रुपन्देहीमा अझै घटेन बालविवाह: गाउँपालिका अध्यक्ष नै उमेर घटाउने पक्षमा

काठमाडौं, २ बैशाख ।

रुपन्देहीको सम्मरीमाईकी प्रियंका हरिजनलाई हरेक वर्ष विवाहको दवाव थेग्न ठूलै मेहनत गर्नुपर्छ । पहिलोपटक विवाहको कुरा चल्दा उनी १३ वर्षकी थिईन् ।

कक्षा ८ मा पढ्दै गरेकी उनलाई विवाहबाट छुटकारा पाउन बुवाआमालाई धेरै सम्झाउनु पर्यो ।

‘त्यतिबेला म गाउँमा गठन भएको किशोरीको बालक्लब अध्यक्ष थिएँ। हामी बारा जिल्ला घुम्न जाँदा त्यहाँका किशोरकिशोरीको वातावरण हेरेर फर्किएपछि मैले पनि गाउँमा जसरी पनि बालविवाह रोक्ने अठोट बोके ‘, उनी भन्छिन् ।

आफ्नो गाउँमा र स्कुलमा समेत केटाकेटी सँगै बोलेको, हिंडेको र मिलेर काम गरेको नदेखेकी उनलाई त्यहाँका किशोरकिशोरी मिलेर समाज परिवर्तनमा लागेको देखेपछि समाज परिवर्तनमा  लाग्ने उत्साह जाग्यो ।

दुईवर्ष पछि उनले एसएलसी परिक्षा दिइन् । घरमा यसपटक उनको जसरी पनि विवाह गरिदिने योजना बन्न थाल्यो । उनलाई भने उमेर नपुग्दै र सरकारी जागिर नखादै विवाह गर्ने मन थिएन । हिम्मत जुटाएर बुवाआमा र दाईहरुलाई सम्झाउन र फकाउन थालिन् ।

‘ठिक छ म विवाह गर्छु तर अर्काको घरमा गएर काम गर्ने, उनीहरुको सेवा गर्ने मेरो उमेर भएको छैन, मेरो पढ्ने उमेर हो केटाको घरमा तपाईहरु जानुपर्छ ‘, घरमा उनले यस्तो भन्दै

हरेक वर्ष विवाहको लगन आउँदा उनले बुवाआमालाई यस्तै गरी सम्झाउनु पर्ने बाध्यता रहेको सुनाउँछिन्, ‘एकपटक सम्झाएपछि मान्नु हुन्छ तर गाउंका कसले के कुरा सुनाउंछ अर्को लगन शुरु भएपछि फेरी विवाहको कुरा चलिहाल्छ ।’

१३ वर्षको भएदेखि आउन थालेको विवाहको दवाव थेग्दै आएको पनि ६ वर्ष पुगिसक्यो ।

‘अझै ३-४ वर्ष सम्म त जसरी पनि थेग्छु जस्तो लाग्छ’, उनी थप्छिन्।

मर्चवार आदर्श उच्च माविमा स्नातक तह पहिलो वर्ष पढ्दै गरेकी प्रियंकाले आफ्नो मात्र नभई अहिले सम्म गाउंका ६-७ जनालाई बालविवाह हुनबाट रोकिसकेकी छन् ।

गाउँमा कसैको बालविवाह हुँदै छ भन्ने थाहा पाएपछि उनी आफुजस्तै अरु किशोरकिशोरी र विवाह पछि समस्यामा परेकाहरुलाई लिएर उनीहरुका अभिभावकलाई भेट्न पुग्छिन् ।

भन्छिन् ‘बालविवाह गरेकाहरुलाई उमेर पुगेपछि विवाह गर्नेहरुलाई भन्दा धेरै मानसिक दवाव हुन्छ, शारिरीक रुपमा कमजोर देखिन्छन्, निर्णय गर्न सक्ने क्षमता हुंदैन, शिक्षा-रोजगारीमा पनि पछि नै परेका हुन्छन्।  यस्तै उदाहरण प्रस्तुत गरेपछि बुझ्ने खालका अभिभावकहरु बुझ्नुहुन्छ नबुझ्नेलाई त जवरजस्ती गर्ने कुरा पनि भएन ।”

आफ्नो मात्र नभई गाउँका किशोरकिशोरीको बालविवाह हुनबाट रोक्ने अभियान संचालन गरेको कारण उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत भईसकेकी छन् । उनी सन् २०१७ मा अमेरिकाको वासिङटन डिसीमा पुरस्कृत भएकी थिईन् ।

तर तराईमा पनि विशेषगरी रुपन्देहीको मर्चवार क्षेत्रमा बालविवाह नरोकिएकोमा उनी चिन्तित छन् । रुपन्देहीको मर्चवार क्षेत्र अरु कारणबाट नभई बालविवाहबाट सिर्जित रोग, अशिक्षा, अज्ञानता र बेरोजगारीले पछाडी परेको उनको ठम्याई छ ।

गाउँका राजनितिकर्मी र ठूलाबढाहरुले बालविवाह रोकिएको र आफ्नो क्षेत्रमा परिवर्तन आएको भन्दै गफ चुटेको देख्दा उनलाई चित्त बुझ्दैन ।

‘पहिले १०-११ वर्षमा विवाह गरिदिन्थे अहिले उमेर थोरै बढेर १४-१५ वर्ष पुगेको छ हामी यसैलाई बालविवाह रोकिएको भन्दै गफ दिन्छौं’, उनी थप्छिन् , ‘२० वर्ष उमेर पुगेर विवाह भएको हाम्रो गाउंमा एकजना पनि छैन ।’

***

कोटहीमाई ४ का बैजनाथ यादवको ११ वर्षमा विवाह भयो । कक्षा ३ मा पढ्दै गरेका यादवको विवाहको कुरा चल्दा उनलाई विवाह भनेको के हो भन्ने समेत थाहा थिएन ।

‘सानोमा विवाह गर्यो भने पछि कस्तो समस्या आउँछ भन्ने समेत बुझ्ने उमेर थिएन । बुवाआमाले तिम्रो उमेरका गाउँका अरु केटाहरुको विवाह भयो तिम्रो पनि गर्नुपर्यो भन्नु भयो विवाह भयो ।’

तराई क्षेत्रमा विवाहका विभिन्न चार चरण हुने र विवाह पछि पनि केटी मान्छे तत्काल केटाको घरमा जान नपर्ने भएकोले पनि बालविवाह हट्न नसकेको उनी बताउँछन् ।

११ वर्षमा तिलक भएपनि यादवको ८ वर्षपछि विवाह, ९ वर्षपनि गौना र त्यसको केहि महिनापछि दौगा भयो ।

श्रीमती घरमा ल्याएपछि उनले पढाईलाई विचमै छोडेर काम गर्न थाले ।

‘गौना हुंदा ११ कक्षामा पढ्दै थिए, श्रीमती घरमा ल्याएपछि कमाउनतर्फ लाग्नु पर्यो। श्रीमती पाल्ने जिम्मेवारी थपियो पढाईलाई निरन्तरता दिन सकिन ।’ आफूले जस्तो पीडा अरुले पाउनु नपरोस भन्दै उनी अहिले बालबिवाह बिरुद्धको अभियानमा हिडिरहेका छन् ।

कोटहीमाई बयरघाटकी सुनिता चौधरीले १० वर्षको उमेरमा विवाह भएको कुरा गौना जाने बेलामा मात्र पत्तो पाईन् । विवाह हुँदा उनी पाँच कक्षामा पढ्दै थिईन् । उनीसंग विवाह भएको केटाले विवाह पछि पढ्न छोडे । तर सुनिताले पढाईलाई निरन्तरता दिंदै गईन् । एसएलसी पासपछि उनले फार्मेसी पढिन् ।

आफुभन्दा धेरै पढेका कारण स्तर मिल्दैन भन्दै उनलाई श्रीमानले गाली गलौज गर्न थाले । दिनदिनैको गालीगलौज हुन थालेपछि गौना गएपछि दुईमहिना भन्दा बढि केटाको घरमा बस्न सकिनन् ।

बुवाआमाले केटाको घरमा जान कर गर्न थाले “तँ घर गईनस् भने हाम्रो ईज्जत जान्छ ।’

‘म घर नगए बुवाआमाको ईज्जत जान्थ्यो तर मेरो त जिन्दगीको सवाल थियो ।’उनले घरमा नजाने निर्णय गरिन् । अहिले उनले गाउंमै औषधी पसल खोलेकी छन् ।

सुनिताकी आमा मिनालाई पनि छोरीको ईच्छा विपरित सानैमा विवाह गरिदिएकोमा अहिले पछुतो लागेको छ । बालविवाहकै कारण सुनिताको घरबार नभएपछि अरु दुई छोरीको भने उमेर पुगेपछि मात्र विवाह गरिदिने सोचाईमा छिन् ।

यी त प्रतिनिधी घटनामात्र हुन् । रुपन्देहीको मर्चवार क्षेत्रका कोटहीमाई, मर्चवारीमाई र सम्मरीमाई गाउंपालिकामा अधिकांश व्यक्तिको किशोरकिशोरी अवस्थामै विवाह हुने गरेको छ ।

कोटहीमाईकी सरिता यादव बालविवाह गरिदिने परिवारलाई गाउँपालिकाले दिने सेवासुविधाबाट वञ्चित गर्नसके मात्र बालविवाह रोक्न सकिने बताउँछिन् । ‘खुल्ला दिशामुक्त अभियानमा शौचालय नबनाउने परिवारलाई गाउँपालिकाले दिने विभिन्न सिफारिस र सेवा सुविधा रोकेपछि बल्ल शौचालय बनाउन दवाव पर्‍यो बालविवाह रोक्न पनि यस्तो नियम बनाउन किन सकिदैन ?’

नेपालको विहेवारी सम्बन्धी कानुनले बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र एकहजार देखि १० हजार रुपैया, बालविवाह गराउने पुरोहित, जन्ती जानेहरु र सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । तर यी गाउँपालिकाहरुमा एउटा पनि बालविवाह भएको भन्दै उजुरी परेको छैन ।

बालविवाह गरिदिनेलाई त कानुनमै कारवाही गर्ने उल्लेख गरिएपनि टाठाबाठाहरुले नै बालविवाह रोक्न नचाहेको प्रियंकाको आरोप छ । बालविवाह विरुद्धको अभियान संचालनको क्रममा वडा कार्यालय जांदा वडा अध्यक्षबाट नै विवाहको उमेर घटाएर १६ वर्ष बनाउनुपर्ने जवाफ पाएको उनी बताउँछिन् ।

गाउँपालिका अध्यक्ष नै उमेर घटाउने पक्षमा

रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानिया तराई क्षेत्रमा विवाहको उमेर १८ वर्ष बनाउनुपर्ने तर्क गर्छन् ।

‘पहाडी समुदायमा २० वर्ष ठिक छ तर तराई क्षेत्रमा घटाएर १८ वर्ष बनाउनुपर्छ । विवाहको लागि कानुन बनाउने अधिकार गाउँपालिकामा आयो भने म घटाएर १८ वर्ष बनाउँछु ।’

एउटै देशमा दुई थरी विवाहको कानुन सम्भव होला त ? भन्ने प्रश्नमा उनि भन्छन् ‘एउटै देशमा दुईथरी मानिस बस्न सक्छन् कानुन किन बन्न सक्दैन ?’। पहाडी मुल र तराई मुलको मानिसमा आआफ्नो धर्म र पहिचान हुन्छ ।’ तराई क्षेत्रमा विवाहको उमेर १८ वर्ष बनाउदा ठिक हुन्छ उनी भन्छन् ।

कानुनले २० वर्ष मुनिको विवाहलाई कानुन विपरित भनेपनि आफु समाजभन्दा बाहिर जान नसकेको उनको भनाई छ ।

‘बालबालिकाको समस्या मात्र हेरेर भएन नी अभिभावकको, जनताको समस्या पनि त हेर्नुपर्यो। कानुनको कार्यान्वयन गर्रौ सामाजिक परम्परा बाहिर जानुपर्छ, सामाजिक परम्परा स्वीकार गरौं कानुन उलंघन गर्नुपर्छ हामी संकटमा छौं ।’ उनले समाज र कानुनको विचमा खाडल रहेको बताउँछन् ।

राजनीतिलाई चलाई राख्न पनि कानुन र समाजलाई समातेर हिड्न समस्या भएको बानिया बताउंछन् । बानियाले गाउंपालिका अध्यक्ष भएपछि गाउंघरमा विवाहको निम्तो मान्न कम जाने गरेको बताए ।

‘विवाहमा गयो भने अध्यक्षको अगाडी नै बालविवाह भयो भन्छन् त्यो भन्दा निम्तो मान्न नै नगए त भईहाल्यो नी ।’

बालविवाहबाट किशोरकिशोरी, घरपरिवार र सिंगो समुदायलाई नै घाटा हुने गरेको पनि उनलाई थाहा छ । तरपनि सानोमा विवाह गरिदिने गलत प्रवृत्तिका बिरुद्ध भने उनी जान नसक्ने बताउँछन् ।

गाउंपालिका अध्यक्ष भएर आएको ९ महिना सम्म कसैले उजुरी गरेको छैन । विवाह दर्ता पनि उमेर पुगेपछि बल्ल दर्ता गर्न आउंछन् । विवाह दर्ता गर्ने प्रचलन समेत त्यति छैन ।

कोटहीमाईबाट प्रदेशसभा सदस्य बनेकी सुनिता देवी ठठेर वडा स्तरबाटै तालिम र सचेतनामुलक कार्यक्रम संचालन गर्न सके परिवर्तन आउने बताउँछिन् । बालविवाह विरुद्ध उजुरी गर्ने प्रचलन नै छैन ।

मर्चवार क्षेत्रमा बालविवाह गराउने र गर्नेलाई कारवाही हुन्छ भन्ने जानकारी नहुँदा पनि बालविवाह नहटेको उनको ठम्याई छ ।

‘एकजनालाई भएपनि बालविवाह गरेकोमा कारवाही हुन सके त्यही घटना देखाएर पनि अरुले डर मान्छन् तर उजुरी नै आउदैन ।’

सानैमा विवाह हुने र एउटै व्यक्तिको चारपटक सम्म विवाहमा जस्तै खर्च गर्नुपर्दा पनि मर्चवार पछाडी परेको ठठेरको दावी छ ।

‘तराई क्षेत्रमा जति धेरै पढ्को केटा भयो त्यति धेरै दाईजो माग्छन् के गर्ने गरिब परिवार कहांबाट दाईजो देवोस् त्यो भन्दा सानैमा विवाह गरिदिएर दाईजोको समस्याबाट उम्किन खोज्छन् ।’

रुपन्देही सबैभन्दा बढी वालबिबाह हुने १५ वटा जिल्ला भित्र पर्दछ । बालविवाह विरुद्धको अभियान संचालन गर्दै आएको चुनौती परियोजनाको तथ्यांक अनुसार मर्चवार क्षेत्रका ७० प्रतिशत बढि व्यक्तिको बालविवाह हुने गरेको देखिएको छ ।

नेपाललाई सन् २०३० सम्म वालविवाहमुक्त बनाउने लक्ष्य रहेको छ । तर भारतसंग सिमा जोडिएको र तराईका धेरै किशोरकिशोरीहरुको भारतमा लगेर विवाह हुने गरेका कारण पनि सरकारको यो लक्ष्य पुरा होला भन्नेमा आशंका उब्जिएको छ । सेतोपाटीबाट साभार गरिएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker