२०७४ मा पूर्व प्रधानमन्त्री देखि प्रकाश दाहाल जस्ता चर्चित व्यक्तिलाई देशले गुमायो

काठमाडौं, २९ चैत ।

बिदा हुँदै गरेको वर्ष २०७४ लाई फर्किएर हेर्दा यसवर्ष देशले केही चर्चित व्यक्तिलाई गुमाउन पुग्यो ।पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको ९० वर्षको उमेरमा कात्तिक २५ मा निधन भयो । वि.सं. २०२५, २०२८, २०३४ मा गरी विष्ट तीनपटक नेपालको प्रधानमन्त्री बनेका थिए । विष्ट पछिल्लो समय ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि २०६१ सालमा मन्त्रिपरिषद् उपाध्यक्ष भएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको मंसिर ३ गते काठमाडौंमा निधन भयो । हृदयघात भएपछि अस्पताल लगिएका प्रकाशलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै चर्चित जनवावदी गायक एवम् माओवादी पूर्वसांसद खुसीराम पाख्रिनको मंसिर ५ मा निधन भयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको असोज २३ मा गोली हानी हत्या भयो । राजधानीको मुटु बानेश्वरस्थित शन्तिनगर क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेसँगै निजामति अस्पताल पुर्‍याइएका गौचनको चिकित्सकले गोली निकालेसँगै निधन भएको थियो ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको १६ चैतमा निधन भयो । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । मिर्गौलासम्बन्धी रोगबाट पीडित खड्कालाई फागुन पहिलो साता थप उपचारका लागि भन्दै दिल्ली लगिएको थियो ।

कांग्रेस नेता रामहरि जोशीको उपचारको क्रममा असार २९ गते ९२ वर्षको उमेरमा निधन भयो । २००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशी गान्धीवादी नेताको रूपमा परिचित थिए । चैत ८ मा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको ७४ वर्षको उमेरमा निधन भयो ।

वरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको युएस–बाङ्ला एयरको विमान दुर्घटनामा निधन भयो । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थापा ब्रेन ट्युमरको उपचारमा विशेष दख्खल राख्दथे ।

बाजुराको कोल्टीमा जेठ १६ गते भएको सेनाको विमान दुर्घटना महासेनानी कैलाश गुरुङको निधन भयो । गुरुङ नेपाली सेनाको एक कुशल पाइलट थिए । भोजपुर जिल्लाको छिनामखु गाविस–४ मा २०२७ सालमा जन्मिएका उनी गीतकार/गायक तथा समाजसेवी थिए ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द शर्माको चैत १ गते निधन भयो । त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशकसमेत रहेका मुटु शल्यचिकित्सक शर्माको ७५ वर्षको उमेरमा निधन भएको हो ।

निजी तथा व्यवसायिक विद्यालय संगठन प्याब्सनका पूर्वअध्यक्ष शिक्षाविद् डा. बाबुराम पोखरेलको पुस २३ गते निधन भयो । भीएस निकेतनका संस्थापक पोखरेलको झम्सीखेलस्थित निवासमा निधन भएको हो ।

गायक तथा संगीतकार पन्नाकाजी शाक्यको माघ १२ मा ८५ वर्षको उमेरमा निधन भयो । वि.सं. १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका पन्नाकाजीले २००८ सालमा पहिलोपटक रेडियो नेपालमा गीत गाएका थिए । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात् ‘भेडीखर्के साइँला’को पनि भदौ २७ मा निधन भयो ।

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको असोज १३ असोज गते ६८ वर्षको उमेरमा निधन भयो । उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ चर्चित गीत गाएका थिए ।

 ‘सल्लाई हो जोवन कल्लाई हो’, ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्’ जस्ता कालजयी गीतकी गायिका कमला श्रेष्ठको चैत ५ गते निधन भयो । २०२५ सालदेखि रेडियो नेपालमा गायिकाका रुपमा काम गरेकी कमला श्रेष्ठले दुई सय भन्दा धेरै गीत गाएकी थिइन् ।

वरिष्ठ वामपन्थी नेता एवं २०१५ सालको संसद सदस्य कमलराज रेग्मीको ९१ वर्षको उमेरमा चैत्र २२ गते निधन भयो । यस्तै पूराना कम्युनिष्ट नेता एवम् नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य जागृतप्रसाद भेटवालको चैत २१ मा निधन भयो ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय मीनबहादुर शेरचनको वैशाख २३ मा निधन भयो । विश्व शान्ति र पृथ्वीको रक्षाका लागि अभियान चलाउने बताउँदै आएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो ।

असार २५ गते स्वामी डा. रामानन्द गिरीको ७१ वर्षको उमेरमा निधन भयो । धादिङमा जन्मिएका गिरी धार्मिक क्षेत्र देवघाटमा रहेको महेश सन्यास आश्रम र विद्यापीठका संस्थापक थिए । उनले राजा जनकको दर्शन विषयमा त्रिविबाट विद्यावारिधि गरेका थिए भने भारतको वनारस बाल ब्रह्मचारीबाट सन्यास शिक्षा लिएका थिए ।

मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, पिरती आफै हुँदोरहेछ लगायतका दर्जनौं अजर गीतकी श्रष्टा कुसुम गजमेरको जेठ १८ गते निधन भयो । वरिष्ठ संगीतकार रञ्जित गजमेरकी धर्मपत्नी कुसुमको ७२ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यकार मनु ब्राजाकीको माघ १९ गते ७५ वर्षको उमेरमा निधन भयो । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker