मुख्यसचिव लोकदर्शन रेग्मीको द्वैध चरित्र, मन्त्रिपरिषद्ले गरेको निर्णय माइन्युट नै गरेनन्

काठमाडौं, १९ चैत ।

मुख्यसचिव लोकदर्शन रेग्मी यतिबेला निकै चर्चामा छन् । खासगरी मन्त्रिपरिषद्ले गरेका निर्णय माइन्युट नगरेर उनले आफ्नो पेसागत इमान्दारिता र व्यक्तिगत छविलाई धुमिल्याएकाले उनी विवादमा परेका छन् ।

मुख्यसचिव निजामती कर्मचारीको उच्चतम् पद हो । ऊ मन्त्रिपरिषद्को सदस्य सचिव हुन्छ । प्रधानमन्त्रीले गरेका हरेक निर्णयको माइन्युट गर्ने काम मुख्यसचिवकै हुन्छ । मन्त्रिपरिषद्ले छलफल गरी निर्णय लिएपछि त्यसलाई माइन्युट गरिन्छ र त्यो लागू हुन्छ । तर, मुख्यसचिव रेग्मीले अघिल्लो देउवा सरकारले गरेको निर्णय माइन्युट नै नगरी पूर्ववर्ती सरकारको निर्णय विवादमा पारेका छन् ।

विगतमा लीलामणि पौड्याल मुख्यसचिव हुँदा पनि सरकारले गरेका हरेक निर्णयमा उनले हस्तक्षेप गर्दै आएका थिए । खासगरी खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्को सरकारमा पौड्यालले धेरै हस्तक्षेप गरेका थिए । अहिलेका मुख्यसचिव रेग्मीले पनि त्यही सिको सिकेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुइल्याउने काम गरेका छन् ।

भूकम्पपीडितलाई थप एक लाख र वृद्ध भत्ता पाउने उमेर घटाउने देउवाको सरकारको निर्णय मुख्यसचिव रेग्मीले नै माइन्युट नगरिदिएका हुन् । देउवा सरकारले सो निर्णय गरेलगत्तै तत्कालीन विपक्षी दलका नेता केपी ओलीले त्यसको विरोध गरेका थिए । सो दिनको मन्त्रिपरिषद् बैठक सकिएलगत्तै रेग्मी ओली निवास बालकोट पुगेका थिए । त्यहीँ देउवा सरकारको निर्णय माइन्युट नगर्ने सहमति भएको स्रोतले बताएको छ ।

देउवा सरकारका उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले मन्त्रिपरिषद् बैठकको निर्णय माइन्युट नगरेर मुख्यसचिव रेग्मीले बेइमानी गरेको बताएका छन् । उनले भूकम्पपीडितलाई एक लाख दिने र वृद्ध भत्ता पाउने उमेर घटाउने मन्त्रिपरिषद्को निर्णयको मस्यौदा आफू र रेग्मी बसेर तयार पारेको उल्लेख गरेका छन् । मुख्यसचिवले सो निर्णय बैठकमै सुनाएपछि औपचारिक निर्णय भएको बताउँदै यदि सो निर्णय मुख्यसचिवले माइन्युट नगरेको भए उनी बेइमानी भएको ठहर्ने बताएका छन् ।

‘भूकम्पपिडितलाई थप एक लाख दिनेबारे स्वयं म र मुख्यसचिव भएर मन्त्रिपरिषद्को निर्णय मस्यौदा गरेको हो । मुख्यसचिवले सो बैठकमा सुनाएपछि औपचारिक निर्णय भयो । यदि निर्णयलाई माइन्युट नगरेको हो भने सो कार्य मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयको बेइमानी हो । एकदिन सबैले मर्नुपर्छ, झुठ नबोलौं,’ कमल थापाले सोमबार बिहान फेसबुकमा लेखेका छन् ।

रेग्मी अहिले प्रधानमन्त्री ओलीका निकै प्यारा भएका छन् । परिवार कांग्रेसी भए पनि उनी एमाले उपमहासचिव विष्णु पौडेलका निकै प्यारा छन् । तर, चार–चारपटक मुलुकको प्रधानमन्त्री भइसकेका देउवालाई धोका दिने रेग्मीले ओलीलाई नदेलान् भन्न सकिन्न । किनभने निजामती कर्मचारीहरू राजनीतिक दलका नेतालाई विवादमा पारेर आफूहरू चोखो बन्ने प्रयास गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker