एमाले–माओवादी एकता : विचार मिल्यो, पद किचलो !

काठमाडौँ, २० चैत । 

एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकता गर्ने संकल्प गरेको ६ महिना पूरा हुन लाग्दैछ । गत २१ असोजमा राष्ट्रिय सभागृहबाट दुई पार्टीका शीर्ष नेताले दुवै पार्टीबीच एकता गरी एउटै कम्युनिष्ट पार्टी बनाउने घोषणा गरेका थिए ।

प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन संघारमा थियो । त्यसैले दुवै पार्टीले वाम गठबन्धन बनाई साझा उम्मेदवार तय गर्ने कामलाई पहिलो प्राथमिकता दिए । वाम गठबन्धनले देशैभर साझा उम्मेदवार उठायो । पूर्वअनुमानअनुसार नै वाम गठबन्धनले निर्वाचनमा प्रचण्ड बहुमत हासिल ग¥यो । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भयो ।

चुनावी परिणामले उत्साहित भएका दुई पार्टीले पार्टी एकताको कामलाई पनि अघि बढाए । एकता संयोजन समिति र कार्यदल दुवैले घनिभूत छलफल गरेपछि ७ फागुन (प्रजातन्त्र दिवस) को मध्यरातमा प्रधानमन्त्रीनिवास बालुवाटारबाट पार्टी एकताका ७ बुँदे आधारपत्र जारी भयो ।

त्यसपछि एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा विधान मस्यौदा समिति बन्यो । आजका दिनसम्ममा दुवै समितिले आ–आफ्नो जिम्मामा रहेका काम फत्ते गरिसके ।

साझा वैचारिक राजनीति कार्यदिशा

– माक्र्सवाद र लेनिनवादलाई एकीकृत पार्टीको मार्गनिर्देशन सिद्धान्त मान्ने ।

–माओवाद, जनतालको बहुदलीय जनवाद र २१औँ शताव्दीको जनवादमा मिलेका साझा विषयलाई ग्रहण गरी परिमार्जन र विकाससहित बहस, छलफलमा लैजाने ।

–माओत्सेतुङलाई अन्तर्राष्ट्रि कम्युनिस्ट आन्दोलनका नेता मान्ने ।

तर, पार्टी एकताको घोषणाको मिति भने अझै तय हुन सकेन । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणअघि नै पार्टी एकता हुने केही नेताले अभिव्यक्ति दिएका थिए । स्वयं प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग त्यस्तो प्रस्ताव राखेको सार्वजनिक भएको थियो । तर, ओलीको त्यो चाहना पूरा हुने सम्भावना न्युन बनिसकेको छ ।

ओली आगामी २३ चैतमा नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै छन् । तर, एकता संयोजन समितिको बैठक बस्नसमेत सकेको छैन । नेपाल र बादल नेतृत्वको कार्यदलले तयार पारेका मस्यौदालाई अन्तिम रुप दिने जिम्मा ओली–प्रचण्ड सम्मिलित संयोजन समितिलाई छ । त्यही समितिको बैठक बस्न नसक्दा अहिलेसम्म बनेका मस्यौदा के हुने हुन् भन्नेमा संशय बढेको कार्यदलकै सदस्यहरू बताउँछन् ।

दुवै कार्यदलले मस्यौदा तयार पारिसकेको भनिए पनि अझै कतिपय मुलभूत विषयमा विमति बाँकी नै छन् । माओवादी जनयुद्धलाई समेट्ने नसमेट्ने, एकीकृत पार्टीको केन्द्रीय समिति कति सदस्यीय हुने, भागवण्डा कसरी मिलाउने भन्ने जस्ता विषयमा मस्यौदाले सहमति जुटाउन नसकेको बताइन्छ ।
मस्यौदामा मात्र होइन, यी विषयमा दुवै पार्टीका नेताले सार्वजनिक रूपमै परस्पर विरोधी अभिव्यक्ति दिँदै आएका छन् ।

मस्यौदामासमेत जनयुद्ध शब्द उल्लेख गर्न नहुने एमाले पक्षधर नेताहरूको अडान छ । माओवादी नेता भने कुनै हालतमा जनयुद्ध छाड्न नसकिने बताइरहेका छन् ।

एकीकृत पार्टीमा एमालेबाट ७० र माओवादीबा ३० प्रतिशतको प्रतिनिधित्व हुने एमाले नेताहरुले बताउने गरेका छन् । तर, स्वयं प्रचण्डले आधाआधा प्रतिनिधित्व नहुने हो भने एकता हुन नसक्ने बताएका छन् । अखिल क्रान्तिकारीको दुई दिने गोप्य प्रशिक्षणमा सहभागी भएका प्रचण्डले १२ चैतमा यस्तो बताएका थिए ।

प्रचण्डको भनाइ थियो, ‘पार्टी एकता केही दिनमै गर्ने गरी छलफललाई तीव्रता दिएका छौँ । अब दुवै पार्टी रहँदैनन्, तर एक अर्कामा सिद्धिने गरी भने एकता हुँदैन । संख्यामा एकजना पनि घटीबढी हुँदैन । संख्याको हिसाब गर्ने हो भने ०६४ सालमा एमालेभन्दा हाम्रो पार्टी ठूलो थियो । त्यतिबेला पनि मैले माधवजीलाई बराबरी संख्यामा नै पार्टी एकता गरौँ भनेर प्रस्ताव गरेको थिए । कुरा नमिलेपछि करिब पाँच वर्ष एमाले र माओवादी एकले अर्कालाई सिध्याउने र निल्नेखेलमै केन्द्रित भयौँ । अहिले एमाले ठूलो भयो भनेर परिणाम देखाउन मिल्दैन । बराबरी संख्यामा सम्मानजनक रूपमा पार्टी एकता हुन्छ, नत्र हुँदैछ ।’

उनले एमालेको इतिहास कोट्याउँदै भनेका थिए,‘विगतमा मदन भण्डारी नेतृत्वको पार्टी ठूलो र मनमोहन अधिकारी नेतृत्वको पार्टी संख्या र शक्तिका हिसाबले सानो थियो । तर, पार्टी एकता गर्दा सम्मानजनक रूपमै भएको थियो । केन्द्रीय समिति बराबर संख्यामा थियो भने मदनजी महासचिव र मनमोहनजी अध्यक्ष हुनुहुन्थ्यो । त्यसैले हाम्फालेर पार्टी एकता गर्ने कुरा आउँदैन । सम्मानजनक रूपमै हुन्छ । सहमति नभएसम्म सरकार पनि चलिरहन्छ, छलफल पनि अघि बढिरहन्छ ।’

एमाले र माओवादी एकअर्कामा छुट्याउनै नसकिने गरी अन्तरघुलन भइसकेको बताएका प्रचण्डले निर्वाचनमा पाएको भोट कति हो ? भन्न पनि सकिने अवस्था नरहेको बताएका थिए । महाधिवेशनसम्म समान हैसियत र अधिकारसहित दुवैजना अध्यक्ष हुने, बैठकको नेतृत्व आलोपालो गर्ने समझदारी भइसकेको बताएका उनले माओवादीमा पूर्णकालीन र सक्रिय सदस्य बढी भएकाले बराबर संख्यामा पार्टी एकता गर्न केपी ओली तयार भइसकेको दाबी गरेका थिए ।

उनको तर्क थियो,‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समानुपातिक/समावेशीतालगायतका परिवर्तनमा माओवादीको भूमिका प्रमुख र अरुको कम छ । हाम्रो पार्टीमा अझैँ पनि प्रतिवद्ध र होलटाइमर कार्यकर्ता धेरै छन् । पार्टी अस्तव्यस्त भए पनि दार्शनिक र राजनीतिक रूपमा मजबुद छ । पार्टी हुनका लागि चाहिने सही नीति, विचार र भिजन हामीसँग नै छ ।’

प्रचण्डले यसो भनेको अघिल्लो दिन भने माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले फागुनको १९ वा २० मा एकताको घोषणा हुने दावी गरेका थिए । कम्युनिष्ट पार्टी गठन भएको दिन वैशाख ९ मा एकताको घोषणा गर्ने तयारी भए पनि प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंगिएकाले १९, २० मै एकता हुने तयारी भइरहेको उनको भनाइ थियो ।

तर, उनले भनेको १९ गतेसम्म एकताको कुनै सुरसार नभएको मात्र होइन, केही विषयमा दुई पार्टीका नेता अहिले पनि परस्पर विरोधी अभिव्यक्ति दिइरहेका छन् । त्यसैले प्रधानमन्त्री ओलीको भारत भ्रमणअगाडि पार्टी एकताको सम्भावना न्युन देखिन्छ ।

एमाले र माओवादीलाई एउटै पार्टी बनाउनु पर्छ भनेर सुरुदेखि नै भूमिका खेलेका माओवादी नेता जनार्दन शर्मा प्रभाकर भने केन्द्रीय कमिटीको संख्या कति बनाउने भन्नेबाहेक सम्पूर्ण कार्य सकिएको बताउँछन् । आगामी ९ वैशाख एकता घोषणा गर्न दुवै शीर्ष नेतालाई आफूहरुले दबाब दिइरहेको उनको भनाइ छ ।

‘हामीले पाएका सबै जिम्मेवारी पूरा गर्‍यौँ । केन्द्रीय कमिटी कत्रो बन्ने वा कतिजना रहने भन्ने एउटा मात्रै एजेन्डा मिल्न बाँकी छ । कम्युनिस्ट पार्टी स्थापनाको दिन ९ वैशाखमा पार्टी एकता गर्ने गरी नेतृत्वलाई दबाब दिइरहेका छौँ । त्यस दिन लाखाैँ जनताको माझ एकता हुन्छ,’ उनले भने ।

त्यसोतः एमाले केन्द्रीय कार्यालय धुम्वाराहीमा सोमबार प्रधानमन्त्री ओलीले पार्टी एकताका विषयमा चलिरहेका हल्लाको पछि नलाग्न आग्रह गरे । एमाले र माओवादीबीच तुरुन्तै एकता हुने बताएका ओलीले भने, ‘एकता एउटा प्रकृयाबाट हुन्छ । भारत भ्रमण अघि पनि हुन सक्छ, पछि पनि । ठिक समयमा पार्टी एकता हुन्छ ।’

अरुले जे जस्ता अभिव्यक्ति दिए पनि पार्टी एकताको बल प्रचण्ड र ओली दुवैको संयुक्त कोर्टमा पुगेको छ । निर्णायक शक्ति पनि यिनै दुई भएकाले कहिले पार्टी एकता होला, अरुले भन्न सक्ने अवस्था देखिँदैन । तर, समयको चापका कारण ओलीको भारत भ्रमणअघि भने पार्टी एकताको सम्भावना करिब करिब सकिएको देखिन्छ । नयाँपत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker