नेविसंघ पाल्पाले यसरी मनायो स्थापना दिवसः कसरी भएको थियो नेविसंघको जन्म ?

पाल्पा, ६ बैशाख । 

बुधबार देशभर नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले आफ्नो ४८ ‌ओंस्थापना दिवस मनाएका छन् । देशभरका विभिन्न क्याम्पसहरुमा विद्यार्थीले आआफ्नै शैलीमा नेविसंको स्थापना दिवस मनाएका हुन् ।

यसरी देशभर आज नेविसंघकाे स्थापना दिवस मनाइरहँदा पाल्पा जिल्ला कमिटिकाे आयोजनामा पाल्पा जिल्ला अस्पतालका विरामीहरुलाइ फलफुल वितरण गरि नेविसंघ पाल्पाले आफ्नो स्थापना दिवस मनाएकाे छ ।

नेविसंघ पाल्पाले विगतका वर्षहरुमा झै यस वर्षपनि पाल्पा जिल्ला अस्पतालका विरामीहरुलाई भेटी फलफुल वितरण गरि दिवस मनाएकाे पाल्पा जिल्ला सभापति कृष्ण वहादुर आलेले खबर खुराकलाई जानकारी दिए ।

नेविसंघ पाल्पाले गरेकाे कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद विर बहादुर राना, सचिब अजयमान कर्माचार्य काँग्रेस नेता माधव नेपाल नेविसंघ केन्द्रिय सदस्य हरिवोल भट्टराई तथा जिल्लामा कृयाशिल विभिन्न तहका विद्यार्थी नेताहरुकाे उपस्थित रहेकाे थियो  ।

कसरी भएको थियो नेविसंघको जन्म ?

पञ्चायतको विरुद्धमा संघर्षरत अवस्थामा जेल परेका तरुणहरुले जेलभित्रै झण्डाको नक्सा तयार पारी २०२७ साल वैशाख ६ गते स्वयम्भु सत्तल वरिपरि भेला भएका र देशभरबाट आएका दुई सय प्रतिनिधिहरुमाझ भर्खरै जेलबाट रिहाभएका नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले सम्मेलन उद्घाटन गरेका थिए। त्यहीबाट नेपाल विद्यार्थी स‌ंघको स्थापना भएको हो ।

त्यसको भोलिपल्ट दोस्रो दिन पशुपतिको राम मन्दिरमा भएको बन्दसत्रले संगठनको घोषणा पत्र विद्यान पारित गर्दै संगठनको नाम नेपाल विद्यार्थी संघ राख्ने निधो  गरेको थियो । सो समयमा प्रहरीको ब्यापक धरपकडका बावजुद् पनि सम्मेलन सफल भएपछि गिरफ्तार गरिएका विद्यार्थीहरुलाई थुनुवा पुर्जी दिईएको थियो । तर, अदालतले विद्यार्थीहरुको पक्षमा फैसला दिए पछि सम्पूर्ण विद्यार्थीहरुलाई रिहा गर्न त्यतिबेलाको सरकार बाध्य भएको थियो ।

उता, २०२६ असार १२ मा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी युनियनको चुनाबमा प्रजातान्त्रिक पक्षका सम्पूर्ण पदाधिकारीहरु निर्वाचित भएका थिए । उक्त निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष देवेन्द्रलाल नेपाली, उपाध्यक्ष बालमकुन्द जोशी, महामन्त्री अर्जुननरसिंह केशी लगायत थिए । २३ असार २०२६ मा बसेको युनियनको बैठकले त्रि।वि।मा अध्ययनरत छात्र रामचन्द्र पौडेललाई विनाकसुर नजरवन्धमा राखेकोमा खेद प्रकट गरी उनलाई तत्काल रिहा गर्न तत्कालिन शिक्षा मन्त्री बासुदेव ढुंगानासँग माग गरेको थियो  ।

त्यसपछि ‘उत्तरी सिमानामा रहेका चेकपोष्टमा रहेका भारतीय अधिकारीहरु हटाउनु पर्छ, नवलपरासी जिल्लाको सुस्ता नेपालको हो र त्यसैले उत्तरी भागबाट बढ्दै आफ्नो सैनिक सुरक्षा र दक्षिण सिमाना रेखाङ्कन होस्’ भनि २०२६ असार २४ गते युनियनले वक्तब्य  जारी   गरेको थियो । त्यतिबेलाको सरकारले यसलाई नै अपराध ठहर्याई विद्यार्थीहरुलाई गिरफ्तार गर्‍यो ।

२९ असारमा त्रि–चन्द्र कलेजको कम्पाउण्ड भित्र प्रवेश गरि प्रहरीले पाँच सय भन्दा बढी विद्यार्थीहरुलाई लाठी प्रहार गरी घाईते बनाएको थियो। देशभरबाट यस घटनाको विरोधमा आन्दोलन  भयो र श्रावण ७ गते राती ९ बजे गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीहरुलाई विना सर्त रिहा  गरियो ।

यसरी नै यावत समस्याहरुसँग जुध्दै आएको नेविस‌ंघ अहिले अस्तित्वमा रहेको विद्यार्थी स‌ंगठनहरुमध्ये सबैभन्दा जेठो विद्यार्थी स‌ंगठन हो । यो स‌ंगठनले बुधबार आफ्नो ४७ औं वार्षिकोत्सव मनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker