बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

१९ चैत, रोल्पा । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन ।

बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्मीको भनाइ छ ।

‘जबसम्म जिल्लाका सम्पूर्ण किशोर किशोरी वा तिनका अभिभावक बालविवाहले निम्त्याउने समस्या तथा चुनौतीका बारेमा जानकार हुँदैनन् तबसम्म जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्दैन’, पूर्व शिक्षक खोविलाल सुवेदी भन्छन् ।

उमेर नपुग्दै विवाह गर्ने र दुई तीन सन्तानका आमा बन्नु उनीहरुको रहर नभएर बाध्यता भएको पीडित महिलाको भनाइ छ ।

रोल्पा नगरपालिकाकी चाहना क्षेत्री अहिले २० वर्ष पुग्दै छिन् । यतिबेलासम्म उनी दुई सन्तानकी आमा बनिसकेकि छन् । ती दुई सन्तान उनका दुई श्रीमानबाट जन्मिएका हुन् । उनले पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । हाल दोस्रो श्रीमानबाट दोस्रो बच्चासमेत जन्मिसकेको छ ।

‘लगातार तीन दिनको बिरामी परेर ममाथिकी दिदीको मृत्यु भएपछि मलाई आफ्नै भिनाजुले केहीवर्ष पहिले श्रीमतीका रुपमा उहाँको घरमा भित्र्याउनुभएको थियो तर भिनाजुको श्रीमती बन्नु मेरो रहर होइन बाध्यता थियो,’ चाहनाले भनिन्  ।

यस्तो छ २० वर्षे चाहनाको सत्य कथा 

भिनाजुले दिदी मरे लगत्तै आफूलाई साथ दिन हारगुहार गर्न थाले । तिमीलाई तिम्री दिदीलाई भन्दा सुखसँग राख्छु, जिन्दगीभरि दुःख दिन्न । यदि मलाई साथ दिएनौँ भने तिम्रै घरमा झुण्डिएर मर्छु भन्दै बिलौना गर्न थाले  ।

त्यसबेला म कक्षा ८ मा पढ्दै थिएँ । मलाई आफूभन्दा करिब १५ वर्ष जेठो भिनाजुको बिलौना सुनेर मेरा बुबाआमाले पनि भिनाजुलाई साथ दिनुपर्ने बताउन थालेपछि म बन्धनमा परेर भिनाजुको घरमा भित्रिएकी थिएँ ।

भिनाजुले मेरो सिउँदोमा सिन्दूर लगाउन नपाउँदै म दुई जिउकी भएँ । उनको घरमा म भित्रिएको करिब साडे एक महिनामा उनी धन कमाउने बहानामा भारतको सिमलाका लागि घरबाट हिँडेका थिए । उताबाट पर्केर बिहे गर्ने बाचा गर्दै मलाई झुठा आश्वासन बाँडेर हिँडेका भिनाजुले रोल्पाको सुलिचौरबाट अर्की श्रीमती लिएर हिँडेछन् ।

करिब ८–१० दिनसम्म त मैले गरेको फोन उनले उठाउँथे । त्यसपछि न फोन सम्पर्क गरे न त मैले गरेको फोन नै उठाउँथे तर पनि सुखदुःख सहँदै म उनको घरमा करीब १४ महिना बसे त्यसैबेला छोरी जन्मिई ।

श्रीमान् बनिसकेका भिनाजु घर फर्कंदा अर्की श्रीमती लिएर आए र मेरो वास्ता गर्नुको साटो उल्टो मलाई धम्कीदिने थर्काउने गर्न थाले ।

त्यसपछि म असह्य पीडाको भारी बोकेर त्यो घरबाट निस्किएँ । त्यसपछिका दिनमा एक्लो जीवन जीउन नसक्ने भएकाले मैले पनि करिब दुईवर्ष पहिले दोस्रो बिहे गरेँ । ‘केटामान्छेको जात स्वार्थी हुन्छ भन्ने सुनेकी थिएँ हो रैछ । पहिलो सन्तानले बाभन्दा भक्कानो फुट्छ अहिले दोस्रो सन्तानकी आमा बनिसकेकी छु’, भावुक बन्दै चाहनाले भनिन् ।

मीनाको कथा पनि उस्तै

यस्तै रोल्पा नगरपालिकाकी मीना विष्ट हाल १९ वर्षकी छन् । आफ्नै दाइसँग इँटाभट्टामा घुम्न पुगेकी मीनाले १४ वर्षको उमेरमा पहिलो श्रीमानसँग प्रेम विवाह गरिन् । हाल उनी पनि दुई श्रीमानका दुई सन्तानकी आमा बनिसकेकी छन् ।

बिहे गरेपछि बेवास्ता गर्ने, खान लगाउन नदिने र कुटपिट गर्ने गरेकै कारण मीनाले पहिलो श्रीमान् छोड्नुपरेको थियो । ‘पहिलो श्रीमानले सँगै जीउने सँगै मर्ने सपना देखाएर बिहे ग¥यो तर वाचा पूरा गरेन । जसका कारण उसको घर छोडेर केही समय माइतीमै बसेँ । माइतीमा बसेकै बेला कामको खोजीमा काखको नानी च्यापेर इँटाभट्टा पुगेकी थिएँ त्यसैबेला दोस्रो बिहे गरेकी हुँ’, मीनाले भनिन् ।

चाहना र मीना त प्रतिनिधि पात्रमात्र हुन् । रोल्पामा यस किसिमका विवसता बोकेर जीवन जिउन बाध्य भएका किशोरीको संख्या ठूलो छ ।

उनीहरु दुवैजनाको पहिलो श्रीमान्बाट जन्मिएका सन्तानसमेत आमाकै संरक्षणमा बस्दै आएका छन् । यसरी अबोध अवस्थामा आफूलाई जन्मदिने बाबुको माया नपाउँदा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर त पर्छ नै त्योभन्दा बढी आमाले दोस्रो बिहे गर्दा उनीहरुलाई छुट्टै पीडामा जिउनुपर्दा कुलतमा लाग्ने, पढ्नुको साटो कलिलो उमेरमा कामको खोजीमा भौँतारिन बाध्य छन् ।

यस किसिमका बालबालिका अभिभावकको मायाका साथै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै आएका छन् ।

२०७४ चैत १९ गते १५:५८ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker