​इनसाइड स्टोरी : दलितलाई नै चल्दैन दलितले छोएको पानी !

बझाङ, ७ बैशाख ।

बझाङ सदरमुकाम चैनपुरकी आशा रसाइली (सुनार) ले स्थानीय विश्वकर्मा थरका युवासँग प्रेम विवाह गरिन् । कामीसँग विवाह गरेर जात फालेको भन्दै उनका माइती आक्रोशित भए । उनीहरुले आशासँग विवाह गरेका लोकेन्द्र विकको घर तोडफोड गरे । दोहोरो झडप भयो । लोकेन्द्रका दाजुहरुसहित आशाका माइती पक्षका युवाहरु पनि घाइते भए ।

घटना प्रहरीसमक्ष पुग्दा अर्कै मोड लियो । ज्यान मार्ने उद्योग गरेको भन्दै दुवै पक्षले मुद्दा दायर गरे । दुवै पक्षका १२ जनाभन्दा बढी पक्राउ परे । लामो समयसम्म मुद्दा चल्यो । विवाह भएको ८ वर्ष पछिमात्र गत दशैंमा आशाका माइतीले यो सम्बन्ध स्विकार गरे । ‘छिमेकीहरुले तेरो छोरीले जात फाली भनेर उचालेर यस्तो घटना भएको हो,’ आशाले भनिन्, ‘ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा चलाए पनि तल्लो जातसँग विहे गरेको आक्रोसमा भएको घटना थियो यो ।’

दुई वर्षअघि बझाङ घर भई हाल कञ्चनपुरको बंकमा बसोवास गर्दै आएका रवी वादीले बंककै विश्वकर्मा थरकी एक युवतीसँग प्रेम विवाह गरे । तल्लो जातले छोरी भगाएको भनेर विक परिवारले रविकी आमा, बहिनीलगायत आफन्तहरुलाई निर्धात कुटपिट ग¥यो । घटनाको प्रत्यक्षदर्शी रविकी दिदी चैनपुरकी राधा बादीले भनिन्, ‘भाइबुहारी भागिसकेका थिए । उनिहरुलाई लुकाएको भनेर हामीलाई गर्नु नर्गनु गरे । आमाको छातीमा कुल्चिए । कुटाइ त हामी सबैले खायौं । मारिदिने धम्की दिन थालेपछि घर नै छोडेर भाग्यौं ।’

विक परिवारको डरले बंकबाट रविको परिवार नै विस्थापित भयो । हाल उनीहरु कैलाली जिल्लाको अत्तरियामा बसोबास गरिरहेको राधाले बताइन् ।

माथिका दुईवटा विवाहसँग सम्बन्धित घटना दलितभित्र रहेको छुवाछुतको अवस्था झल्काउने सानो उदाहरणमात्र हुन् । सार्वजनिक भएका यी घटनाहरुले मात्र दलितभित्र रहेको छुवाछुतको समग्र अवस्था व्याख्या गर्न सकिन्न । भुक्तभोगीहरु अहिले पनि दलितभित्रको छुवाछुतको अवस्था अत्यन्तै क्रुर रहेको बताउँछन् ।

‘कहिले पानी छोएको, कहिले भाँडा छोएको, खानेकुरा छोएको भनेर हाम्रा केटाकेटीहरुले कुटाइ नखाएको दिनै छैन,’ सदरमुकाम चैनपुरकी किथ्थी बादी भन्छिन्, ‘अवोध बच्चाहरुलाई आँखै अगाडि कुटपिट हुँदा पनि हामी केही बोल्न सक्दैनौं । बोल्यो भने हामीलाई नै कुटपिट गर्छन् ।’ उनको छिमेकमा सुनार, रसाइली, विक र दमाई जातीका दलितहरुको बसोबास छ । ‘बरु गैरदलितहरुले पहिलाको जस्तो छोइछिटो गर्न छोडिसके । दलितहरु सुध्रिएका छैनन्,’ जानु बादीले भनिन्, ‘उनीहरुमा खाएको भाँडा आफैँले धुनुपर्छ । धोएरमात्र हुँदैन । भाडा राम्रोसँग सुकेपछि गहुँत वा सुनपानी छरेर मात्र शुद्ध भएको मान्छन् । हामीलाई घरभित्र पस्न त के नजिक बस्न पनि दिदैनन् ।’

दलितभित्र पनि जातिगत तह छन् । बझाङमा दलितभित्रको सबैभन्दा ठुलो जात सुनार मानिन्छ भने सबैभन्दा तल्लो (दलितभित्रको पनि दलित) जात बादीलाई मान्ने गरिन्छ । दलितभित्रको जातीय तह यतिकैमा टुङ्गिदैन । च्याम्यां, हुड्के आदी जातलाई पनि बादीकै हाराहारीको स्थान दिइन्छ । बादी, च्याम्यां, हुड्के जातीको हातको पानी अन्य कुनै पनि दलितले खाँदैनन् ।

बादीभन्दा एक स्थान माथि दमाई जातीलाई मान्ने गरिएको छ । दलितभित्रको जातीय वर्गीकरणमा दमाईभन्दा माथि सार्कीलाई राखिएको छ भने सार्कीभन्दा माथिको स्थानमा कामीलाई राख्ने गरिन्छ । सुनार, कामी आदी जातीलाई सार्की र दमाईको हातको पानी चल्दैन भने दमाईको हातको पानी सार्कीहरुले पनि खाँदैनन् ।

‘जिल्ला भरका दलितहरुमा पनि बादी, दमाई सार्की, कामी र सुनार जातीका खानेपानीका धारा र कुवा अलग्गै छन् । एउटाको धारामा अर्काेले छोए जरिवाना तिराइन्छ,’ आफैंले पनि पटक पटक दलितभित्रैबाट छुवाछुत र भेदभावको सामना गरेको बताउने एक गैरसरकारी संस्थाका कार्यक्रम संयोजक समेत रहेका जयपृथ्वी नगरपालिकाका श्याम नेपालीले भने, ‘दलित र गैरदलितको बीचको छुवाछुतको बढी चर्चा हुने गरेको छ । दलितहरुबाटै दलितलाई भएको विभेद त्योभन्दा चर्काे छ ।’

कानुनमा दलित गैरदलित भनेर नछुट्याइएको र दलितले पनि दलितलाई भेदभाव गरेमा कारबाही गर्ने व्यवस्था रहेको भए पनि कानुनी उपचार खोज्नका लागि कोही पनि नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी क्रृषिराम कँडेलले बताए ।

न्युजसेवामा खबर छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker