सकारात्मक बन्न सकेन ।

०६९ मा आइपुग्दा त धुर्वे एकाएक ‘सेलेब्रिटी’  बन्यो । अब उसको चर्चा माडि र निकुञ्जभित्रमात्रै होइन चितवनभर भयो । चितवनमामात्रै पनि होइन, देशभर भयो । अझै उसले यतिसम्म हर्कत गर्यो कि चर्चा विश्वभर नै भयो । विश्वका चर्चित टेलिभिजनमा उसको उदण्डका समाचार सार्वजनिक भए ।

धुर्वेले कतिको लियो ज्यान
०६६– १ जना
०६७– ३ जना
०६८– २ जना
०६९– १० जना
जम्मा : १५ जना

धुर्वेको आक्रमणबाट मारिनेहरु नेपाल र भारतका छन् ।  धुर्वेले नेपाल र भारतको जंगललाई आश्रयस्थल बनाउँदै आएको छ । त्यसो त चितवन राष्ट्रिय निकुञ्जमा रहेका सबै जंगली हात्ती भारतसम्म पुगेकै हुन्छन् । धुर्वेले चितवनको माडीमा ६ जना, मेघौलीमा २ जना, कसरामा १ जना, बाराको रुपही र कोवीमा ४ जना  तथा भारतमा २ जनाको ज्यान लिएको हो । धुर्वेले दुवै देशका सयौं नागरिकका घर ध्वस्त पारेको छ । उसले सौराहाको टाइगर टप्स होटलको शमशेरगंज हात्ती पनि मारिदिएको छ ।

कसरी चर्चामा आयो ?
६ वर्षअघिसम्म धुर्वेको सर्वत्र चर्चा थिएन । ०६९ मा चितवनको माडीमा जब एक दम्पत्तीलाई आक्रमण गरेर मारिदियो तब चितवनदेखि राजधानी काठमाडौंसम्म धुर्वे  समाचार ‘हेडलाइन’ भयो । उ चर्चामा छायो । त्यतिखेर धुर्वेले दर्जनौ घर पनि ध्वस्त पारेको थियो  । एकपछि अर्को व्यक्तिको हत्या, घरमाथि आक्रमण, निकुञ्जको सुरक्षामा राखिएको हात्तीमाथि नै आक्रमण गरेर घाइते बनाउन थालेपछि उसलाई ‘अतंककारी विन लादेन’को रुपमा हेर्न थालियो । उसले चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका चितवन, वारा, पर्सालगायत भारतमासमेत आतंक मच्चाएर ठूलो जनधानको क्षति पुर्यायो । आफ्नो अगाडी जे देख्यो त्यसैमाथि आक्रमण गर्ने उसको स्वभाव आतंककारी शैलीकै थियो । त्यसैले त ०६९ मा राष्ट्रिय मिडियामा एक महिनासम्म समाचार हेडलाईन बन्यो धुर्वे ।

धुर्वेविरुद्ध सडक आन्दोलनदेखि मार्न सेना परिचालन
धुर्वेको आतंकले आजित भएका माडीवासी विरोधमा सडकमा ओर्लिए । धुर्वेलाई मार्नुपर्ने नारा घन्काए । धुर्वे पीडित माडीवासीको आवाजमा साथ दिए स्थानीय राजनीतिक दलले पनि । धुर्वे मार्न भन्दै चितवन बन्दको घोषणासमेत भयो । धुर्वेले मारेको व्यक्तिको शव सडकमै राखेर चितवनवासी आन्दोलनमा उत्रिए । प्रशासनले माग पूरा नगरेको भन्दै आन्दोलनकारीले माडीमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गतका रहेका चारवटा उपभोक्ता समितिका कार्यालयका  काजगात जलाइदिएका थिए । कार्यालयका फर्निचर, दुईवटा साइकल र दराजमा भएका कागजात बाहिर निकालेर जलाइएको थियो । उपभोक्ता समितिको कार्यालयमा रहेको एक लाख ५० हजार नगद रकम पनि जलेको थियो । इलाका प्रहरी चौकीमै आक्रमण भएको थियो ।

अन्ततः राज्यतहबाटै धुर्वेलाई मार्ने निर्णय भयो । निकुञ्जमा प्रहरीमात्रै होइन एक ट्रक सेना नै परिचालन गरियो । कयौं दिनसम्म सेनाले धुर्वेलाई खोजे, तर भेटेनन् । एक ट्रक नेपाली सेनाको टोलीसहित प्रहरी र निकुञ्जको प्राविधिक टोली धुर्वेलाई ‘जहाँ भेट्यो त्यहीँ मार्ने’ आदेशसहित परिचालित भएको थियो । तर, धुर्वेलाई सिध्याउन कसैको पिताम चलेन । धुर्वेलाई भेट्टाउनै गाह्रो भयो, भेटिहाले पनि क्षणभरमै लापत्ता हुन्थ्यो । चलाख उसले सुरक्षाकर्मीका दर्जनौं गोली छल्यो र भागेर जोगियो ।

धुर्वेको बैंश खन्याउन पोथी हात्ती पठाइयो
अतंक बढाउँदै गएपछि ०६९ मा जब धुर्वेलाई मार्ने योजना बने, त्यति नै बेला बहस बिभिन्न कोणबाट आमएका थिए । कतिपयले उसलाई मार्न नहुने तर्क गरे । धुर्वे बैंशले उन्मत्त भएको र उसको बैंश खन्याउन पोथी हात्ती व्यवस्था गरिदिनुपर्ने आवाज उठाउने मान्छे कम थिएनन् । कतिपयले उसलाई ‘रोमियो’को संज्ञा दिए । पागल प्रेमीलाई ठेगानमा ल्याउन पोथी व्यवस्था गरिदिनुपर्ने माग राखे । निकुञ्जले धुर्वेका लागि यो पनि व्यवस्था गरिदियो । राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि पालिएका चारवटा पोथी हात्ती धुर्वेको ‘यौन प्यास’ मेटाउन पठाइए । तर, धुर्वे लोभिएन । प्रशासनको रणनीति त यस्तो थियो कि पोथीमा लोभिएपछि उसलाई सिध्याइदिने । तर, पोथीमासमेत नलोभिएको उसलाई पछि कतिपयले भने, ‘के को रोमियो हुनु, वौलाएको हो ।’

धुर्वेले जब भगायो तिर्थमान कलीलाई ?
०६९ मा केही महिनासम्म आतंक मच्चाएपछि एकाएक गायव भएको धुर्वे फेरि चर्चामा आएको छ । बैशाख १ गते धुर्वेले सबैलाई चकित पर्ने काम गर्यो । उसले खुसीभार पोष्टमा  निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती तिर्थमान कलीलाई ‘अपहरण’ गरेर लग्यो । बाँधेको साङ्लो चुँडाएर तिर्थमान कलीलाई लगेको घटनापछि धुर्वे चर्चामा आएको छ । त्यहाँ संगै रहेको भाले हात्ती पारसगजलाई आक्रमण गरी घाइते बनाएर उसले राति साढे २ बजे तिर्थमान कलीलाई लगेको हो । धुर्वेको यो चालालाई अहिले कतिपयले ‘रावण’सँग दाँज्न थालेका छन् । रामकी पत्नी सीतालाई रावणले हरेको रामायणको कथासँग धुर्वेले तिर्थमान कलीलाई हरेको घटना तुलना गर्न थालेका छन् ।

यतिमात्रै होइन धुर्वेले फेरि उदण्ड पनि मच्चाउन थालेको छ । उसले तिर्थमान कलीलाई लगेको केही दिनपछि अर्थात गत शनिवार खड्गौली क्षेत्रमा केही घरहरु भत्काइदिएको छ ।

निकुञ्ज ‘पर्ख र हेर’को रणनीतिमा 
पाँचवर्षपछि फर्किएको धु्रवे हात्तीले तिर्थमान कलीलाई भगाउँदासम्म पनि धेरैको आलोचना थिएन । सुध्रिएर आएको धेरैले अनुमान गरेका थिए । तर, त्यसको केही दिनमै भरतपुर–२३ ख्गौलीमा पाँचवटा घर भत्काएपछि धुर्वे नसुध्रिएको भन्दै मार्नका लागि फेरि प्रदर्शन हुन थालेको छ । शनिबार राति ११ बजे रामबहादुर दरै, शान्तबहादुर बरै, बुद्धिराम दरै, मायाराम दरै, मगरा दरै लगायत स्थानीयको घर भत्काइदिएको छ । निकुञ्ज प्रशासन भने धुर्वेको व्यवहार हेरेर मात्रै मार्ने कि के गर्ने भन्ने रणनीतिमा लागेको छ ।

कसरी रह्यो धुर्वेको नाम ?
राजतन्त्र रहँदासम्म चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रमा जन्मने हात्तीको नाम राजपरिवारका सदस्यको नामबाट राख्ने चलन थियो । राजा महेन्द्रदेखि पारससम्मका नामबाट हात्तीका नाम राखिएका थिए । तर, राजतन्त्र हटेपछि भने हात्तीको नाम राख्ने परम्परा टुट्यो ।

घरमा पाल्नेबाहेक करिब ५० वटा जंगली हात्ती रहेको अनुमान गरिन्छ, निकुञ्जमा । धुर्वे हात्ती समूहभन्दा बढी एक्लै हिँड्ने र अरू हात्तीभन्दा बढी ठूलो आकारको छ । विशेषगरी निकुञ्ज तथा निकुञ्ज आसपासका पोथी हात्तीसँग संसर्गका लागि निकुञ्जबाहिर आइरहने यो हात्तीले ०६६ देखि नै आफ्नो छुट्टै पहिचान बनाइसकेको थियो । ठूलो आकारको रहेकाले यो हात्तीबाट गर्भिणी हुने हात्तीले राम्रो बच्चा जन्माउने विश्वास गरिँदै आएको थियो ।

यो हात्तीको नाम सुरूमा ‘रिद्धिवीर’  थियो । पछि यसले ‘भ्यालेन्टिनो’ उपनाम पायो । पछि यो हात्तीले निकुञ्जको मुख्य कार्यालय कसरानजिकै निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान धुर्व श्रेष्ठको ज्यान लिएपछि यसलाई ‘धु्रवे’ भन्न थालिएको हो । न्युजसेवाबाट साभार गरिएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker