सम्बन्ध जोड्ने सिन्दुर, तोड्ने कागज !

केही दिनअघि जिल्ला अदालत काठमाडौंको इजलाश नम्बर १६ मा डेढ घण्टा बिताउने अवसर जुर्यो । जुन अवधिमा उक्त इजलाशबाट १८ जोडीले सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्धविच्छेदका कारणहरु फरक–फरक थिए । सबै कारणबारे इजलाशमा बहस÷छलफल भएन । वकिलहरुले तयार गरेको पत्रका आधारमा न्यायाधीशले फैसला गर्दै थिए । छुट्न लागेका सबै जोडीलाई न्यायाधीशले प्रायः एउटै र औपचारिक प्रश्न सोधिरहेका थिए । ‘तपाईंहरु सहमतिमा छुट्न लाग्नु भएको हो ?’ अनि, विशेषगरी महिलालाई लक्षित गर्दै सोधिएको थियो, ‘अंश नलिने सहमति भएको हो ?’ छुट्न लागेका जोडीहरुले ‘हो मा हो’ मिलाउथे । सम्बन्धविच्छेदको कागज बनिहाल्थ्यो ।

सम्बन्धविच्छेदको कागज हात पारेपछि एकाधबाहेकको आँखा रसाएको देखिन्थ्यो । कोही बिहे गरेको चार महिनामा छुट्दै थिए, कोही विहे गरेको १७ वर्षपछि । मलाई छुटिएका जोडिहरुसित केही भलाकुसारी गर्न मन लागेको थियो । तर, ‘उनीहरुको घाउलाई किन कोट्याउनु ?’ भन्ने लागेर केही सोधिनँ । रै त पनि मनमा एउटा प्रश्न खेलिरह्यो, ‘यो समाज कता जाँदैछ ?’ हो, ‘यो समाज कता जाँदैछ ?’ भन्ने प्रश्नसित जोडिएर धेरै कुरा मनमा आयो । यसबारे बुझ्न मन लाग्यो । र, बहस जरुरी लाग्यो ।

 एउटा मान्छेलाई अर्को मान्छेले मान्छे नै दान दिने भन्ने कुरा कदापि न्यासंगत हुन सक्दैन । अनि, बिबाहपछि ‘केटा पक्षले केटीलाई पाल्ने, केटीले केटा पक्षको घरको स्याहारसंभार गर्ने’ भन्ने मान्यता छ । जहाँ केटा पक्ष सत्ता हुन्छ, अनि केटी रैती । जसकारण केटी पक्षमा क्रमशः विद्रोहको भाव जाग्छ । जुन स्वभाविक सामाजिक नियम हो ।

निश्चितप्रायः छ, केहीको बाहेक बहुत तामझमका साथ विहे भएको थियो । बिहेलाई उत्सवको रुपमा लिइएको थियो । अभिभावकले कर्तव्य पूरा गरेको ठानेका थिए । विहेको केही समय उनीहरु अतिखुसी थिए । धेरै जोडीले आपसका कसम खाए होलान्, ‘सँगै ज्यूँने, सँगै मर्ने ।’ एउटालाई घोच्दा अर्कोलाई दुख्थ्यो होला । एउटा चकलेट पनि एक्लै खान मन नलागेर बाँडेर खान्थे होला । ‘हेरेर नै जुनी काट्छु’ जस्तो लागेको थियो होला । तर, आज उनीहरु आपसमा बस्नै नसक्ने भए । एकलाई अर्कोको मुख नै हेर्न मन नलाग्ने भयो । किन ? के कुराले यस्तो बनायो ? यो त व्यक्तिगत र भावनात्मक कुरा जस्तो मात्रै भयो । तर विषय यतिमा मात्रै सीमित छैन । किनकि, योसँग हाम्रो समाज व्यवस्था, धार्मिक÷सामाजिक मान्यता जोडिएको छ ।

विवाह र सामाजिक मान्यता

विवाहको परिभाषाबारे लामो बहस नगरौं । बुझिने भाषामा विवाह भनेको एउटा सामाजिक सँस्कार हो, जहाँ विपरीत लिङ्गीबीच सँगै जीवन विताउने शर्त हुन्छ । यसअर्थमा दाम्पत्य जीवन शर्तबाटै सुरु हुन्छ । यहाँ शर्त मात्रै भनेर धर पाउने अवस्था छैन । किनकि हाम्रो सामाजिक मान्यता र सँस्कार नै गलत छ ।

हाम्रो समाजको पहिलो मान्यता भनेको बिबाह गर्न दुबै अविवाहित हुनु पर्छ । कि त सम्बन्धविच्छेद गरिएको हुनुपर्छ । सम्बन्धविच्छेदपछिको विवाहलाई पनि हाम्रो समाजले पूर्णमान्यता दिँदैन । अझ अविवाहित भन्ने मात्रै होइन, विवाहलाई कुमारीत्वसित जोडेर हेरिन्छ । अर्थात्, विवाहलाई यौनसम्पर्क गर्ने लाइसेन्सका रुपमा बुझिन्छ ।

त्यस्तै विवाह भनेको केटीलाई केटाले मागेर पाउने समारोहका रुपमा लिइन्छ । केटा पक्षले माग्ने, केटी पक्षले आफ्नो छोरी दिने । अझ भनिन्छ, ‘कन्यादान’ । एउटा मान्छेलाई अर्को मान्छेले मान्छे नै दान दिने भन्ने कुरा कदापि न्यासंगत हुन सक्दैन । अनि, बिबाहपछि ‘केटा पक्षले केटीलाई पाल्ने, केटीले केटा पक्षको घरको स्याहारसंभार गर्ने’ भन्ने मान्यता छ । जहाँ केटा पक्ष सत्ता हुन्छ, अनि केटी रैती । जसकारण केटी पक्षमा क्रमशः विद्रोहको भाव जाग्छ । जुन स्वभाविक सामाजिक नियम हो ।

मागेर मान्छे पाउने मात्रै होइन, विवाह मण्डपमा पुरोहितले सँस्कृत भाषामा एउटा श्लोक पढ्नेवित्तिकै एउटी केटीको पहिचान नै बदलिन्छ । थर र गोत्र मात्रै होइन, सम्पूर्ण सामाजिक नियमहरु केटोपक्षमैत्री हुन्छ । एउटी सबल एउटी केटी एउटा दुर्बल केटोसित आत्मसमर्पण गर्न अभिशप्त हुन्छे । अनि, समाजमा विकृति नबढे के हुन्छ ?

विवाहपछि श्रीमानले अर्कै स्त्रीसित वा श्रीमतीले अर्कै पुरुषसित शारीरिक सम्पर्क राखेको खुलासा भएको वा शंका बढेकै कारण धेरैभन्दा धेरै सम्बन्धविच्छेद भएको नजिर छ ।

एक धर्को सिन्दुर वा एक झुप्पो पोते त प्राविधिक कुरा मात्रै हो । पुरोहितको एउटा श्लोकले कसैको जीवन जोड्ने वा तोड्ने कुरा स्वभाविक हुन सक्छ ? त्यो भावनात्मक कुरा हो । प्रेम हो । समाझदारीपन हो । जीवन र दाम्पत्य जीवनलाई हेर्ने, भोग्ने दृष्ट्रिकोण र शैली हो । कसैले कसैका लागि कोही मान्छे जबरजस्त लागिदिएर कर्तब्य पूरा भएको ठान्न मिल्छ ? हाम्रो समाज कुन आदर्श वा दर्शनबाट प्रेरित छ ? धर्मका नाममा कोही मान्छेको जीवनप्रति सौदाबाजी गर्न मिल्छ ? यो बहसको विषय हो ।

विवाह र यौन

एउटा पुरुष वा नारीको यौन चाहना किशोराबस्थाबाटै सुरु हुन्छ । तर, विवाह पढाई सकिएपछि वा कमाउने भएपछि गर्ने भन्ने मान्यता छ । जुन उमेर भनेको २५ वर्षको पेरिफेरि हो । त्यतिन्जेलसम्म उनीहरु कुण्ठित हुनु पर्छ । चाहनालाई मारेर बस्नु पर्छ । विवाह धेरै ठूलो कुरा हो । सँगै जीवन विताउने कुरा हो । तर, हाम्रो समाजले यौनसँग जोडेर हेर्ने बनाएको छ । जसकारण हरेकको मनमा बिहे भन्ने वित्तिकै यौनको चित्र आउँछ । जुन गलत हो । जबसम्म विवाहलाई यौनभन्दा माथि उठेर हेर्ने सामाजिक सोचको विकास हुँदैन तबसम्म समाजमा विकृति मौलाउँछ । किनकि, बिहेपछि सम्बन्धविच्छेद भएको थुप्रै कारणहरुमध्येको एउटा प्रधान कारण हो, यौन ।

विवाहपछि श्रीमानले अर्कै स्त्रीसित वा श्रीमतीले अर्कै पुरुषसित शारीरिक सम्पर्क राखेको खुलासा भएको वा शंका बढेकै कारण धेरैभन्दा धेरै सम्बन्धविच्छेद भएको नजिर छ । यसर्थ बिबाहअघिकै मान्यताका कारण विवाहपछि पनि असर परेको छ ।

लिखित कानुन बन्नुभन्दा पहिला पनि समाज चलेको थियो । समाजलाई व्यवस्थित ढंगमा चलाउनकै लागि विभिन्न ‘अलिखित सामाजिक कानुन’हरु बनाइएको हो । यदि सामाजिक कानुन नबनेको भए मान्छे आदिम युगबाट आजको अवस्थामा आइपुग्दैनथ्यो होला ।

हुनतः यौन प्राविधिक कुरो हो । तर हाम्रो समाजमा यौनलाई चरित्र र आदर्शसित जोडेर हेर्ने गरिन्छ । यसका विभिन्न आयाम होलान् । यो सामाजिक अनुशासनको विषय पनि होला । समाजलाई विकृतिरहित बनाउन एकजनासँग मात्रै यौन सम्बन्ध कायम गर्ने नियम बनाएको भनेर तर्क गर्नेहरुको पनि ठूलै जमात छ । तर, यौनकै मामलामा किन पुरुषलाई छाडा छाडिन्छ ? र नारीको चरित्रसँग तुलना गर्ने गरिन्छ ? मान्छेले सामाजिक नियम बनाउँदा किन नारीलाई नियम लाद्ने बस्तुका रुपमा सोच्यो ? किन मान्छेका नियमहरु प्रकृतिविरुद्धका भए ? जब जबरजस्त लादिएको अनुभूत गरेर कोही नारी माथि उठ्न खोज्छे भने चाहिँ सामाजिक विकृतिका रुपमा हेर्नुपर्ने दिन आयो ? के यो बहसको विषय होइन ?

सामाजिक नियमको आवश्यकता

लिखित कानुन बन्नुभन्दा पहिला पनि समाज चलेको थियो । समाजलाई व्यवस्थित ढंगमा चलाउनकै लागि विभिन्न ‘अलिखित सामाजिक कानुन’हरु बनाइएको हो । यदि सामाजिक कानुन नबनेको भए मान्छे आदिम युगबाट आजको अवस्थामा आइपुग्दैनथ्यो होला । तर, समाजलाई व्यवस्थित गर्न बनाइएका नियमहरु किन पुरुषमैत्री भए ? वा किन वस्तुवादी, प्रकृतिमैत्री र उन्नत हुन सकेनन् ? हिजो आदिम कालमा आदिम सोचले बनाइएका थोत्रा नियमहरुलाई हामीले आज पनि उस्तैगरी मान्नुपर्ने भए हाम्रो विकासको सूचक के हो ? के अब पुराना अस्वभाविक सामाजिक नियमहरुलाई समयसापेक्ष परिवर्तन गर्नु पर्दैन ? त्यसो नगर्ने हो भने सामाजिक विकृत झन् बढ्ने निश्चत छैन र ? यो चाहिँ बहसको विषय होइन र ?

सम्बन्धविच्छेद सामाजिक विकृति हो ?

जसरी सम्बन्धका लागि बिहे प्राविधिक कुरा हो, त्यसैगरी अदालतमा गएर सम्बन्ध विच्छेद गर्ने कुरा पनि प्राविधिक हो । बिहे गर्ने सँस्कार चाहिँ उहीं पुरानै, अनि छाड्ने सँस्कार चाहिँ ‘कथित् नयाँ’ भन्ने मात्रै हो । पुरोहितको एक श्लोकले थर परिवर्तन हुने, न्यायाधीशको एक वाक्यले थर हट्ने ? एक धर्को सिन्दुरले सम्बन्ध जोडिने, अदालतमा बनेको एउटा पत्रले सम्बन्ध सकिने ? के सम्बन्ध भनेको सिन्दुर र अक्षरजस्तो वस्तुवादी कुरा हो ? के सम्बन्ध विच्छेद एउटा सामाजिक विकृतको कारण हुन सक्छ ? सुरुमा भनेझैं, यो हिसाबले समाज कता जाँदैछ ?

हुनत बिहेका धेरै प्रकृति छन् । त्यसमध्ये प्रेम विवाह, मागी विवाह र कानुनी विवाह चल्तीमा छन् । लिभिङ टुगेदर भनेर विहे पूर्व नै केटाकेटी सँगै बस्ने गर्न पनि थालिएको छ । विहेका प्रकृति धेरै भए पनि सबै प्राविधिक विषय नै हुन् । पछिल्लो समय कानुनी विवाहलाई बढी उन्नत मानिए पनि चुरो कुरो उहीं हो । र, यो समाजमा सबैभन्दा गडेको चाहिँ ‘मागि विवाह’ र कानुनी रुपमा सम्बन्धविच्छेद् नै हो ।

विषय विवाह हुनु वा छुट्नुसँग मात्रै जोडिएको छैन । यो भावना र सामाजिक संरचनासँगै सृष्टिसित जोडिएको छ । आजसम्म समाज चलेको मान्यताकै आधारमा हो । यसर्थ सम्पूर्ण मान्यताहरुलाई गलत भन्न मिल्दैन । सबै कुरा कानुनअनुसार चल्ने भन्ने हुँदैन । कतिपय मानवीय, सामाजिक तथा साँस्कृतिक मान्यताहरु छन्, हुन्छन् । त्यो परिवेशअनुसार फरक–फरक होला । तर, ती मान्यताहरुलाई समयानुकुल परिवर्तन गर्न सक्नु पर्छ । नत्र, ती नियम वा मान्यताहरु नै विकृतिको कारण बन्न सक्छ । त्यसैले सम्बन्ध विच्छेद आफैंमा विकृति होइन, त्यो एउटा कानुनी प्रक्रिया हो, जस्तो कि विहे एउटा सामाजिक चलन ।

र अन्त्यमा,

नेपालमा उत्पीडित समुदायको उत्थानका निम्ति बनेका कानुनहरुबारे पनि बुझ्न आवश्यक छ । यसमा धेरै बहस विस्तारै गरौंला । तर जबसम्म आइएनजीओले हाम्रो कानुन निर्माणमा प्रभाव जमाउछन् र नारीलाई सौन्दर्यको राज नै आफ्नो शरीर भएको भ्रम भइरहन्छ, तबसम्म सामाजिक मूल्यमान्यतालाई परिष्कृतसँगै उन्नत बनाउन कठिन छ । सम्बन्धविच्छेदलाई ‘पैसाको खेती’का रुपमा लिने सोच र चलन बढ्नुले यसप्रति बहसको आवश्यकता औंल्याउँछ । र, यो त बहसको कास्टिङ मात्रै हो । क्रमशः क्लाइमेक्समा पुगौंला ।

नेपालीपत्रबाट बिमल नेपालकाे लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker