कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन हुँदै, साउनदेखि नयाँ पाठ्यक्रम

काठमाडौं, ६ बैशाख ।

कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन हुने भएको छ । आउँदो साउनमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम अनुसार पढ्न पाउनेछन् । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले परिषद् गठन भएको १८ वर्षपछि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन हुन लागेको जानकारी दिए ।

उनले भने, “उच्च माध्यमिक शिक्षा परिषदले ०५५/०५६ सालतिर तयार गरेको हो । हामीले १० वर्षमा पाठ्यक्रम परिवर्तन गर्छोैँ । त्यसैअनुरुप कक्षा १० को ०७४ मा नयाँ पाठ्यक्रम लागु भइसकेको छ । अब ११ को पाठ्यक्रम परिवर्तन गर्न लागेका हौं ।”

कक्षा ११–१२ लाई पनि विद्यालय शिक्षामा समायोजन गरिएपछि केन्द्रले नै पाठ्यक्रम बनाउन लागेको हो । प्रारूप बनेपछि देशभरका सामुदायिक र निजी विद्यालयमा सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकबाट पठनपाठन गराइनेछ ।

शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको निर्देशक काप्रीले जानकारी दिए ।

कार्यकारी निर्देशक काप्रीले संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेको बताए । उनले सातवटै प्रदेश र सबै स्थानीय तहमा समान गुणस्तरको शिक्षा प्रदान गर्न पाठ्यक्रम संशोधनसहित परिमार्जन गरिने बताए ।

उनले पाठ्यक्रमको तयारी भइरहेको बताउँदै विषयविज्ञ परिचालन गरेर नयाँ पाठ्यक्रमको काम गरिरहेको बताए । केही बाहिरी साझेदारहरुसँग परामर्श लिने काम पनि गरिएको उनले जानकारी दिए ।  अबको एक दुई हप्तामा राष्ट्रिय पाठ्यक्रम प्रारुपको संरचना टुंगो लगाउने उनले बताए ।

के–के परिवर्तन हुँदैछ ?

निर्देशक काप्रीले ११ र १२ मा ऐच्छिक विषयमा परिर्वतन नभई कोर विषयहरुको पाठ्यक्रम मात्रै परिवर्तन हुन लागेको बताए ।  उनले अनिवार्य गणित र विज्ञानको भाग थपेर अहिलेको नयाँ संरचनागत नेपालको परिचय र अध्ययनमा विशेष जोड दिइने बताए ।

साथै मूल्यांकन प्रणाली, सिकाइ क्षमता विकास हुने पाठ्यक्रम लागु हुन लागेको उनले जानकारी दिए । “हामीले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेरेर नेपाली विद्यार्थी र विदेशबाट नेपाल पढ्न आउने विद्यार्थीहरु विश्वव्यापिरुपमा प्रतिस्पर्धी हुन सक्ने गरी पाठ्यक्रम परिमाजन गर्छौं,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker