नेविसंघमा विवाद चुलियोः अध्यक्ष महरविरुद्ध पाँच उपाध्यक्षको उजुरी

काठमाडौं, १० वैशाख ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विगतका गल्ती सुधार्दै पार्टीलाई एकढिक्का बनाउने बहस चलिरहेको छ । तर, यही समयमा कांग्रेसको भातृ संगठन नेविसंघमा भने आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीबाट असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदै कार्यशैली नसच्चिए समानान्तर गतिविधि गर्ने चेतावनी दिएको छ ।

सोमबार नै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले विरोध प्रदर्शन पनि गर्दैछ ।

नेविसंघका उपाध्यक्षहरु प्रकाश राना, खड्कबहादुर डाँगी, उर्मिला थपलिया, नवीन राई र सागर परियारले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र लेख्दै नेविसंघको १२ औं महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् । साथै अध्यक्ष नैनसिंह महरले गरेका अवैधानिक कार्य खारेज गर्न र नेविसंघलाई सहमतिका साथ अघि बढाउन माग गरिएको छ ।

यी मागहरु २४ घण्टाभित्र पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

हेर्नुहोस् पार्टी सभापति शेरबहादुर देउवालाई पठाइएको ध्यानाकर्षण पत्र

महरले महाधिवेशनको २० महिनासम्म विवादित ११ जिल्लाको अधिवेशन नगरेको र संगठनलाई स्वेच्छाचारी ढंगले सञ्चालन गरेको आरोप लाग्दै आएको छ । विवादित कास्की लगायतका जिल्लामा तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने भए पनि नेविसंघ अध्यक्ष महरले त्यसको बेवास्ता गरेको असन्तुष्ट पक्षको आरोप छ ।

कतिपय जिल्लामा मनोमानी ढंगले पत्र पठाउँदै प्रतिनिधि तोक्ने र केन्द्रीय समितिमा आफूखुसी मनोनित गर्ने आरोप पनि अध्यक्ष महरलाई लाग्दै आएको छ ।

नेपाल विद्यार्थी संघ जस्तो ऐतिहासिक र लोकतान्त्रिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाइएको कार्य मान्य नहुने पार्टी सभापति देउवालाई पाँच उपाध्यक्षले लेखेको ध्यानाकर्षण पत्रमा छ ।

यसअघि गत पुस महिनामा पनि नेविसंघ अध्यक्ष महरको कार्यशैली सच्याउन माग गर्दै नेविसंघको असन्तुष्ट पक्षले सभापति देउवासमक्ष माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker